सपथ ग्रहण, पाकिस्तानी पुस्तक लोकार्पण र लेखनाथ जयन्ती आयोजित

२०७५ पौष २९ गते आइतवारका दिन प्रज्ञा भवनमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञ सभा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । कुलपति गंगाप्रसाद उप्रेतीले २४ जना प्राज्ञ सभा सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको हो । पौष १ गते सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति, प्राज्ञ परिषद् सदस्यसहित प्राज्ञ सभा सदस्यहरूको मनोनयन गरेको थियो ।

सरकारद्वारा मनोनित उपकुलपतिमा डा. जगमान गुरुङ र प्राज्ञ परिषद् सदस्यहरूमा प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्र्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपालले पौष २ गते नै कुलपतिबाट सपथ ग्रहण गरिसक्नुभएको छ ।
प्राज्ञ मनोयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा गठित प्रा.डा. मोहन लोहनी र प्रा.डा. कैलाशनाथ प्याकुरेल सदस्य रहेको प्राज्ञ सिफारिस समितिको मंसिर २७ गते बसेको बैठकले प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्राज्ञ मनोनयनका लागि सिफारिस गरेको थियो । कुलपति र सदस्य सचिवमा गंगाप्रसाद उप्रेती र जगत्प्रसाद उपाध्यायलाई असोज २१ गते नै सरकारले नियुक्त गरिएको थियो ।
२४ सदस्यीय प्राज्ञ सभामा प्रा. केशव सुवेदी, रमा शर्मा, राम विनय, प्रा.डा. खेम कोइराला ‘बन्धु’, प्रा.डा. गोपालप्रसाद पोखरेल ‘विवश’, प्रा.डा. कपिल लामिछाने, आरडी प्रभास चटौत, हरिप्रसाद तिमिल्सिना, शशी लुमुम्बू, विवश पोखरेल, ध्रुव मधिकर्मी, रामबाबु सुवेदी, डा. विजयकुमार दत्त, डा. रजनी ढकाल, डा. गीता त्रिपाठी, डा. हरिदत्त पाण्डे, लक्ष्मी उप्रेती, डा. गोविन्द आचार्य, नन्दुप्रसाद उप्रेती, महेश्वर राय, हरिशचन्द्र लावती, सुभद्रा भट्टराई, विणा सिन्हा र सूर्य खड्का विखर्ची रहनुभएको छ ।
नवनियुक्त प्राज्ञ सभा सदस्यहरूलाई सपथ ग्रहण गराउँदै कुलपति उप्रेतीले प्राज्ञ सभा प्रज्ञा–प्रतिष्ठानको सर्वोच्च निकाय भएको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठानका समग्र गतिविधि र कार्यलाई प्रभावकारी, सिर्जनशील र गतिशील बनाउन प्राज्ञ सभा सदस्यहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
‘पाकिस्तानी महिला लेखन’ लोकार्पित
सोही दिन प्रज्ञा भवनको लेखनाथ प्रवचन कक्षमा आयोजित अर्को कार्यक्रममा माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कुलपति गंगाप्रसाद उप्रेती, नेपालका लागि पाकिस्तानका महामहिम राजदूत डा. मजहर जाबेद र प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तकको लोकार्पण गर्नुभयो ।
कार्यक्रममा मन्त्री ज्ञवालीले महिला लेखकको दोहोरो जिम्मेवारी हुने बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानका बिचमा निकटता ल्याउन धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भन्नुभयो, “पाकिस्तानी साहित्य गजल र सायरीका कारण पनि धेरै चर्चित । साथै भाषा, साहित्य र कलाले नेपाल र पाकिस्तानका नागरिकका बिचमा सुमधुर सम्बन्ध कायम गरिरहेको छ ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले ‘पाकिस्तानी महिला लेखन’ महत्वपूर्ण पुस्तक भएको र उक्त पुस्तक नेपाली भाषामा उल्था हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले पाकिस्तान एकेडेमी अफ लेटर्सको प्रस्तावमा पुस्तक नेपाली भाषामा उल्था गरिएको बताउनुभयो ।
कुलपतिले साहित्यिक आदान प्रदान अन्तर्गत पाकिस्तानका पाँच भाषामा अनूदित गरी नेपाली कविताको एन्थोलोजी ‘भ्याइस अफ नेपाल’ प्रकाशित हुने सुनाउँदै भन्नुभयो, “उक्त एन्थोलोजीमा नेपालका धरणीधर कोइरालादेखि शशी लुमुम्बूसम्मका कविहरू समेटिने छन् । अनुवाद तथा प्रकाशनका लागि कविताहरू छनौट गरिएको र उक्त पाण्डुलिपि माघ ३ गते पाकिस्तानको राजधानी स्लामवादमा पाकिस्तान एकेडेमी अफ लेटर्सलाई हस्तान्तरण गरिने कार्यक्रम छ ।”
कुलपति उप्रेती पाकिस्तान एकेडेमी अफ लेटर्सको निमन्त्रणामा यही माघ १ गते एक साता लामो भ्रमणका लागि मकालु प्रकाशन गृहका निर्देशक वासुदेव ढकाल र प्रतिष्ठानका कर्मचारी रविन्द्र तिमल्सिनाका साथ पाकिस्तान जाने कार्यक्रम रहेको छ । एक वर्षअघि काठमाडौँमा प्राज्ञिक तथा सांस्कृतिक आदान प्रदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबिच सम्झौता भएको थियो ।
लोकार्पण समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जाबेदले नेपाल र पाकिस्तानबिचको सम्बन्ध सुमधुर बनाउन साहित्य एवम् कलाले सिर्जनानात्मक भूमिका खेल्ने बताउनुभयो । पुस्तकमा उर्दूभाषाका ३२, पन्जाबी र सराइकी भाषाका तीन कथा, पाँच कविता, सिन्धी भाषका दुई कथा, तीन कविता, बलोची भाषका दुई कथा, एक कविता, पस्तु भाषाका एक कथा, तीन कविताका साथै अङ्ग्रेजीका भषाका सात कथा र बाह्र कविता समाविष्ट छन् ।
कार्यक्रममा प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र अनुवाद मण्डलका सदस्य हरिहर खनालले पुस्तकको विशेषता र महत्व’bout प्रकाश पार्नुभएको थियो । अनुवादको संयोजन कुलपति उप्रेती स्वयम्ले गर्नुभएको छ भने हरिहर खनाल, रामबहादुर पहाडी, महेश पौड्याल र रवीन्द्र तिम्सिनाले अनुवादगर्नुभएको छ । डा. हेमनाथ पौडेलको भाषा सम्पादन रहेको पुस्तक अङ्ग्रेजी भाषाबाट नेपालीमा रुपान्तरण गरिएको हो । पुस्तक ५७२ पृष्ठको छ ।
कार्यक्रमको सञ्चालन चित्रा ठकुरीले गर्नुभएको थियो ।
कविशिरोमणिको परिचर्चा र कविगोष्ठी 
सोही दिन प्रज्ञा–प्रतिष्ठानले कविशिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका उपलक्ष्यमा ‘कविता वाचन तथा परिचर्चा’ कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा बोल्दै प्रा.डा. वासुदेव त्रिपाठीले कविशिरोमणि लेखनाथ पौड्याल नेपाली कविहरूका शिर भएको बताउनुभयो । उहाँले पौड्यालको काव्यिक प्रबृत्तिको चर्चा गर्दै भन्नुभयो, “उहाँका कविता अत्यन्तै सशक्त, प्रभावशाली र  समयसापेक्ष छन् ।”
कार्यक्रममा सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कविशिरोमणि लेखनाथ पौड्याललाई अहिलेको समयमा पुनर्पाठ गरिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
उपकुलपति डा. जगमान गुरुङले पौड्यालको काव्यिक गुणको चर्चा गर्दै आउँदो वर्ष उहाँको जन्मस्थानमै साहित्यिक सम्मेलन गरिने बताउनुभयो ।
काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले कविशिरोमणि पौड्याल युगलाई बुझेका कवि भएको उल्लेख गर्नुहँदै उहाँका कवितामा नैतिक, समाजिक तथा दार्शनिक चेतना पाइने बताउनुभयो ।
कविशिरोमणि लेखनाथ पौडेल बाहिरी आँखाले मात्रै नभएर भित्री आँखाले जगत्लाई हेर्नुपर्ने मान्यता राख्ने कवि भएको भन्दै कविले जुनसुकै चेतना ग्रहण गरे पनि उसको सिर्जना समाज र समयसापेक्ष हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रल्हाद पोखरेल, प्रभा भट्टराई, देवु लुइटेल, डा. सुधनकुमार पौडेल र लोचन भट्टराईले लेखनाथका एक एक वटा कविता वाचन गर्नुभएको थियो । कविहरू आर.एम. डंगोल, विवश पोखरेल, तेजविलास अधिकारी, रामबाबु सुवेदी र भुवनहरि सिग्देलले आ–आफ्ना कविता सुनाउनुभएको थियो ।
कार्यक्रम लक्ष्मी गौतमले सञ्चालन गर्नुभएको थियो ।

२९७ औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसमा प्रवचन कार्यक्रम आयोजित

२०७५ पुस २६ गते बिहीबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा २९७औँ पृथ्वी जयन्ती एवम् राष्ट्रियता एकता दिवसका उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन कार्यक्रम आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री तथा प्रज्ञा–प्रतिष्ठानहरूका प्रमुख संरक्षक केपी शर्मा ओलीले विशेष प्रवचन दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली राष्ट्रियताको केही विशेष अर्थ रहेको उल्लेख गर्दै ‘यो राष्ट्रियता स्वतन्त्र र स्वाधीन राष्ट्रियता’ भएको बताउनुभयो । “दुनियाँका १९३ राष्ट्रमध्ये केही केही राष्ट्र उपनिवेश भए पनि नेपाललगायत केही थोरै देश मात्र स्वाधीन राष्ट्रको रूपमा उभिए । उत्तरमा चीन, दक्षिणमा भारत उपनीवेश हुँदा पनि नेपाल स्वाधीन रहन सफल भएकाले यसको धेरै अर्थ रहेको छ ।” उहाँले भन्नुुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायणले चार वर्ण छत्तीस जातको फूलबारी भनेपछि कोही तल्लो कोही माथिल्लो, केही विष्णुका अवतार कोही यत्तिकै जन्मिएका, कोही सूर्यवंशी, चन्द्रवंशी कोही किराफट्याङ्ग्रा जस्तो असमान व्यवहार गरेका कारण केही समय पहिले नेपाली जनतालाई भड्काउन सक्ने अवस्था रहे पनि अहिले त्यस्तो नरहेको उनले बताउनुभयो । उहाँले सांस्कृतिक रूपमा भिन्न धारणा भिन्न मत हुन्छ भए पनि त्यसलाई सहज रूपमा लिनुपर्छ भन्दै विविधतालाई सम्पत्ति मान्ने हाम्रो मान्यता रहेको दाबी गर्नुभयो ।
“समान सुरक्षा, समान अधिकार, समान अवसरको सिर्जना र कार्यान्वयन गरेपछि अब हामीलाई कसैले भड्काउन सक्दैन”, प्रधानमन्त्रीले भन्नुभयो, “स्वाधीन, विविधतायुक्त जुन हाम्रो राष्ट्रिय मान्यता थियो त्यो अब मूर्तरूपले अगाडि बढेको छ । सार्वभौम समानताका आधारमा हामी सबैलाई समानता कायम गर्छौं । हाम्रो राष्ट्रियता कसैसँग शेखी गर्ने होइन । तर, हामी हाम्रो राष्ट्रिय हित, सार्वभौम स्वतन्त्रता, राष्ट्रिय हितलाई धक्का दिन दिँदैनौ । यसको अर्थ अरू कसैको राष्ट्रियतालाई धक्का दिन्छौँ भनेको होइन ।”
प्रधानमन्त्रीले नेपाली राष्ट्रियता एकअर्काको पक्षमा उभिने, न्यायका पक्षमा उभिने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली राष्ट्रियतामा राष्ट्रिय हित हेर्नुपर्छ, न्यायोचित हुनुपर्छ, अन्तर्राष्ट्रिय उत्तरदायित्व हेर्नुपर्छ । विश्वशान्तिको पक्षको राष्ट्रियता नेपाली पहिचान हो । शान्ति मान्छेको सर्वोत्तम आकांक्षा र सर्वोत्तम बाटो हो ।” उहाँले इतिहासलाई सम्मान र पुर्खालाई आदर गर्नु पर्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रज्ञा–प्रतिष्ठानका संरक्षक रवीन्द्र अधिकारीले लामो समयदेखि पृथ्वीनारायण शाहलाई कसरी हेर्ने भन्ने बहस चलेको बताउँदै शाहको वस्तुनिष्ट ढङ्गले मूल्याङ्कन गर्नुपनेमा जोड दिनुभयो । शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्र्दै उहाँले भन्नुभयो, “राष्ट्र निर्माणका लागि शाहले खेलेको भूमिकाको सही मूल्याङ्कन गरिनु पर्छ ।”
नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य (केके कर्माचार्य), नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीको उपस्थिति रहेको उक्त संयुक्त कार्यक्रमका सभापति नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विगत ६ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मयजन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइरहेको उल्लेख गर्दै नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “पृथ्वीनारायण शाहकै  कारण आज हामी स्वाधीन नेपालका नागरिक भएर बाँचन पाएका छौँ । गर्व गर्न पाएका छौँ ।” कुलपति उप्रेतीले वर्षमा एक दिन राष्ट्र र राष्ट्रियताका ’boutमा समस्त नागरिकले विमर्श गर्नु पर्ने खाँचो औँल्याउँदै त्यस्तो एक दिन पुस २७ लाई तोक्न सरकार समक्ष माग समेत गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायण शाह कालजयी पुरुष भएको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागीहरूको स्वागत गर्दै इतिहासको सम्मान गर्नुलार्ई प्रतिगमनको संज्ञा दिनु नहुने तर्क गर्नुभयो । उहाँले सरकारले प्रज्ञा–प्रतिष्ठानलाई राष्ट्रिय एकता दिवस मनाउने दायित्व दिएको उल्लेख गर्नुहुँदै राष्ट्र, राष्ट्रियता र स्वाधीनताका लागि पृथ्वीनारायण शाह कालजयी पुरक्ष भएको प्रष्ट्याउनु भयो ।
योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन तथा कलाकारहरू ‘नेपालजननी वन्दे’ संस्कृत पद्यको स्वर गायन गर्नुभएको थियो ।
सोही दिन प्रज्ञा–पुस्तकालय भवन परिसरमा स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटा एवम् कविशिरोमणि लेखनाथ पौड्यालको अर्धकदको प्रतिमा प्रधानमन्त्रीले अनावरण गर्नुभएको थियो । 

प्रज्ञा–प्रतिष्ठानमा श्रीलंकाकी राजदूत

२०७५ पुस ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती तथा नेपालका लागि श्रीलंकाली राजदूत महामहिम श्रीमती स्वर्णा परेराबिच भेटवार्ता भएको छ । प्रज्ञा–प्रतिष्ठानको गुनकेसरी बैठक कक्षमा भएको उक्त भेटवार्तामा नेपाल प्रज्ञा–प्रतिष्ठान र श्रीलंका प्रज्ञा–प्रतिष्ठानबिच प्राज्ञिक आदान प्रदान गर्न द्विपक्षीय सम्झौता प्रक्रियालाई अगाडि बढाउने सहमति भएको छ । उक्त अवसरमा प्रज्ञा–प्र तिष्ठानका नवनियुक्त उपकुलपति डा. जगमान गुरुङसहित प्राज्ञ परिषद्का सबै सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

नेपाल–भारत काव्य सन्ध्या आयोजित

मिति २०७५ मङ्सिर ८ गते प्रज्ञा भवनमा नेपाल–भारत काव्य सन्ध्या आयोजना गरिएको छ । ‘हिमालिनी’ हिन्दी मासिक पत्रिका र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित काव्य सन्ध्यामा नेपाल र भारतका कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए । छिमेकी मुलुक भारतका विभिन्न प्रदेशबाट ४० जना स्रष्टाहरू नेपाल आएका छन् । काव्य सन्ध्यामा नेपाली, हिन्दी, बंगाली, गुजराती, असमिज लगायतका भाषामा कविता भएका थिए ।

नेपालका तर्फबाट कविहरू मोमिला, बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ, सन्ध्या पहाडी र स्वेता दीप्तिले आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो । भारततर्फ गुजरातबाट डा. उषा उपाध्यायले गुजरातीमा आफ्नो प्रस्तुति दिनुभएको थियो भने विणा बुद्धकी (कास्मिरी), डा. अच्युतानन (केरला), किरण कुमारी (संथाल), पुण्यादेवी (असम), परवेज हुसैन (असम), रंजित गगोई (असम), मिताली भट्टाचार्य (बंगाल), वन्दना श्रीवास्तव (हिन्दी), धनाकर ठाकुर (मैथिली) र रणवीर शर्मा (हिन्दी)ले वले आआफ्ना भाषामा कविता सुनाउनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै साहित्य, कला र संस्कृतिले एक अर्को मुलुकलाई भावनात्मक रुपले मजबुद रुपमा जोड्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज वाचित १०÷१० कविताले प्रतीकात्मकरुपमा नेपाल–भारतबिचको भावनात्मक सम्बन्धलाइृ नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ ।” कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल–भारत साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजानु पर्नेमा जोड दिनुभएको थियो ।

भारतबाट आएको स्रष्टाहरूका टोली प्रमुख डा. रामचन्द्र रायले नेपाल प्रज्ञा–प्रतिष्ठान र ‘हिमालिनी’ पत्रिकाप्रति आभार प्रकट गर्नुभएको थियो । कार्यक्रममा ‘हिमालिनी’का प्रवन्ध निर्देशक सच्चिदानन्द मिश्र, सम्पादिका श्वेता दीप्तिले कार्यक्रमको उद्देश्य’bout बोल्नुभएको थियो ।

 

 

 

 

 

 

महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती मनाइयो

वि.सं. २०७५ कार्तिक १९ गतेका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा भवन कमलादी, काठमाडौँमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा ‘प्रवचन, पुस्तक परिचर्चा एवम् कविता वाचन कार्यक्रम’को आयोजना गरियो । कार्यक्रममा महाकवि देवकोटा’bout डा. अमर गिरीले विशेष प्रवचन दिनुभएको थियो ।

सोही अवसरमा सिक्किम सरकारका सचिव समेत रहेका साहित्यकार शङ्करदेव ढकालद्वारा लिखित तथा अनेसास सिक्किम च्याप्टरद्वारा प्रकाशित भुटानी शरणार्थीका विषयमाथिको उपन्यास ‘किरायको कोख’को लोकार्पण गरियो । कार्यक्रममा कविता वाचन पनि गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि देवकोटा नेपालका विराट प्रतिभा भएको दाबी गर्नुभयो । उहाँले देवकोटा प्रज्ञा–प्रतिष्ठानका परिकल्पनाकार समेत भएको स्मरण गर्दै प्रतिष्ठानले प्रत्येक वर्ष उहाँको स्मृतिमा विशेष कार्यक्रम गर्ने गरेको बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो, “जहाँ जहाँ नेपाली रहेका छन् त्यहाँ त्यहाँ देवकोटा जयन्ती धुमुधामसँग मनाउने गरिएको छ ।”

प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले महाकवि देवकोटा नेपाली साहित्यकै सर्वाधिक चर्चित र विदेशीले समेत चिनेका प्रतिभा भएको उल्लेख गर्दै देवकोटाले साहित्यमार्फत् नेपाललाई विश्वमा चिनाएको बताउनुभयो । उहाँले भूगोल र राजनीतिले भाषालाई एकै स्वरुपको हुन नदिए पनि संस्कृति र भावना भने एकै हुने धारणा राख्नुभयो ।

डा. गिरीले महाकवि देवकोटा नेपाली साहित्यका शिखर प्रतिभा रहेको उल्लेख गर्दै समालोचकहरूले उहाँको फरक फरक ढङ्गबाट मूल्याङ्कन गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “देवकोटा पश्चिमी साहित्यका पनि ज्ञाता थिए र सुरुवाती चरणमा उनको लेखनीमा स्वच्छन्दतावादी धारातिर केन्द्रित भएको पाइन्छ” उहाँले थप्नुभयो, “तर, तासकन्द सम्मेलनपछि भने उहाँ प्रगतिवादी धारातिर उन्मुख भएको देखिन्छ ।” उहाँले पछिल्लो चरणमा लेखिएका देवकोटाका रचनामा प्रगतिशीलता पाइने दाबी गर्नुभयो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत गर्दै नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान’bout चर्चा गर्नुभएको थियो । ंराष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली र डा. हेमनाथ पौडेलले लोकार्पित पुस्तक’bout समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा कवि प्रभा भट्टराईले महाकविको एउटा कविता पाठ गर्नुभएको थियो भने कविहरू मातृका पोखेरल, सुलोचना मानन्धर, मित्रलाल पंज्ञानी र अनिता लामाले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

लोकार्पित उपन्यास ‘किरायको कोख’का लेखक ढकालले लेखनअनुभूति व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

नेपाल–चीन संस्कृति प्रवद्र्धन तथा अनुवाद सम्मेलन सम्पन्न

वि.सं. २०७५ कार्तिक १३ र १४ गते प्रज्ञा भवन काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत स्थापित संस्था चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगद्वारा संयुक्त रुपमा ‘नेपाल–चीन संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी काठमाडौँ सम्मेलन–२०७५’ आयोजना गरियो ।

दुई दिनसम्म चलेको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा मन्त्री अधिकारीले वैदिक ज्ञान र सभ्यताको उद्गमस्थल नेपालले चार हजार वर्ष पुरानो इतिहास बोकेको चीनले गरेको विकासबाट पाठ सिक्न सक्ने बताउनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पाँचौँ शताब्दीमा चिनियाँ यात्रीद्वय फाहियान र हुयन साङ बौद्ध दर्शनको अध्ययनका लागि भारतको बाटो हुँदै नेपालको लुम्बिनीलगायतका क्षेत्रको भ्रमणमा आएपछि दुई देशबीच सम्बन्ध शुरु भएको र छैटौँ शताब्दीमा नेपाली राजकुमारी भृकुटीले चिनियाँ राजकुमार स्रङचङ गम्पोसँग विवाह गरेपछि सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो ।
१३ औँ शताब्दीमा कलाकार अरनिकोले चीन गएर बनाउनुभएको चैत्यले पनि दुई देशबीचको सांस्कृतिक सम्बन्ध विकासमा सहयोग गरेको उल्लेख गर्दै उहाँले भन्न्ुभयो, “सांस्कतिक क्रान्तिका बेला प्राचीन गुम्बा, मस्जिद, चर्चजस्ता संरचना भत्काइँदा पनि नेपालसँगको सम्बन्धकै कारण अरनिकोले बनाएको चैत्य भने भत्काइएन ।”

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, चीनका लागि पूर्वनेपाली राजदूतद्वय डा. सुन्दरनाथ भट्टराई र डा. महेश मास्के, चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगका निर्देशक हुङ झुओ युईलगायतले सांस्कृतिक सम्बन्ध विस्तारमा सम्मेलन कोशेढुँगा सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानको अनुवाद डेक्सलाई चीनलगायत मित्र राष्ट्रका सांस्कृतिक आदानप्रदानअन्तर्गत पुस्तक अनुवाद गर्ने गरी जिम्मेवारी दिने तयारी भएको सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यससम्बन्धी सम्झौता गर्ने गृहकार्य भइरहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “नेपाली भाषामा प्रकाशन भएका प्रतिनिधि कथा र कविता चिनियाँ भाषामा अनुवादका लागि दिन छनोटको काम भइरहेको छ, यी कृति बङ्गाली, हिन्दी र उर्दू भाषामा पनि अनुवादको तयारी भइरहेको छ ।”

दुवै देशमा प्रकाशन भएका इतिहास, भूगोल, कला, संस्कृति, साहित्य, सभ्यता, द्विपक्षीय सम्बन्ध, विकास, विज्ञानप्रविधि, बालसाहित्य, जीवनी एवं समसामयिक विषयका पुस्तक अनुवाद गरी जनस्तरसम्म पु¥याई सम्बन्ध सुदृढ बनाइने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले सम्मेलनमा नेपाली भाषामा अनुवादका लागि चीनका ६० पुस्तकको सूची प्रस्तुत गरेको थियो । आगामी वर्ष १०० वटा चिनियाँ पुस्तकको सूची नेपालीमा अनुवादका लागि दिने गृहकार्य भइरहेको चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगका निर्देशक हुङ झुओ युईले कार्यक्रममा जानकारी दिनुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र धर्मरत्न यमीले नेपाल भाषामा लेखेको सोँदे अर्थात् ‘तिब्बतको जवाफ’ नामक पुस्तक चिनियाँ भाषामा अनुवाद भइसकेको छ । डायमण्डशम्शेर राणाको उपन्यास ‘सेतो बाघ’ अनिश मल्लले नेपालीबाट चिनियाँ भाषामा अनुवाद गरिरहनुभएको छ । ‘मुनामदन’ अङ्ग्रेजी भाषाबाट चिनियाँमा अनुवाद भएको हो ।
नेपाल–चीनबीच सांस्कृतिक आदानप्रदानका ’boutमा अनौपचारिक तहमा पटक पटक छलफल भएपछि पहिलो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपालीविज्ञ महेश पौडेलले ‘साहित्यिक अनुवाद ः नेपाल–चीन सम्बन्धको सांस्कृतिक सेतु’ र लिखत पाण्डेले ‘नेपालमा पुस्तक प्रकाशनको वर्तमान अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका लागि साहित्यिक कृतिको अनुवाद एवं प्रकाशनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको समापनमा प्रतिष्ठानका कुलपति उप्रेतीले चिनियाँ भाषामा अनुवाद गर्न नेपाली पुस्तकको सूची तयारीको काम शुरु भइसकेको जानकारी दिनुभयो । चीनबाट नेपाली भाषामा अनुवादका लागि आउने कृतिको संयोजनको कामसमेत प्रतिष्ठानले नै गर्ने उहाँले बताउनुभयो ।

सम्मेलनमा प्रा.डा. अभि सुवेदी, साहित्यकार निनु चापागाईं, प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ सुलोचना मानन्धर लगायतका विद्वानले अनुवाद एवं प्रकाशनका लागि चिनियाँ सहयोग हुनुपर्नेमा जोड दिनुभएको थियो । अनुवाद र प्रकाशन अवस्थाका ’boutमा चिनियाँ विज्ञ जु बाओफेङ, हुआङ झुओयुई, गुओ वेई र चेन मिङले चिनियाँ भाषाका पुस्तक नेपालीमा अनुवाद गर्न सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रधानमन्त्रीद्वारा कुलपति र सदस्य सचिव नियुक्त

मिति २०७५ असोज २१ गते आइतबार सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा कुलपति र सदस्य सचिव नियुक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले तेह्रथुमका गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका लागि प्रज्ञा–प्रतिष्ठानको कुलपति नियुक्त गर्नुभएको हो । यसैगरी सदस्य सचिवमा दैलेखका प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’लाई नियुक्त गर्नुभएको छ । उप्रेती यस अघि पनि सोही पदमा कार्यरत हुनुहुन्थ्यो । यो उहाँको दोस्रो कार्यकाल हो ।

प्रधानमन्त्री ओलीले कुलपति उप्रेतीलाई आइतबारै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । सदस्य सचिव प्रा. उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रज्ञा–प्रतिष्ठानले समाजलाई साहित्य र सांस्कृतिक हिसाबले उजिल्याउने काम गर्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनु पर्ने बताउनुभएको छ । “साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
नेपालको सामाजिक मूल्यमान्यता विश्वमा नै अनुपम रहेको उहाँले बताउनुभएको छ । नेपालमा जस्तो सामूहिक परिवार विश्वमा कतै पनि नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो प्रणालीबाट धेरै संस्कार सिक्न सकिन्छ ।”

प्रधानमन्त्री ओलीले नेपालका सांस्कृतिक पर्वहरूले सामाजिक सम्बन्धलाई मजबुद बनाउने काम गरेको बताउनुभयो । सामाजिक रुपमा, पारिवारिक रुपमा कहिले कुनै प्रकारले द्वन्द्व, झगडा भइहाले पनि चाडपर्वले त्यसलाई पुनः स्थापित गरिदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “दिदीभाइबीच झगडा भए तिजले मिलाइदिन्छ । दाजुभाइबीच झगडा भए दशैँले मिलाइदिन्छ । दाजुबहिनीबीच झगडा भए तिहारले मिलाइदिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा सामाजिक पर्वहरूले सम्बन्धलाई पुनःमर्मत गर्ने काम गरेका छन् ।”

नवनियुक्त कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई समग्र प्राज्ञिक उन्नयनमा अगाडि बढाउन आफू समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३३औँ प्राज्ञ सभा प्रधामन्त्रीद्वारा उद्घाटन

२०७५ भदौ १२ गते मङ्गलवारका दिन सम्माननीय प्राधनमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रज्ञा–प्रतिष्ठानको ३३औँ प्राज्ञ सभाको समुद्घाटन पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभयो । प्रज्ञा भवनको प्रेक्षालयमा आयोजित समारोहमा उद्घाटन मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा आफ्नो ६१ वर्षे यात्रामा प्रज्ञा–प्रतिष्ठानले गौरवपूर्ण कार्य गरेको छ ।” उहाँले भन्नुभयो, “यस अवधिमा प्रज्ञा–प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण छ । यस्तो भूमिकाले परोक्षरुपमा मान्छेको मनोविज्ञान र मनोदशालाई रुपान्तरित गराउन मद्दत पुगेको छ ।”

प्रधानमन्त्रीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न प्राज्ञ तथा साहित्यकारमाझ आग्रह गर्नुभएको छ । सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उहाँले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको थालनी भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलार्ई आग्रह गर्नुभयो । कवि हरिभक्त कटुवालको कविता ‘जूनलाई टाढैबाट हेर, नजिकबाट हेर्दा दाग देखिन्छ’लाई आफ्नो हकमा उल्ट्याएर बुझ्न आग्रह गर्दै उहाँले भन्नुभयो, “मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने आलोचना गर्नुस् । मबाट अख्तियारको दुरुपयोग हुँदैन । मलाई जनताले त्यसका लागि जिताएर पठाएका होइनन् । भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छ ।”
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका संरक्षक रविन्द्र अधिकारीले नागरिक समाजलाई सुसंस्कृत बनउान र मुलुकलाई समृद्ध बनाउन प्राज्ञिक जगत्को अहम् भूमिका रहने बताउनुभयो । मन्त्री रविन्द्र अधिकारीले लेखकहरुले समाज र मुलुक रुपान्तरणका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।


प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्र विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्व पाएको नेपाल प्रज्ञा–प्रतिष्ठानले उल्लेख्य कार्य गरेको बताउनुभयो । प्राज्ञ सभा प्रतिष्ठानको सर्वोच्च निकाय भएको उल्लेख गर्दै उहाँले प्रज्ञा–प्रतिष्ठानको जीवनमा यसले ठूलो महत्व राख्ने धारणा व्यक्त गर्नुभयो ।
समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यय, पूर्व कुलपति बैरागी काइँलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले प्राज्ञ सभाले वार्षिक कार्यक्रम र आव्यव्यय पारित गर्नुका साथै नीति निर्माण तर्जुमा गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले समारोहमा धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य वाङ्मय शताब्दी पुरुष सत्मोहन जोशी, संस्कृति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पुनर्निमाण प्राधिकरणका सचिव अजूनबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहको सञ्चालन प्रतिष्ठानकी योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियो ।

 

१७ करोडको वार्षिक बजेट पारित गर्दै ३३औँ प्राज्ञ सभा सम्पन्न

उद्घाटन समारोहपछि सोही दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको ३३औँ प्राज्ञ सभाको बैठक बसेको थियो । सभामा सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । प्राज्ञसभा सदस्य झमक घिमिरेबाहेक ३५ जना प्राज्ञ सभा सदस्यहरू उपस्थित रहेको प्राज्ञ सभाको बैठकले सदस्य सचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतरूपमा पारित गर्नुका साथै गत आर्थिक वर्षको कार्यक्रम र गतिविधिको समीक्षासहित चालू आ.व.का लागि विनियोजित १७ करोडको बजेट र कार्यक्रम पारित गरेको छ ।

प्राज्ञ सभामा सभाका पदेन सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले चार वर्षे कार्यकालमा प्रतिष्ठानको नेतृत्वले प्राज्ञिक र भौतिक प्रगतिमा उल्लेखनीय काम गरेको बताउनुभयो । उहाँले थोरै बजेटमा पनि प्रतिष्ठानका विभागहरूले उल्लेखनीय उपलब्धि हासिल गरेकामा प्रशन्नता प्रकट गर्नुभएको थियो ।
सभामा प्रज्ञा–प्रतिष्ठानका पूर्व सहकुलपति एवम् आजीवन सदस्य मोदनाथ प्रश्रितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्राज्ञ सभा सदस्यहरू वियोगी बुढाथोकी, गोपाल पोखरेल विवश, डा. हेमनाथ पौडेल, धीरेन्द्र प्रेमर्षि, शम्भुकुमार मिलन, हरिप्रसाद तिम्सिना, जगत्प्रसाद उपाध्यय ‘प्रेक्षित’, प्रा.डा. विष्णुराज आत्रेय, वासुदेव पाण्डे र उपेन्द्र पागलले आ–आफ्ना अनुभूति र जिज्ञासा राख्नुभएको थियो ।

प्राज्ञ सभाका अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेती, उपाध्यक्ष डा. विष्णुविभु घिमिरे र सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले प्राज्ञ सभामा प्राज्ञ सभासद्हरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै चार वर्षे कार्यकाल सन्तोषजनक रहेको विचार व्यक्त गर्नुभएको थियो ।

चिनियाँ लेखक काठमाडौँमा ः प्रज्ञा–प्रतिष्ठानद्वारा भव्य स्वागत

वि.सं. २०७५ भदौ ३ गतेका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल ४ दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेको छ । चिनियाँ लेखक संघका उपाध्यक्ष तथा लु सुन साहित्य प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष कवि जिडी माजिया (Jidi Majia) को नेतृत्वमा आएको ६ सदस्यीय भ्रमण दलमा Xiaoming, Zhang Qinghua, Li Yanqing, Zhang Ruifeng र Hu Wei सम्मिलित छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चीनबाट आउनुभएका चिनियाँ लेखक संघका प्रतिनिधि मण्डलको स्वागतमा राजधानीमा एक कार्यक्रमको आयोजना गरियो ।


नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा दुई देशबिच साहित्यिक आदान–प्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएका चिनियाँ लेखकहरुको सम्मानमा प्रज्ञा–प्रतिष्ठानले आइतबार साँझ होटल यल्लो प्यागोडामा विशेष रात्रिभोज आयोजना गरेको थियो ।


उक्त अवसरमा चिनियाँ पाहुनाहरुको स्वागत गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘सगरमाथा र बुद्धको देशमा मित्रराष्ट्र चीनका लेखक पाहुनाहरुलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुहुँदै यस भ्रमणले दुई मित्रराष्ट्रबिच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध अझ बलियो र दीर्घकालीन बन्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा उहाँले पाँच वर्ष अघि सम्झौता भएबमोजिम साहित्यिक भ्रमण र नेपाली साहित्य चिनियाँ भाषामा र चिनियाँ साहित्य नेपाली भाषामा अनुवाद गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो पहलमा चीन तथा दक्षिण एसिया साहित्य सभाको गठन भई पहिलो सभा चीनमा सम्पन्न भएको स्मण्रा गर्दै दोस्रो सम्मेलन नेपालमा गर्न प्रज्ञा–प्रतिष्ठान तयार रहेको स्मरण गराउनुभयो ।


प्रतिनिधि मण्डलका जिडी माजिया (Jidi Majia)ले न्यानो स्वागतका लागि आभार व्यक्त गर्दै ‘चीन र नेपालका साहित्यिक एवं सांस्कृतिक विकासका लागि प्रभावकारी कामहरू भइरहेको उल्लेख गर्दै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक संघ प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीका अनुसार चिनियाँ लेखकहरुलाई भक्तपुर, ललितपुर र काठमाडौंका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक स्थलहरुको अवलोकन भ्रमण गराइने छ । चिनियाँ लेखक टोली बुधवार स्वदेश फिर्ता हुने छ ।

प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन

वि.सं. २०७५ असार २६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानको तीनतले पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको उद्घाटन गर्नुभयो । २०५ औँ भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो । पुस्तकालय भवन उद्घाटन गर्दै उहाँले आदिकवि भानुभक्त आचार्यले नेपाललाई भाषिक सूत्रमा बाँध्ने काम गरेको बताउनुभयो । आचार्यले नेपाली भाषा र साहित्यमा र्पुयाएको योगदान बिर्सन नसक्ने उल्लेख गर्दै उहाँले नेपाल आर्थिक रूपमा पछाडि रहे पनि कला, संस्कृतिमा धनी रहेको दाबी गर्नुभयो ।

‘हाम्रो सहरका झयालढोकादेखि भित्ता पनि कलामय छन्,’ उहाँले भन्नुभयो, ‘नेपाललाई अगाडि ल्याउन नेपालको प्राज्ञिक, सांस्कृतिक, कला र शिक्षा क्षेत्र विकास गरी अगाडि ल्याउनुपर्छ ।’ विश्वको हाइट अर्थात् सगरमाथा र लाइट अर्थात् गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको उल्लेख गर्दै उहाँले नेपाली कलासंस्कृति बलियो पार्न प्रज्ञा प्रतिष्ठानलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधारको विकाससँगै प्राज्ञिक क्षेत्रको गतिविधि बढाएर संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । १२ वटा कोठा रहेको तीनतले भवनमा किताब, अध्ययन कक्ष र विद्युतीय पुस्तकालय छन् ।
पुस्तकालयले संस्कृति र साहित्यबीच सम्बन्ध स्थापित गर्न भूमिका खेल्ने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताउनुभयो । नवनिर्मित भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञलाई खोज तथा सन्दर्भसम्बन्धी सुविधा प्रदान गर्ने भारतीय राजदूत मञ्जीवसिंह पुरीले बताउनुभयो ।
पुस्तकालयमा भाषा, संस्कृति र अन्य विषयका करिब ४० हजार पुस्तक रहेको प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले बताउनुभयो । कार्यक्रममा डा. देवी नेपाल र प्रभा भट्टराईले भानुभक्तकृत कविता सुनाउनुभएको थियो ।
प्रधानमन्त्री केपी ओलीले गर्नुभएको सो पुस्तकालय भवन मित्रराष्ट्र भारतको ४ करोड ३९ लाख ४० हजार रूपैयाँ सहयोगमा निर्माण भएको हो । उद्घाटन समारोहमा सहरी विकास, संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालय, नेपाल सरकारका प्रतिनिधिहरू, सामाजिक अगुवालगायतको व्यापक उपस्थिति थियो ।

नवनिर्मित उक्त पुस्तकालय भवनले भारत र नेपालका अनुसन्धानकर्ता तथा प्राज्ञहरूलाई खोज तथा सन्दर्भसम्बन्धी सुविधा प्रदान गर्ने बताइएको छ । पुस्तक प्रकाशनका लागि पुस्तकालयमा उच्चस्तरीय अफसेट प्रेसको सुविधासमेत रहने छ भने नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त पुस्तकालयलाई डिजिटल पुस्तकालयको रुपमा विकास गर्ने योजना बनाएको छ । उक्त पुस्तकालयले भारत र नेपालबीचको मैत्री सम्बन्धलाई सुदृढ गर्ने मात्र नभई दुवै देशका कलाकार तथा प्राज्ञबीच दरिलो सम्बध विकास गर्न पनि मद्दत गर्ने सम्बद्ध पक्षले जनाएको छ ।
सन् १९५७ मा स्थापित नेपाल प्रज्ञा प्रतिष्ठान भारत साहित्य एकेडेमीको समकक्षी संस्था हो । नेपाल सरकारको स्वामित्व रहेको प्रतिष्ठान राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गतिविधिहरूलाई समन्वय गर्दै भाषा, साहित्य, संस्कृति, दर्शन, खोज र सांस्कृतिक एवम् बौद्धिक क्षेत्रको समग्र विकासका लागि समर्पित प्रमुख राष्ट्रिय संस्थाको रूपमा पनि चिनिँदै आएको छ ।

1 5 6 7 8 9 19