महाभूकम्पले पुरातात्विक ऐतिहासिक क्षेत्रमा पारेको प्रभाव र चुनौती

काठमाडौँ २०७२ असार २२ । नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति विभागको आयोजनामा ‘हनुमान् ढोका दरबार क्षेत्रका ऐतिहासिक एवम् पुरातात्विक स्मारकहरूमा महाभूकम्प–२०७२ को प्रभाव एवम् चुनौती विषयक एक दिने विचार गोष्ठी सम्पन्न भयो । 
गोष्ठीमा कुलपति गङ्गाप्रसाद उप्रेतीले महाभूकम्प र त्यसपछिका पराकम्पनले नेपालीहरूमा अकल्पनीय आघात पारेको बताउनु भयो । उहाँले क्षत् विक्षत भएको सम्पदालाई अब कसरी जोगाउन सकिन्छ भन्ने विषयमा तत्क्षेत्रका विद्वान्हरूको बहस महत्वपूर्ण हुने ठानी उक्त कार्यक्रम आयोजना गरेको विचार राख्नु भयो ।
गोष्ठीका प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. प्रेम खत्रीले गोष्ठी उद्घाटन गर्दै हाम्रा सांस्कृतिक सम्पदा हाम्रो जीवपद्धतीसँग जोडिएका छन्, त्यसकारण पनि हामीले यिनको पुनरूद्धार गर्नु आवश्यक रहेको बताउनु भयो । महाभूकम्प जाँदा आफू पाटन क्षेत्रमै रहेको र तत्काल त्यहाँका जनसमुदाय भत्केका सम्पदाका संरक्षणमा जुटेको देख्दा गौरव वोध भएको उल्लेख गर्नु भयो ।
प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा.विष्णु विभु घिमिरेले कार्यक्रम ’bout अवधारणा प्रस्तुत गर्दै भूकम्पपछिको नेपालका सांस्कृतिक सम्पदाहरू क्षत् विक्षत् भएकाले संरक्षणका निम्ति यस प्रकारको कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै महाभूकम्पले ध्वस्त पारेका सम्पदाहरू मध्य बसन्तपुर दरवार र यस आसपासका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको क्षति’bout आकलन गरिएको गोष्ठी पत्र प्रस्तुत हुने जानकारी दिनु भयो ।
कार्यक्रममा प्रा.डा. वीणा पौडेलले ‘हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक एवम् पुरातात्विक स्मारकहरूमा भूकम्प २०७२ को प्रभाव र चुनौती’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नु भयो । ‘यस क्षेत्रमा भएको अपूरणीय क्षतिले हामी नेपालीलाई आहत बनाएको छ’ पौडेलको कथन थियो । उहाँले गोष्ठी पत्रको प्रस्तुतिका क्रममा हनुमानढोका क्षेत्रका दरवार, मन्दिर र देवलहरूको भूकम्पभन्दा अघि र भूकम्पपछिको अवस्था झल्काउने तस्वीरहरू पावरप्वइन्ट मार्फत प्रस्तुत गर्नु भएको थियो ।
डा. पौडेलको कार्यपत्रमाथि पुरातत्वविद् प्रकाश दर्नालले समीक्षा गर्दै कार्यपत्रलाई पूर्णता दिन विभिन्न सुझावहरू प्रस्तुत गर्नु भयो । यसैगरी संस्कृति मन्त्रालयका सहसचिव भरत मणि सुवेदी, प्रा.डा. राम दयाल राकेश, प्रकाश एराज, तेजेश्वर बाबु ग्वंग, प्रा.डा. चुडामणि बन्धु, लोक टुवाल आदिले विभिन्न कोणबाट आआफ्ना जिज्ञासा एवम् टिप्पणी राख्नु भएको थियो ।
गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्यहरू, आजीवन सदस्यहरू, पूर्व प्राज्ञहरू, प्राज्ञ सभाका सदस्यहरू लगायत संस्कृति र इतिहास क्षेत्रका  प्रवुद्ध विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

साउन १५ र कविता गोष्ठीमा उपकुलपति घिमिरे

काठमाडौं, साउन १५ । संसाक पाक्षिकले साउन १५को अवसरमा ‘साउन १५ र कविता, संस्कृति र साहित्यमा हाम्रो सहभागिता’ भन्ने नाराको साथ आयोजना गरेको साहित्यिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।सामुदायिक सेवा केन्द्र गोंगबुँको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपकुलपति घिमिरेले ‘साउन १५ मा खुवाइएको खाजा खीरभन्दा कविता मीठो लाग्यो भन्नुहुँदै कविताले श्रोता तथा पाठकको मन छुन सक्नुपर्छ, तब कविता कविता भएर देखा पर्छन्, आजको कार्यक्रममा वाचित कविताहरू आमरूपमा त्यस्तै भएको बताउनु भयो ।’ घिमिरेले भन्नुभयो– ‘आजका यी कविताहरूले मलाई विगतको याद गरायो । जसरी विगतमा मेरा मनमा बसेका कविताहरू आज पनि मलाई कण्ठ छन् त्यसैगरी आजका कति कविताहरू पनि मेरा मनमा पछिसम्म कण्ठस्थ बसिरहने छन् ।

सामुदायिक सेवा केन्द्र गोंगबुँका महासचिव प्रकाश काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. रमेशचन्द्र अधिकारीले वाचित कविताहरूमाथि समीक्षात्मक मन्तव्य राख्नुहुँदै भन्नुभयो, ‘साँच्चै आजको कार्यक्रम कुनै ठूला संस्थाहरूले आयोजना गरेका राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरकोभन्दा कम छैन । वाचित कविताहरूले प्रेम, प्रकृति, राजनीति, सँस्कृति सबै विषयलाई छोएकाछन् । कविताहरू स्तरीय र परिपक्व भावनाले भरिएका छन् ।’

त्यसैगरी योग गुरू केदारनाथ पाठकले कार्यक्रममाथि प्रकाश पार्नुहुँदै यसरी संसाकले गाउँ, टोलहरूमा निरन्तर साहित्यिक कार्यक्रमहरू गरेर समाजलाई ब्यूँझाउने काम गरिरहेको छ, भन्नुभयो ।

कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, कवि रामबाबु सुवेदी, डा.सत्यराज थपलिया, नरनाथ लुइँटेल, वासुदेव अधिकारी, मणिराज सिंह र हरिप्रसाद पाण्डेले शुभकामनाको साथै कविता वाचन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा तेजप्रकाश बानियाँ, बलराम दाहाल, कृष्णदेव रिमाल, डिल्लीप्रसाद मुलतिउन, शशी थापा, सीता विष्ट कार्की, द्वारिका कुइकेल, सबिना सिन्धु र तारा के.सी.ले पनि आआप्mना रचनाहरू सुनाउनु भयो । राधादेवी पाण्डे, कमला रिसाल ज्योति, सुदेश सत्याल, संगीता घिमिरे, उदास कार्की, सीता प्याकुरेल, हरिप्रसाद पाठक र प्रीतिका पाण्डेले आप्mना कविताहरू पढ्नुभएको थियो ।

उमेश पाण्डेको संयोेजनमा भएको कविता सुन्दै खीर खाने उक्त कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल, दामोदार पुडासैनी किशोर, युवराज मैनाली, श्रीहरि फुयाल, घनश्याम पुडासैनी, न्हुच्छेनारायण मानन्धर, ज्ञानमान नकर्मी, बद्रिप्रसाद खकुरेल, जनक कँडेल, वलराम भट्ट, नवराज भेटवाल, जे.पी.नेपाल, जितेन्द्र विष्ट, उत्तम अधिकारी, अर्जुन पाठक, मुरारी सिटौला, रेणुका सिटौला आदिको श्रोताको रूपमा उपस्थिति रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा विष्णु मल्ल, गायत्री खतिवडा, वसन्त पाण्डे, चमेली कँडेल, विनय पाण्डे धरणिधर गुरागाईंको पनि सहयोग तथा उपस्थिति रहेको थियो ।

भारतीय साहित्यकारको सम्मानमा कार्यक्रम

काठमाडौं, २०७२ साउन २९ । दुई जना भारतीय वरिष्ठ साहित्यकार केदारनाथ सिंह र अरुण माहेश्वरीको सम्मानमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज एक समारोहको आयोजना गर्यो ।

प्रज्ञा परिसरमा आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले अतिथि साहित्यकार द्वयलाई स्वागत गर्दै यस्तो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको परम्परा रहेको बताउनु भयो । उहाँले ‘नेपाल प्रज्ञा–प्रतिष्ठान र भारतीय साहित्य एकेडेमी बीच सुमधुर सम्बन्ध स्थापित भएको बताउँदै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरूको परिचय दिनु भएको थियो ।

वरिष्ठ साहित्यकार केदारनाथ सिंह भारतीय साहित्यिक एकेडेमीसँग सम्बद्ध हुनुहुन्छ भने अरुण माहेश्वरी ४ हजार भन्दा बढी भारतीय साहित्यिक कृति प्रकाशित गरी सकेको वाणी प्रकाशनसँग सम्बद्ध हुनुहुन्छ ।

भारतीय साहित्यकारद्वय सिंह र माहेश्वरीले आफूलाई प्रज्ञा–प्रतिष्ठानले गरेको सम्मानप्रति कृतज्ञता प्रकट गर्नु भएको थियो । ‘नेपाल प्रज्ञा प्रतिष्ठान र भारतीय साहित्यिक एकेडेमी मिलेर साहित्यिक एवम् साँस्कृतिक आदानप्रदान गर्दै अनुवादका क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सकिन्छ’ सिंहले भन्नु भयो । उहाँले कविता आवाजमा भन्दा, सुन्दा र बुझ्दा तिन किसिमको अर्थ लाग्ने बताउँदै आफ्नो एउटा कविता सिर्जना वाचन गर्नु भएको थियो ।

अतिथि अरुण माहेश्वरीले महाकवि देवकोटाका कृति एवम् नेपाली भाषाका उत्कृष्ठ आख्यानात्मक कृतिहरू हिन्दीमा अनुवाद प्राप्त भए वाणी प्रकाशनले प्रकाशित गर्ने, तत्सम्बन्धमा एकेडेमीले योजना बनाओस् भनी सुझाव दिनु भएको थियो ।

कुलपति उप्रेतीले प्रज्ञा प्रतिष्ठानका तर्फबाट अतिथिद्वय केदारनाथ सिंह र अरुण माहेश्वरीलाई कलात्मक काष्ठ झ्याल एवम प्रज्ञाका प्रकाशनहरू उपहार प्रदान गर्नु भयो ।

कार्यक्रममा उपकुलपति डा.विष्णुविभु घिमिरे, प्राज्ञहरू श्री अमर गिरी, श्री श्रवण मुकारुङ, श्री मातृका पोखरेल, श्री नरनाथ लुइँटेल र अधिकृत सन्ध्या पहाडीले कविता वाचन गर्नु भएको थियो ।

1 21 22 23