२०६औँ भानु जयन्ती समारोह सम्पन्न
२०७६ असार २९ गते, काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा भव्यतापूर्वक सम्पन्न भएको छ । पहिलो चरणअन्तर्गत प्रज्ञा–प्रतिष्ठानमा रहेको भानुभक्तको प्रतिमास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको ब्यान्डले ब्यान्ड बाजा, भानुभक्तको तस्बिरसहितका विभिन्न झाँकीहरू र राष्ट्रकवि माधवप्रसाद घिमिरे एवम् उहाँकी धर्मपत्नी महाकाली घिमिरेको रथारोहरणसहित नगरपरिक्रमा गरिएको थियो ।
नगरपरिक्रमापछि माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा आयोजित समारोहमा भानुभक्तको प्रतिमामा माल्यार्पण गरिनुका साथै विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा भानुभक्तका केही रचनाहरू पाठ गरिएको थियो ।सोही अवसरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि घिमिरेलाई भानु प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद्, सिक्किम, असम नेपाली साहित्य सभा, असम, नेपाली साहित्य परिषद्, मणिपुर, नेपाल जनसांस्कृतिक मञ्च, कोलकाता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मार लगायतका संस्थाहरूसमेतको तर्फबाट तयार गरिएको राष्ट्रकविको कदबराबरको समभिनन्दन–पत्र अर्पण गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले भानुको भाषिक योगदानले नेपालीलाई एउटै मालामा उन्ने काम गरेको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको भाषिक एवम् सांस्कृतिक एकीकरणमा भानुको अतुलनीय योगदान रहेको बताउनुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा पु¥याएको विशिष्ट योगदानको चर्चा गर्नुभयो । साथै आफूलाई रथारोहणसहित समभिनन्दन गरिएकोमा कृतज्ञता प्रकट गर्नुभयो ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भानु प्रतिष्ठानका महासचिव डी.पी. अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्राज्ञ डा. देवी नेपालले समभिनन्दन–पत्र वाचन गर्नुभएको थियो ।
विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘बधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’का साथै उहाँ थुप्रै फुटकर रचना प्रकाशित छन् ।