मातृभाषाका दृश्य–कविता र बहुभाषिक कविगोष्ठी

२०७६ जेठ २९ गते, काठमाडौँ । वाईफाई, फेसबुक, युट्युब, गुगलजस्ता शब्दहरू पछिल्लो समय तन्नेरीमाझ प्रिय छन् । यिनै माध्यमको प्रयोगमार्फत मौलिक संस्कृति र ज्ञान प्रवर्द्धन गर्ने ध्येयले राजधानीमा ‘दृश्य कविता’ प्रस्तुतिका साथै बहुभाषी कवि गोष्ठी गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको सहकार्यमा सेलो फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ६ जना कविका कवितामाथि बनेको बनाइएको भिडियो देखाइएको थियो ।
भिडियोमा कवि अनिता लामा, बिना थिङ, ङेमा थाङपाल, मिलन तामाङ, सजना गोले, हीरामान वलका तामाङ भाषाका कविता समेटिएको थियो ।
उक्त अवसरमा भएको बहुभाषी कवि गोष्ठीमा चाहिँ स्नेह सायमीले नेपालभाषामा, राकेश मायालुले मगर भाषामा, सोम धिमालले धिमाल भाषामा, छविरमण सिलवाल, विकु लामा र देवकी अभिलाषीले नेपाली भाषा कविता सुनाउनुभएको थियो ।
त्यस्तै अटुट दोङ, ईश्वर थोकर, सिर्जना गोले, शीतल मोक्तान र एनिका ग्लानले तामाङ भाषामा कविता सुनाउनुभएको थियो ।  कवितामा समसामयिक राजनीतिक चेतनादेखि मातृभाषा र समुदायप्रतिको समर्पण झल्किएको प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख एवम् प्राज्ञ लक्ष्मी मालीले बताउनुभयो ।
मुलुकभरका मातृभाषाको प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानले महत्वका साथ काम गर्दै आएको र मातृभाषा साहित्यको अनुसन्धान र लेखनका लागि प्रोत्साहनमूलक कार्यक्रमहरूको तयारी भइरहेको पनि उहाँले बताउनुभएको थियो ।