‘नेपालको संविधानका विशेषताहरू’माथि विचार गोष्ठी
२०७६ असोज २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘नेपालको संविधानका विशेषताहरू’ विषयक विचार गोष्ठीको आयोजना गरियो । संविधान दिवस (राष्ट्रिय दिवस)का उपलक्ष्यमा असोज २ गते बिहीबार प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सभाकक्षमा आयोजित विचार गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपालको संविधान’ जननिर्वा्चित जनप्रतिनिधिहरूले संविधानसभाद्वारा लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गरेर लेखिएको संविधान आफैँमा एक अनुपम नमूना संविधान भएको दाबी गर्नुभयो । मन्त्री भट्टराईले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको उल्लेख गर्दै भन्नुभयो– “अहिले हामी उक्त संविधानको तीब्ररूपमा सफल कार्यान्वयनको क्रममा छौँ । संविधान निर्माणपश्चात हिजोका सबै राजनीतिक मतभेदहरूको अन्त्य भएको छ । संविधानमार्फत् देशले नेपाली मोडेलको सङ्घीयता प्राप्त गरेको छ । मौलिक हक र अधिकारहरूको सुनिश्चितता गरेको छ ।”
कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘निकै अगिदेखिको नेपाली जनताको चाहनाअनुसार २०७२ सालमा आएर दोस्रो संविधानसभाद्वारा सङ्घीय गणतान्त्रिक संविधान बनेको उल्लेख गर्दै उक्त संविधानको सफल कार्यान्वयनका साथसाथै सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को सङ्कल्पसहित देशको समृद्धिको यात्रा अगाडि बढाउनु सुखद् विषय भएको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले जनताले चुनेका जनप्रतिनिधहरूद्वारा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको इमानदारिपूर्वक कायान्वयन यस संविधानको सफलता हुने बताउनुभयो । उहाँले भन्नुभयो– “मुलुकका सबै जनताले अपनत्व गर्नसक्नु नै संविधानको सफलता हो, पूर्णता हो ।”
उपकुलपति डा. जगमान गुरुङले संविधानसभाद्वारा निर्मित ‘नेपालको संविधान’ नेपालका लागि उत्कृष्ट र निर्विकल्प भएको बताउनुभयो । उहाँले साझा पहिचानका आधारमा सबै प्रदेश र राजधानीको नामाकरण गरिनुपर्ने विचार व्यक्त गर्दै भन्नुभयो– “साझा पहिचानको बाटोमा जाँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकास हुन्छ र यसैबाट समृद्ध नेपाल सुखी नेपालीको स्वप्न चाहना पूरा हुन्छ ।”
गोष्ठीमा राजनीतिकशास्त्री तथा संविधानसभा सदस्य प्रा.डा. लालबाबु यादवले ‘नेपालको संविधानः मौलिक हक, कर्तव्य र नागरिकताको सवाल’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै भन्नुभयो– “यो संविधान नेपालको ७ औँ संविधान हो । यसअगिका ६ वटा संविधानहरूले नेपाली जनताका सबै चाहनालाई सम्बोधन गर्न नसकेका कारण नै अर्को संविधान बनाउनुपरेको हो र यो संविधान बनेको हो । जनताको मौलिक हक, कर्तव्य र नागरिकताको सवालमा यो संविधान साँच्चिकै उत्कृष्ट । अब सफल कार्यान्वयन यसको सफलता हो ।” उहाँले जननिर्वा्चित जनप्रतिनिधिद्वारा दोस्रो संविधानसभाबाट ९० प्रतिशत बहुमतले पारित नेपालको संविधान विश्वकै नमूना र उत्कृष्ट संविधान भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।