दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन’bout पत्रकार सम्मेलन

२०७६ असोज २७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असोज २८ गतेदेखि ३० गतेसम्म हुन लनगेको ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन–२०७६’का ’boutमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरियो ।
साहित्य सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने प्रतिष्ठानले जनाइएको थियो । सोह्र जना विद्वानले विभिन्न विषयमा १६ ओटा गोष्ठीपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा विदेशी पाहुनाको स्वागतमा नेपाली संस्कृति झल्किने गीत, सङ्गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने उहाँले बताउनुभयो ।

असोज २८ देखि ३० गतेसम्म विभिन्न विषयका गोष्ठी सञ्चालन हुने छन् । ३० असोजमा काठमाडौँको चन्द्रागिरिमा हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयमा प्रस्तुति समेत रहने प्रतिष्ठानले जनाएको छ । सम्मेलनको औपचारिक समापन कार्यक्रम चन्द्रागिरीमा नै सञ्चालन गरिने कुरा सम्मेलनमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।

प्रतिष्ठानले वर्तमान विश्वका नवीनतम प्राज्ञिक प्रवृत्तिहरूसँग नेपाली स्रष्टा–द्रष्टा र लेखकहरूलाई परिचित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको सदस्य सचिव उपाध्यायले जनाउनुभयो । उहाँले विभिन्न मित्र राष्ट्रका समान उद्देश्य र प्रकृतिका प्राज्ञिक संस्थासँग दुई पक्षीय सहमति कायम गरी प्राज्ञिक आदानप्रदानका साथै अन्तर्रा्ष्ट्रिय स्तरकै गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरू समेत गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मित्र राष्ट्रका प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट समेत प्रतिनिधित्व गराउँदै आइएको छ ।’

यसअघि दक्षिण एसियाली राष्ट्रका प्राज्ञिक संस्थाहरू सम्मिलित ‘प्रथम चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन–२०१७’ चीनको छेन्दुमा सम्पन्न भएको थियो । उनका अनुसार चीनको संस्कृति मन्त्रालयअन्तर्गत रहेको ‘चिनियाँ संस्कृति अनुवाद अध्ययन सहयोग’ (सिसिटिएसएस)को सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अनुवाद र प्रकाशनसम्बन्धी गोष्ठी–२०७५ आयोजना यस अगाडि नै गरिएको थियो ।

सदस्य सचिव प्रा. उपाध्यायले भारतको भारतीय साहित्य अकादमी, चीनको चिनियाँ लेखक सङ्घ, पाकिस्तानको पाकिस्तानी एकेडेमी अफ लेटर्स, बङ्गलादेशको बांग्ला एकेडेमीसँग साहित्यिक आदानप्रदानका निम्ति दुई पक्षीय सहमतिमा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो । उहाँले श्रीलंका, माल्दिभ्स र इजरायलका एकेडेमीहरूसँग सहमति हुने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार गैरआवासीय नेपाली सङ्घसँग समेत दुई पक्षीय सहमति भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारकै क्रममा बङ्गलादेशको सहकार्यमा शेख मुजीबर रहमानको ‘ती अधुरा संस्मरणहरू’, पाकिस्तानसँगको सहकार्यमा ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तक प्रतिष्ठानबाट प्रकाशन भएका छन् । प्रतिष्ठानले तयार गरेको प्रतिनिधि नेपाली कविताको ग्रन्थ ‘द भ्वाइस अफ नेपाल’ को पाकिस्तानका विभिन्न भाषामा र चिनियाँ भाषामा अनुवाद प्रक्रियामा रहेको छ ।