चीनमा आयोजित एसियन सभ्यता संवाद सम्मेलनमा सहभागी भई कुलपति उप्रेती स्वदेश फिर्ता

२०७६ जेठ ६ गते ।
चीनको बेइजिङमा मे १५ देखि सुरु भएको साताव्यापी ‘प्रथम एसियाली सभ्यता संवाद सम्मेलन’मा सहभागी भई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती आइतबार काठमाडौँ फर्किनुभएको छ । रेशमी मार्गलाई पुनर्जीवन दिनुहुने चीनका राष्ट्रपति सी चिनफिङको परिकल्पनामा चीनले एसियाको प्राचीन सभ्यतालाई ब्युँझाउने उद्देश्यले ‘प्रथम एसियाली सभ्यता संवाद सम्मेलन’ आयोजना गरेको हो । कुनै समयको समृद्ध एसियाली सभ्यतालाई पुनः ब्युँझाएर बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई थप बलियो बनाउन चीनले यस्तो सम्मेलन आयोजना कुलपतिले बताउनुभयो ।
सभ्यता सम्मेलनमा नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईलगायत प्राज्ञिक क्षेत्रबाट विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कुलपतिका साथमा मकालु प्रकाशका अध्यक्ष वासुदेव ढकाल र चिनियाँ भाषाविद् डा. प्रदीप केसी सम्मेलनमा सहभागी हुनुभएको थियो । नेपालबाट सांस्कृतिक टोलीको पनि सहभागिता रहेको थियो । विश्वकप भएको चरागुँड रङ्गशालामा उद्घाटन भएको सम्मेलनको अर्को दिन आयोजित कल्चरल कार्र्निभलमा एसियाका हजारौँ कलाकारहरूले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

राष्ट्रपति सी चिनफिङले उद्घाटन गर्नुभएको सम्मेलनमा कम्बोडिया, ग्रिस, सिंगापुर, श्रीलंका, मंगोलियालगायतका राष्ट्र तथा सरकार प्रमुख सहभागी भएका थिए । सम्मेलनमा युनेस्कोलगायत एसियाली ४७ देशबाट समेत गरी संस्कृति, शिक्षा, थिंक ट्यांक, पर्यटन, सञ्चारलगायत क्षेत्रका २ हजार जनाले सम्मेलनमा भाग लिएका थिए ।
सम्मेलनमा कुलपति उप्रेतीले सांस्कृतिक पर्यटनको महत्वका ’boutमा  विशेष मन्तव्य दिनुभएको थियो । यसका अतिरिक्त बेइजिङस्थित नेपाली राजदूतावासद्वारा बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कुलपति उप्रेतीले सम्बोधन गर्नुभएको थियो ।