‘अनुसन्धान गोष्ठी तथा प्रज्ञा जर्नल–११७ र ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’ लोकार्पण

२०७६ भाद्र २० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा प्रज्ञा भवन, कमलादीमा ‘अनुसन्धान गोष्ठी तथा प्रज्ञा (विज्ञ समीक्षित जर्नल–११७)’ र ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’ नामक ग्रन्थको लोकार्पण तथा विमर्श कार्यक्रम तथा  आयोजना गरियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले पचास वर्ष पुग्न लागेको ‘प्रज्ञा’ अनुसन्धानमूलक पत्रिका विज्ञ समीक्षित जर्नलका रूपमा प्रकाशन थालनी भएकोमा प्रसन्नता व्यक्त गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरको  बनाउन कुनै कसर बाँकी राख्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले उत्कृष्ट समालोचकमा साहित्यको अन्तरङ्ग अध्ययन चाहिने उल्लेख गर्नुहुँदै समालोचना शोधको कैदी बन्नु नहुने बताउनुभयो । “साहित्यको वास्तविक आस्वादन लिन नसक्ने समालोचकले सही समालोचना गर्न सक्दैन ।” उहाँको धारणा थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गोष्ठीले प्राज्ञिक अनुसन्धानमूलक लेखन सम्बन्धी मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै अनुसन्धानमूलक प्राज्ञिक लेखनका सम्बन्धमा नेपालकै मौलिक सिद्धान्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध)का प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले कार्यक्रमको उद्देश्य’bout प्रकाश पार्दै २०२७ सालदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको ‘प्रज्ञा’ अर्धवार्षिक अनुसन्धानात्मक पत्रिका २०७५ माघ २५ गते बसेको प्राज्ञपरिषद्को बैठकको निर्णयअनुसार अङ्क ११७ देखि विज्ञ समीक्षित जर्नलका रूपमा प्रकाशन आरम्भ गरिएको सुनाउनुभयो ।
कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयले ‘अनुसन्धानमूलक लेखको संरचना’ र प्रा.डा. महादेव अवस्थीले ‘अनुसन्धान लेखनः विषय चयन र प्रस्तुति योजना’ विषयक विचारपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरूका विचारपत्रमाथि प्रा.डा. अम्मराज जोशी र प्रा.डा. रमेश भट्टराईले परिपूरक समीक्षा गर्नुभएको थियो भने प्रा.डा. माधव पोखरेलले जर्नल’bout समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जर्नलका कार्यकारी सम्पादक तथा ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’ नामक ग्रन्थका लेखक डा. बालाकृष्ण अधिकारीले  जर्नल सम्पादनअनुभूति र ग्रन्थ लेखनका सन्दर्भमा आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।