नेपालगञ्जमा मध्य तथा पश्चिमाञ्चल वाङ्मय गोष्ठी

काठमाडौँ, ३१ चैत्र । वि.सं २०७३ चैत्र २४ र २५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हीरक महोत्सवका सन्दर्भमा बाँकेको नेपालगञ्जमा दुई दिने वाङ्मय गोष्ठीको आयोजना गरियो । ‘मध्य तथा सुदूर पश्चिमाञ्चल वाङ्मय गोष्ठी’को प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि गोष्ठीलाई सम्बोधन गर्दै कुलपतिले प्रतिष्ठानले हीरक महोत्सवका अवसरमा राष्ट्रका विभिन्न क्षेत्रमा प्राज्ञिक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । कुलपतिले भन्नुभयो, ‘मध्य तथा सुदूरपश्चिमको भाषा, संस्कृति र कला–साहित्यलाई मूलधारको साहित्यमा जोड्न यो वाङ्मय गोष्ठी राखिएको हो ।’ उहाँले प्रतिष्ठान अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा लागेको तथा विश्वका ज्ञानविज्ञानलाई मुलुकमा भित्र्याउन र यहाँको ज्ञानविज्ञानलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउन प्रतिष्ठान प्रतिबद्ध भएर लागिरहेको प्रस्ट्याउनु भयो ।
दुई दिनसम्म चलेको गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले वि.सं. २०१४ सालमा स्थापित प्रतिष्ठान २०७३ मा आइपुग्दा हीरक वर्षमा  प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सदस्यसचिव गिरीका अनुसार राजधानीबाहिर दुई क्षेत्रमा यस प्रकारको प्रमुख गोष्ठी गरिएको हो । यसअघि फागुनको १९ र २० गते पूर्वको विराटनगरमा पूर्वाञ्चलस्तरीय वाङ्मय गोष्ठी आयोजना गरिएको थियो । उहाँले यस कार्यक्रमले स्थानीय भाषा–संस्कृति र साहित्यको समृद्धिमा उल्लेखनीय भूमिका खेल्नु धारणा राख्नुभयो ।
मध्य तथा सुदूर पश्चिमका विभिन्न जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको गोष्ठीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. उषा ठाकुर, डा. अमर गिरी र नर्मदेश्वरी सत्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसै गरी उच्च अदालतका मुख्य न्यायाधीश शेराज सिवाकोटी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, मदन पुरस्कार विजेता कथाकार रामलाल जोशी, साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार सच्चिदानन्द चौवे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
गोष्ठीमा डा. खगेन्द्रप्रसाद घोडासैनीले ‘मध्य तथा सुदूर पश्चिमका भाषिकाको नेपाली भाषामा योगदान’, प्राज्ञ वासुदेव पाण्डेयले ‘सुदूर पश्चिमाञ्चलको नेपाली कविताको रुपरेखा’, प्राज्ञ तथा प्रा. जगत उपाध्यय ‘प्रेक्षित’ले, ‘समकालीन नेपाली कवितामा मध्यपश्चिमको योगदान’ विक्रममणि त्रिपाठीले ‘अवधि र थारु साहित्यका अनुदित कृतिहरू र अनुवादको दशा र दिशा’, इद्रियस सायलले ‘नेपालीमा प्रचलित उर्दू साहित्यको अवस्था’, लक्की चौधरीले ‘नेपालमा प्रचलित थारु साहित्यको अवस्था’, प्रा.डा. बद्रीप्रसाद विनाडीले ‘डोटेली साहित्यको अवस्था’, डा. मधुसुदन गिरीले ‘मध्यपश्चिमको लोकसाहित्यको अवस्था’ र बालकृष्ण शर्माले ‘मध्य तथा सुदूरपश्चिमको आख्यान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन विभिन्न जिल्लाबाट सहभागी कविहरूद्वारा कविता वाचन गरिएको थियो भने  कार्यक्रममा स्थानीय कलाकारहरूद्वारा परम्परागत लोकनृत्यहरूसमेत प्रस्तुत गरिएको थियो । वाङ्मय गोष्ठी प्राज्ञ सभा सदस्य हरिहर तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।