अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा विचार गोष्ठी

काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०१७ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौँद्वारा संयुक्त रूपमा ‘मातृभाषा विचार गोष्ठी’को आयोजना गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित विचार गोष्ठीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले भाषा मानव जातिको पहिचान भएको बताउनुभयो । उहाँले थप्नुभयो, ‘मातृभाषा हाम्रो संस्कृति र पहिचानसँग जोडिएको कारणले भाषालाई राजनीतिसँग जोडेर विवादित गराउनु हुन्न ।’ विज्ञहरूका विचार र सुझावले भाषाभाषीका सम्बन्धी सबै कमीकमजोरीहरूलाई सच्याएर सबैलाई एकताको सूत्रमा जोडेमा मात्रै राष्ट्रिय एकताको लागि काम गर्न सकिने मन्त्री शाहीको कथन थियो ।


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुभाषिक मुलुकमा  ‘भाषाहरूको व्यवस्थापन र प्रवद्र्धन गर्न भाषा आयोगको भूमिकाका बारेमा छलफल गरेर मातृभाषाको शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई सुझाव दिनु गोष्ठीको उद्देश्य हो’, कुलपति उप्रेतीले भन्नुभयो, ‘साहित्यमा मातृभाषाको योगदान र महत्वका सन्दर्भमा  विज्ञहरूका सल्लाह र सुझाव प्राप्त गरेर प्रतिष्ठानलाई यस सम्बन्धी कार्यक्रम तर्जुमा गर्न सहयोग पुगोस् भन्ने पनि कार्यक्रमको उद्देश्य हो ।’

गोष्ठीमा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले लिम्बू मुन्धुममा भाषाको महत्वबारे उल्लेख गर्दै  मान्छेलाई मान्छे भनेर चिनाउने तत्व नै भाषा भएको जिकिर गर्नुभयो, ‘मातृभाषा सम्बन्धी हुने यस्ता गोष्ठी र छलफलहरूले मातृभाषाको पाठ्यक्रम निर्माण गर्नलाई पनि सहयोग पुग्नेछ ।’

गोष्ठीमा विश्व मातृभाषा दिवस २१ पे्रmबु्रअरी २०१७ को अवसरमा युनेस्कोकी महासचिव इरिना बोकोभाले पठाउनुभएको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा महासचिव बोकोभाले भन्नुभएको छ, ‘भाषिक प्राणी हामीमा संस्कृति, विचार, भावना र सुन्दर संसारको परिकल्पना सबैभन्दा पहिला भाषा र शब्द मार्पmत आउँछन् । भाषाले मानवीयताको समृद्धि गर्ने मूल्य र मान्यता प्रदान गर्छन् । यस दिवसको अवसरमा म शिक्षा, प्रशासन, संँस्कृतिक अभिव्यक्ति र सञ्चार माध्यम, साइबर संसार र व्यापार जताततै मातृभाषाको सम्भावना स्वीकार्न अपिल गर्दछु ।’

गोष्ठीमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले ‘परिवर्तित सन्दर्भमा भाषा आयोगको संवैधानिक दायित्व’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी प्रा.डा. योगेन्द्रप्रसाद यादवले ‘नेपालको सन्दर्भमा शिक्षणको माध्यम र शिक्षाका भाषाहरू ः विश्लेषण र सुझाव’ तथा अमृत योञ्जन तामाङले ‘नेपालका मातृभाषाहरूमा साहित्य सिर्जना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत कार्यपत्रहरूमाथि विभिन्न विद्वान, लेखक तथा साहित्यकारहरूले टिप्पणी गर्नुका साथै विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो । प्रा.डा. नोवल किशोर राईले डा. लवदेव अवस्थीको कार्यपत्रमाथि टिप्पणी गर्नुभयो । त्यस्तै प्रा.डा. माधवप्रसाद पोखरेलले प्रा.डा. योगेन्द्रप्रसाद यादवको कार्यपत्रमाथि र अमर तुम्याहाङले अमृत योञ्जन तामाङको कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो ।

दुई सत्रमा सञ्चालित कार्यक्रममा उद्घाटन सत्रको सभापतित्व प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले र दोस्रो सत्रको सभापतित्व प्रा.डा. चूडामणि बन्धुले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले स्वागत मन्तव्य र सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।