बालकृष्ण समको ११५औँ जन्मजयन्ती सम्पन्न

काठमाडौँ, २४ माघ ।  नाटककार बालकृष्ण समको स्मृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा सुंयक्त रुपमा एक कार्यक्रमको आयोजना गरी समको साहित्यिक योगदानको चर्चा गरियो ।

 

समको ११५औँ जन्मजयन्तीका अवसरमा आइतबार प्रज्ञा भवन कमलादीमा आयोजित विशेष प्रवचन कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले समको साहित्यिक योगदानको चर्चा गर्दै भन्नुभयो, ‘उहाँ नाटकका साथसाथै कवितामा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो । तर, सफलता भने नाटकमा पाउनु भयो । नाट्य विधाका माध्यमबाट उहाँले नेपाली साहित्यलाई शिखरमा पु¥याउनुभएको छ ।’ समलाई नाटकले नै चिनाएको उल्लेख गर्दै राष्ट्रकविले समको लेखनको स्तर र उचाइमा कोही पनि पुग्न नसकेको दावी गर्नुभयो ।


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य एवं पूर्व उपकुलपतिसमेत रहेको स्मरण गर्दै उहाँ नेपाली वाङ्मयका अथक साधक र अमूल्य निधि भएको धारणा व्यक्त गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले सम पूर्वीय र पश्चिमा दर्शनलाई एकआपसमा जोड्ने बौद्धिक र दार्शनिक साहित्यकार भएको उल्लेख गर्दै भन्नुभयो, ‘राणाकूलमा जन्मेर पनि आमजनताको पक्षमा र राणाशासनको विरुद्धमा लेख्ने साहसिक स्रष्टा समको साहित्यिक योगदान अतुलीयन छ ।’
प्रा. कृष्ण गौतमले समको साहित्यिक योगदानका बारेमा विशेष प्रवचन दिँदै ‘समको जीवन नै कवितामय भएको’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम जीवनका सबै जटिलताहरू बुद्धिद्वारा नै समाधान गर्न सकिन्छ भन्ने दर्शन बोकेर हिँड्ने एक बुद्धिवादी र समन्यवादी स्रष्टा हुनुहुन्थ्यो ।’  गौतमले कलात्मकता नै समको मुख्य विशेषता भएको जिकिर गर्नुभयो ।
कार्यक्रमका सभापति डा. तारानाथ  शर्माले बालकृष्ण समसँगका स्मृतिहरू केलाउँदै सम आलोचनालाई पनि पचाउन सक्ने उदारवादी स्रष्टा भएको उल्लेख गर्नुभयो । शर्माले सम्झनुभयो, ‘मैले उहाँको कृति ‘चिसो चुल्हो’माथि ‘चिसो चुल्हो झुसिलो डकार’ भनेर समालोचना लेख्दा पनि उहाँ रिसाउनुभएन । बरू आफ्नो कमजोरी सहज रुपमा स्वीकार गर्दै मसँग आत्मीयता गाँस्नुभयो ।’ शर्माले सम राणाहरूको अत्यचारको तीब्र विरोधी भएकै कारण जेलसमेत पर्नुभएको प्रसङ्ग उप्काउनुभयो ।
नेपाली शिक्षा परिषद्की सदस्यसचिव रमा शर्माले समलाई आफूले जातीय विभेदविरोधी साहित्यकारको रुपमा पाएको उल्लेख गर्नुभयो, ‘सम मानिसको जात मानिस नै हो, उसको अर्को कुनै जात छैन’ भन्ने सिद्धान्तका स्रष्टा हुनुहुन्थ्यो ।’
कार्यक्रममा कवि प्रभा भट्टराईले समको कालजयी कविता ‘इच्छा’ पाठ गर्नुभएको थियो । प्रवचन कार्यक्रमअघि कमलपोखरीमा रहेको समको सालिकमामा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।