नेपालभाषाको पत्रिका ‘थाय्भू’बारे प्रज्ञामा परिचर्चा

काठमाडौँ, २० माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय हलमा बिहीबार नेपालभाषा साहित्यमा कलम चलाइरहेका नेवारी स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरू एकै ठाउँमा जुटेर नेपालभाषा साहित्यका बारेमा विमर्श गरिरहेका थिए । यी स्रष्टाहरूलाई एकै थलोमा जुटाउने तारतम्य मिलाएको थियो, प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागले ।
उक्त विभागद्वारा नियमित रुपमा प्रकाशित हुँदै आएको नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’को सातौँ अङ्कको सार्वजनिकीकरण एवम् विमर्श कार्यक्रममा यसरी नेपालभाषाका स्रष्टाहरू जुट्नुभएको हो । ‘थाय्भू’को सातौँ अङ्कको सार्वजनिकीकरण गर्दै प्रज्ञा–प्रतिष्ठाका कुलपति संवद्र्धनका निम्ति गम्भीरताका साथ लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकभित्र बोलिने सबै मातृभाषाप्रति प्रतिष्ठानको समान दायित्व रहेको छ । सीमित बजेटका बाबजुद पनि सम्बन्धित क्षेत्रमा प्रतिष्ठानले धेरै महत्वपूर्ण कामहरू गरिरहेको छ ।’


प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘थाय्भू’को शुरुवातदेखि नै आफू जोडिएको प्रसङ्ग निकाल्दै अन्य मातृभाषाको तुलनामा नेपालभाषा साहित्य निकै समृद्ध रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘थाय्भू’ नेपालभाषा साहित्यको समृद्धिमा समर्पित पत्रिका हो, यसलाई अझै के–कसरी अझै स्तरीय बनाउन सकिन्छ ? यसबारेमा प्रतिष्ठान तपाईं सम्बन्धित भाषाका विज्ञ एवम् स्रष्टाहरूको अमूल्य सल्लाह र सुझाबको अपेक्षा राख्दछ ।’
मातृभाषा साहित्य विभागका प्रमुख एवम् ‘थाय्भू’का प्रधानसम्पादक प्राज्ञ श्रवण मुकारुङले नेपालमा १ सय २३ मातृभाषाहरू अस्तित्वमा रहेको उल्लेख गर्नुहुँदै ती सबै भाषाका साहित्यलाई आफ्नो विभागले समानरुपले हेरिरहेको बताउनुभयो ।
प्राज्ञसभा सदस्य एवम् पत्रिकाका कार्यकारी सम्पादक धु्रव मधिकर्मीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै ‘थाय्भू’ नेपालभाषा साहित्यको श्रीवृद्धिकै निम्ति समर्पित रहेको हुँदा पत्रिकालाई अरु प्रभावकारी बनाउन सम्बन्धित लेखक/साहित्यकारको रचनात्मक सहयोग अपरिहार्य हुने बताउनुभयो ।
कार्यक्रममा नेपालभाषाका स्रष्टाहरू नरेशवीर शाक्य, चन्द्रमान बज्राचार्य, गोविन्दमान श्रेष्ठ, मंगला कारन्जित, नारद बज्राचार्य, राजेन मानन्धर, माणिक शाक्य, राज जोशी, भन्ते तिमिला लगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । सहभागी वक्ताहरूले प्रतिष्ठानले नेपालभाषालाई विशेष रुपले हेर्नुपर्नेमा जोड दिनुभएको थियो ।