३१औँ प्राज्ञसभा सम्पन्न

४ माघ, २०७३ । काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३१औँ प्राज्ञसभा माघ ४ गते, मंगलबार प्रज्ञाभवनमा सम्पन्न भएको छ । सो सभाले चालू आर्थिक वर्षका लागि १५ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ ।
प्राज्ञसभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले मुलुकको साहित्य, कला तथा संस्कृतिको विकासमा  प्राज्ञिक वर्गको भूमिका अहम् हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राज्ञिक वर्ग भनेका मुलुकका लागि मेरुदण्डका रक्तसञ्चार हुन् ।’


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान आफ्नो हिरक जयन्तीकोे तयारीमा लागेको बताउँदै मुलुकको प्राज्ञिक उन्नयनमा प्रतिष्ठानले उल्लेख्य कार्यहरु सम्पादन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले सार्क राष्ट्रका प्रज्ञा–प्रतिष्ठानहरुसँग सहकार्यका लागि पहलकदमी चालिरहेको छ ।’ उहाँले भारत, चीन, बंगलादेशसँग प्राज्ञिक आदान–प्रदानका लागि सम्झौता भइसकेको र पाकिस्तान र श्रीलंकासँग प्रस्ताव पेश गरेको प्रस्ट्याउनुभयो ।
प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार बैरागी काइँलाले सार्क क्षेत्रमा नेपाली वाङ्मयको अन्तर्राट्रिय विस्तारका लागि अभियान चलाउनु उल्लखनीय कार्य भएको भन्दै राज्यलाई समृद्ध बनाउनमा प्राज्ञिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
शुभकामना मन्तव्य राख्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले संस्कृति विधालाई सरकारले विशेष रूपमा महत्व दिनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थिठयो भने सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्राज्ञसभाले आर्थिक चालू आर्थिक २०७३–०७४ का लागि १५ करोड बजेट पारित गरेको छ भने कर्मचारी तथा कलाकार नियमावली र आर्थिक प्रशासनसम्बन्धी नियमावलीमा आवश्यक संशोधन गरेको छ । सभामा नवनियुक्त प्राज्ञसभा सदस्य गोपाल पोखरेल विवश र झमककुमारी घिमिरेलाई पद तथा गोपनीयताको शपथ खुवाइएको थियो । लामो समयदेखि प्राज्ञसभाका दुई पद रिक्त थिए ।