महाकवि जयन्तीमा नारीका कविता

dsc_9127

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती देशविदेशमा विविध साहित्यिक कार्यक्रमहरूको आयोजना गरी भव्य रुपमा मनाइदैछ । यसै अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पनि महाकवि देवकोटासम्बन्धी विचार गोष्ठीका साथै बृहत् नारी कविगोष्ठीको आयोजना गरेको छ । शुक्रबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नारी कविहरूले चोटिला कविताहरू सुनाएर प्रतिष्ठानको माहौल तताउनु भएको थियो ।
उक्त कार्यक्रममा मञ्जु काँचुली, उषा शेरचन, बिना थिङ, गायत्री विष्ट, गीता त्रिपाठी, दिप्स शाह, देवकी अभिलासी, धनकुमारी सुनार, रजनी ढकाल, यशोदा अधिकारी, लक्ष्मी रुम्बा, सुनिता खनाल, सुलोचना मानन्धर लगायतका तीन दर्जन नारी कविहरूले कविता सुनाउनु भएको थियो ।
नारी कविहरूका कविताको रसस्वादनपछि प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले वर्सेनी महाकवि देवकोटाबारे विचार विमर्शका साथै काव्यगोष्ठीको आयोजना गर्ने गरेको स्मरण गर्नुहुँदै यसपालिको कार्यक्रम भने नितान्त नौलो भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज वाचित कविका कविताहरू सबै वैचारिक, कलात्मक र उत्कृष्ट छन् ।’
प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले परम्पराभन्दा भिन्दै किसिमले महाकवि जयन्ती मनाएर प्रतिष्ठानले पछिसम्म स्मरण गर्न लायक कार्य गरेको भन्दै उहाँले नारीहरू लक्ष्मीको प्रतीक भएको बताउनु भयो ।
यसै गरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले एकै ठाउँमा तीन पुस्ताका नारी कविहरूका कविता सुन्ने सौभाग्य जुरेको भन्दै कार्यक्रम सार्थक रहेको जिकिर गर्नुभयो । उहाँले पुरुष कविका भन्दा कुनै पनि कोणबाट नारीका कविता कमजोर नदेखिएको बरु सशक्त रहेको बताउनुभयो ।
प्रतिष्ठानका काव्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक डा. अमर गिरीले महाकवि देवकोटाले छोटो उमेरमै नेपाली वाङ्मयका लागि यथेष्ट योगदान दिनुभएको उल्लेख गर्नु हुँदै देवकोटा स्वच्छन्दवादीधाराका प्रवर्तक र मानवतावादी चिन्तनका कवि भएको दावी गर्नुभयो ।
कार्यक्रम डा. गार्गी शर्माले महाकवि देवकोटाबारे प्रकाश पार्नु हुँदै भन्नुभयो, ‘उहाँका नारी पात्रहरू सशक्त र विद्रोही चरित्रका पान्छन् ।’