नियात्रा लेखनबारे प्रज्ञामा परिचर्चा

dsc_9032

काठमाडौँ । वरिष्ठ नियात्राकार डा. तारानाथ शर्मालाई ‘नियात्रा सम्मान’द्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालले कात्तिक ११ गते प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शर्मालाई दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गर्नुभयो । सम्मान समर्पण गर्दै कुलपति उप्रेतीले ‘सिर्जनात्मक साहित्यका लागि नियात्राकार शर्माको नियात्रा उत्प्रेरक रहेको’ बताउँदै भन्नुभयो, ‘शर्माको भाषाशैली सुललित हुन्छन् जसले पाठकलाई सम्मोहित पार्ने क्षमता राख्छ ।’
सम्मानित व्यक्तित्व डा. शर्माले नियात्रा सम्मान प्राप्त गर्नु आफ्ना लागि सौभाग्यको कुरा भएको बताउँदै भन्नुभयो ‘लेखकले आफ्नो नियात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नु नै वास्तविक नियात्रा हो ।’ उहाँले नियात्रा शब्द बालसखा बालकृष्ण पोखरेलले सिर्जना गरेको सम्झँदै थप्नुभयो, ‘यो शब्द नितान्त मौलिक नेपाली शब्द हो । यो वेद, उपनिशद, शब्दकोश अथवा हिन्दी कहीँ पनि छैन ।’
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्र देव गिरीले नेपाली भाषा, साहित्य एवम् नियात्रा विधाका शिखर व्यक्तित्व डा. शर्मालाई सम्मान गरेर आयोजक दुवै संस्था स्वम् पनि सम्मानित भएको बताउनु भयो । प्रज्ञा–प्रतिष्ठान समालोचना र निबन्ध विभागकी प्रमुख एवम् कार्यक्रम संयोजक डा. ज्ञानू पाण्डेले आफ्नो विभाग नियात्रा विधाको उन्नयनका लागि योजनासहित लागिपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो विधामा गर्नु पर्ने कामहरू धेरै छन् ।’
कार्यक्रममा सम्मानित व्यक्तित्व डा. शर्माका बारेमा प्रकाश पार्दै श्रीओम श्रेष्ठ रोदनले शर्मा नियात्रा साहित्यका जन्मदाता र परिभाषाहरूमा परिभाषित गर्नै नसकिने विराट प्रतिभा भएको दावी गर्नुुभयो ।
सुवेदार मेजर शेरसिंह रानाद्वारा लिखित तथा प्रथम पटक प्रकाशित नियात्रा कृति ‘मेरो लन्दन राजतिलक यात्रा’को आवरण देखाई आरम्भ गरिएको कार्यक्रममा डा. निर्मोही व्यासले ‘नेपाली साहित्यमा नियात्रा लेखनको ऐतिहासिक पृष्ठभूमि एवम् यसको विकासको गति’ र बलराम अधिकारीले ‘नियात्रा साहित्यको सैद्धान्तिक परिचय एवम् विश्व साहित्यमा यसको गति’ विषयमा प्रवचनपत्र प्रस्तुत गर्नुभएको थियो ।

dsc_9066-1
व्यास र अधिकारीको प्रवचनपत्रमाथि प्राज्ञ विष्णुराज आत्रेय, प्राज्ञ विवश पोखरेल, कथाकार नारायण तिवारी, पत्रकार तथा लेखक शेखर ढुङ्गेल लगायतले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा नियात्रा समाज, नेपालका अध्यक्ष चन्द्रप्रसाद भट्टराई, महासचिव दामोदर पुडासैनी किशोर र गीता रेग्मी लगायतले नियात्रा लेखनका बारेमा आफ्ना विचार व्यक्ति गर्नुभएको थियो ।