प्रज्ञामा मृत्यु संस्कार सुधारका सम्भावनाबारे व्यापक मन्थन

काठमाडौँ— नेपाल प्रज्ञा–प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान, नेपालले संयुक्तरुपमा मृत्यु संस्कारसम्बन्धी विचार गोष्ठी आयोजना गरेको छ । प्रज्ञा भवनमा आयोजना गरिएको ‘मृत्यु संस्कार सुधारका सम्भावानाहरू’ विषयक विचार गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाले उक्त विषयमा आफ्नो विचार व्यक्त गर्दै अन्धविश्वास र विश्वासको योगफलबाट नै संस्कार बनेको र संस्कारबाटै संस्कृतिको निर्माण हुन गएको उल्लेख गर्दै ‘सरोकारवाला, सम्बन्धित विषयका ज्ञाता र धर्मशास्त्रीहरुसमेतका विद्ववानहरुको भेला गरी धर्मसंस्कारका नाममा रहेका कतिपय विकृति र विसंगतिहरु हटाई आवश्यक सुधार गरिनु पर्ने समयको आवश्यकता भएको’ बताउनुभयो  ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्कृतिसँग जोडिएका विषयहरु अत्यन्त संवेदनशील रहेको चर्चा गर्दै ‘सनातनीय मृत्यु संस्कारमा सुधारको आवश्यकता महसुस गरी प्रतिष्ठानले विगत केही वर्षअघिदेखि नै चरणबद्ध रुपमा यसबारे अभिमत बुझ्ने उद्देश्यले छलफल चलाइरहेको प्रस्ट्याउनु भयो, ‘यो कार्यक्रम त्यसैको सिलसिलामात्रै हो ।’
गोष्ठीमा डा. प्रेम खत्रीले ‘विभिन्न जातजातिहरुमा चलिआएको मृत्यु संस्कार’, शङ्करप्रसाद पोखरेलले ‘सनातन मृत्यु संस्कारमा सुधारको आवश्यकता र शास्त्रीय आधार’ र ‘भिक्टर प्रधानले ‘मृत्यु संस्कारका सम्बन्धमा सुधारका लागि हालसम्म भएका गतिविधिहरू’ शीर्षकका कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रहरूमाथि डा. जगमान गुरुङ, मोदनाथ प्रश्रित र विष्णु प्रभातले टिप्पणी गर्नुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका  उपकुलपति डा. विष्णुविभु घिमिरेले संस्कार भनेको परिष्कार भएको तर्क राख्दै यसको सम्बन्ध धर्म, संस्कृति र समाजसँग रहेको धारणा राख्नुभयोे । उहाँले भन्नुभयो, ‘कुनै पनि कुरा अपरिवर्तनीय भन्ने हुँदैन । संसारका सबै कुरा परिवर्तनशील छन् ।’

सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिकर्मी खगेन्द्र राईले मानवजीवनलाई समृद्ध बनाउने कुरा नै संस्कृति भएको उल्लेख गर्दै ‘जीवन र समाजअनुकूल संस्कारको समृद्धिका लागि अनावश्यक संस्कार त्याग्नु जरुरी रहेको’ बताउनुभयो  ।

यसै गरी कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतम, पं. रामकृष्ण उपाध्यय, विश्वप्रेम भट्टराई, नारायणप्रसाद गौतमलगायतले आआफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यपत्र प्रस्तोताहरुको विचार मृत्युसंस्कार सुधार  गरिनु पर्नेमा थियो । तर, सहभागी अधिकांशको मतचाहिँ सुधार गर्नु नहुने पक्षमा थियो । अधिकांश विद्वानले मृत्यु संस्कार ३ दिन या ५ दिनमा झारिनु उपयुक्त हुने धारणा राख्नुभएको थियो ।