अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा राष्ट्रिय मातृभाषा कविता महोत्सव

वि.सं. २०७२ फागुन ९ गते नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा (मातृभाषा) तथा साहित्य (मातृभाषा) विभागको सक्रियातामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१६ को उपलक्ष्य पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७२’ को आयोजना गरेको थियो । विधिवत् रूपमा कार्यक्रमलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले लोपोन्मुख भाषाको जगेर्ना र विलुप्त भाषाको खोजी गर्नु सबैको साझा दायित्व रहेको बताउनु भयो । उहाँले आफ्नो सम्बोधनका क्रममा सबै मातृभाषाको संवर्र्धन र संरक्षणमा अब गठन हुने भाषा आयोगले योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा नेपालका लागि बङ्गला देशका राजदूत मास्फी बिन्ते साम्सले बङ्गाली भाषालाई मातृभाषामा रूपान्तरण गर्न खोज्दा तात्कालिक शासकले भाषा अनुरागीमाथि ज्यादती गरेको स्मरण गराउनु भएको थियो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हजारौँ भाषाभाषीको बलिदानबाट स्थापित अवसरलार्ई राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन सुरु गरेको ३७ वर्ष नाघि सके पनि नेपालले वि.सं. २०६८ देखि मात्र अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने परम्पराको थालनी गरेको बताउनु भयो । उपकुलपति डा.विष्णुविभु घिमिरेले नेपालमा विविध प्रकारका भाषा र संस्कृति भएकाले लोप हुन लागेका मातृभाषाको संरक्षण र अन्वेषण गर्ने जिम्मा प्रतिष्ठानको भएको विचार व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भयो । सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले आआफ्ना क्षेत्रबाट कार्यक्रममा भाग लिने सबैलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रमलाई अवसरका रूपमा लिन आग्रह गर्नु भयो ।

पूर्व कुलपति बैरागी काइँलाले नेपालमा बोलिने भाषा, संस्कृति र बसोबास क्षेत्रलाई सबैले अपनत्व महसुस गर्ने गरी आयोजित सो कार्यक्रम ज्यादै महत्वपूर्ण भएको भन्दै राष्ट्र बनाउने कार्यमा साहित्यकारको सहयोग हुने बताउनु भयो । उहाँले नेपालमा बोलिने सबै मातृभाषाको विकासमा समान दृष्टि पुग्नु पर्ने विचार व्यक्त गर्नु भयो । यसै गरी संयोजक प्राज्ञ श्रवण मुकारुङ्ले कार्यक्रमको औचित्यबारे आफ्नो धारणा यसरी प्रस्तुत गर्नु भयो— बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक पहिचान भएको हाम्रो मुलुकका सबै भाषालाई भर्खरै जारी संविधानले राष्ट्रभाषा मानेको छ । त्यसैले प्रज्ञा–प्रतिष्ठानले सबै भाषाको जर्गेना र विकास गर्नको निम्ति कार्य गर्ने छ भन्दै मातृभाषा कविता महोत्सव त्यसैको उदाहरण रहेको  बताउनु भयो । उहाँले ५४ भाषाका १०४ वटा कविता प्राप्त भएकोमा ५३ जना कविले आआफ्ना भाषामा कविता वाचन गर्ने पनि जानकारी गराउनु भयो । सो अवसरमा कलाकार मनु नेवाङले पालम गीत प्रस्तुत गर्नु भएको थियो ।
महोत्सवमा विभिन्न जातजाति एवम् मातृभाषी टोली नेताहरु रेशम गुरुङ (गुरुङ), राम गोपाल आशुतोष (नेवार) धिमे, गङ्गा माया धिमाल (धिमाल), ल्हाक्पा शेर्पा (शेर्पा), गोविन्द आङ्बुहाङ (लिम्बु), शोभा सुनुवार (सुनुवार), धावा वाङ्देल मोक्तान (तामाङ), तेज राना मगर (मगर), दीपक बान्तवा (राई), कृष्णराज सर्वहारी (थारु) र महेश हाडा (नेवार) लाखेका समूहका सहभागीहरुले बाजागाजाका साथ सांस्कृतिक झाँकी प्रस्तुत गरी सम्पन्न  गरिएको उक्त समारोहको दोस्रो चरण कविता वाचनबाट सुरु भएको थियो । कविता वाचन गर्ने कविहरुमा सविता कुमुदिनी (अवधी), मनोज आठपहरिया (आठपहरिया), गुलाम मुस्तफा नुरी (उर्दु), अञ्जु उराँव (उराँव), प्रदीप कुमार तामाङ (कागते, स्युँवा), भीम किसान (किसान), तिलक बहादुर कुमाल (कुमाल), अजय अलङ्कार (कुलुङ), चतुर्भुज केवरत (केवरत), समृद्धि अधिकारी (खस), गणेश कुमार राई (खालिङ), प्रितम गन्गाई (गन्गाई), गणेश बहादुर गुरुङ (गुरुङ), अनिता घले (घले), वाग आयाग्यामी यालुङछा (चाम्लिङ), टीकाभक्त जिरेल (जिरेल), उर्मिला पन्त पाण्डेय (डोटेली), पूर्णिमा ताजपुरिया (ताजपुरिया), मुक्तान थेबा (तामाङ), राम बहादुर थकाली (तिन गाउँले थकाली), सपना खुर्के थामी (थामी), भूमिका चौधरी (थारु), उदिम किराती (थुलुङ), सन्जा दनुवार (दनुवार), रूपेन्द्र राई (दुङ्माली), कीर्ति कुमार दुमी राई (दुमी), मुक्तिनाथ घिमिरे (दुरा), मोनालिसा धिमाल (धिमाल), प्रताप सिंह नाछिरिङ (नाछिरिङ), सुधीर ख्वबि (नेपाल भाषा), प्रवीण पुमा (पुमा), किशोर कुमार राई (फाङदुवाली), निवेश कुमार (बज्जिका), राजमार्ग (बझाङ्गी), रमा खड्का (बाजुरेली), शुक्र बान्तवा (बान्तवा), किशोर बाहिङ राई (बाहिङ), आनन्द गुप्ता (भोजपुरी), इर्धासी झाँक्री मगर (मगर खाम), रिम बाबु राना (मगर ढुट), ककुलती कुमारी महतो (मगही), टोमा लामा (मुगाल), भावना कुमारी झा (मैथिली), इन्दिरा जिमी (याक्खा), प्रितम कुमार राजवंशी (राजवंशी), अमित थेवे (लिम्बु), आङ्गेल लोवा, (ल्होपा, लोवा), साङबु नुप्पा ल्होमी (ल्होमी), झरना वाम्बुले (वाम्बुले), आङदावा शेर्पा (शेर्पा), चेरेहाम्सो क्याव (सुनुवार), लक्ष्मी एडी (हुम्ली), कन्जोक लामा (हुम्ली–भोटे लामा) रहनु भएको छ ।