अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी

वि.सं. २०७२ फागुन २८, २९ र ३० गते झापाको काँकरभिट्टामा त्रिदिवसीय अन्तर्राष्ट्रिय भाषा सङ्गोष्ठी सम्बद्ध विषयमा छलफल, कार्यपत्र प्रस्तुति, टिप्पणी र कविगोष्ठी समेत गरी सम्पन्न भएको थियो । उक्त सङ्गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु भएको थियो । भाषा विभाग प्रमुख प्रा.डा. हेमाङ्ग राज अधिकारीले संयोजन गर्नु भएको कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपकुलपति डा.विष्णुविभु घिमिरेले भाषामा देखिएको बेथिती र विवाद लामो समयसम्म राख्न नहुने बताउनु भयो । उहाँले भाषासँग संस्कृति जोडिने  हुँदा दुबैमा एकरूपता अपनाउन नसके नेपाली मर्न समय लाग्दैन भन्दै मान्छे मार्न हतियार होइन भाषा र संस्कृति लोप गरि दिए पुग्ने विचार राख्नु भयो । प्राज्ञ प्रा.डा.हेमाङ्ग राज अधिकारीले नेपाली भाषाको मानकीकरण, संवर्धन एवम् प्रवर्र्धन गर्न ढिला भइ सकेकाले अबका दिनमा भाषा, वर्ण र कोश प्रयोगमा विविधता नहुने गरी काम गर्न सङ्गोष्ठी आयोजना गरेको प्रस्ट पार्नु भयो । उहाँले लेख्य मानकका साथै  कथ्य मानक खोज्ने प्रयासमा रहेको र भिन्न स्थानमा बस्ने नेपाली भाषीबिच एकता खोज्ने प्रयासका रूपमा भारत, भुटान, बर्मा र नेपालको सङ्गम स्थान काँकरभिट्टा  बनेको जानकारी गराउनु भयो । यसै गरी प्रा.डा.चूडा मणि बन्धुले नेपाली भाषा मानकीकरणको सँघारमा आइ पुगेको बताउनु भयो । भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले नेपाली भाषाको नेतृत्व नेपालीले गर्नु पर्ने र नेपाली वर्ण विन्यासमा धेरै समय खर्चिइ सके पनि एकरूपता ल्याउन नसकेकाले अब ढिलो गर्न नहुने तर्क राख्नु भयो । सो कार्यक्रममा नेपालको राजधानी काठमाडौँ र पूर्वाञ्चल, भारतको असम, मेघालय, सिलिगुढी, सिक्किम, मणिपुर, दार्जिलिङ, भुटान र बर्माको म्यानमारमा बस्ने नेपाली भाषाका प्रबुद्धहरु विश्वभरि बोलिने र लेखिने नेपाली भाषामा एकरूपता ल्याउनु पर्नेमा एक हुनु भएको थियो । भारतको उत्तर बङ्गालबाट आएका प्राध्यापक कृष्णराज घतानीले बदलिँदो समाजमा नेपाली भाषाले कुन दिशा लिइ रहेको छ र त्यसले जन्माउने चुनौतीलाई कसरी समाधान गर्ने भन्नेमा समयमै निश्चित टुङ्गोमा पुग्नु पर्नेमा जोड दिनु भयो । नेपालको राजधानी काठमाडौँ र पूर्वाञ्चल,  असम, सिलिगुडी, सिक्किम, मणिपुर, दार्जिलिङका भारतीय भाषाविज्ञहरु भन्छन्, “नेपाली भाषामा जति शब्द भण्डार हिन्दीमा पनि छैन । त्यसैले हामीले नेपाली भाषाको महत्व बुझी त्यसमा समयमै एकरूपता ल्याउन सक्यौँ भने मात्र हामी भाषामा समेत धनी हुने छौँ ।”

साहित्य परिषद् सिक्किमका अध्यक्ष पारस मणि दङ्गालले भारतका विभिन्न स्थानमा नेपाली भाषाको प्रयोगमा विविधता हुने बताउनु भयो । उहाँका अनुसार आसाम र मणिपुरमा हेर्ने हो भने पनि त्यहाँ तिनै ठाउँमा स्थानीय भाषा प्रयोगको प्रभाव बढि रहेको पाइन्छ । उहाँले नेपाली भाषामा स्थानीय भाषा मिसिएकाले सङ्गोष्ठी निष्कर्षमा पुगेर मात्र नहुने त्यसको कार्यान्वयन पक्ष व्यापक र बलियो हुनु पर्नेमा जोड दिनु भयो । असम नेपाली साहित्य सभाका अध्यक्ष डम्बर दाहालले विश्वभर छरिएका नेपालीबिच भाषा, व्याकरण र कोशमा तालमेल हुनु जरुरी भइ सकेको बताउनु भयो । उहाँले यी कुरामा एकरूपता ल्याउन नेपाल र भारतलाई मात्र हेरेर नपुग्ने जिकिर गर्दै भन्नु भयो, “प्रज्ञा–प्रतिष्ठानले निकाल्ने शब्दकोशमा जहाँ जहाँ नेपाली बसेका छन् त्यहाँ त्यहाँ पुगी अनुसन्धान गरी समेटेर उक्त कोशलाई विश्वभर पु¥याउन सके मात्र एकरूपता आउन सक्छ ।”

भुटानका छत्रपति फँुयालले सञ्चार माध्यमले भाषाको प्रयोगमा तत्काल असर पर्ने भएकाले सञ्चारकर्मीलाई समय समयमा नेपाली भाषाको प्रयोगबारे प्रशिक्षण दिइ रहनु पर्नेमा जोड दिनु भयो । “विश्वभरका नेपाली बसेका ठाउँमा प्रयोग भएका आधारमा एकरूपता खोज्नु पर्छ नत्र बेलायत, अमेरिका लगायतका देशमा अङ्गे्रजीमा देखिएको दर्जनौँ उच्चारणको विविधता जस्तै हुने छ नेपाली भाषा”, उहाँको भनाइ रह्यो । सात बुँदे घोषणा पत्र जारी गर्दै तिन दिवसीय अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी आइत वार सम्पन्न भएको थियो । सङ्गोष्ठीमा ‘म्यानमार, भुटान, भारत तथा नेपालमा “नेपाली भाषा प्रयोगको वर्तमान अवस्था र सामाजिक भूमिका तथा मानकीकरण”सँग सम्बन्धित विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए । कार्यपत्र प्रस्तुत गर्नेहरुमा पहिलो दिनको पहिलो सत्रमा खेमराज नेपालबाट “असममा नेपाली भाषाको सामाजिक अवस्थितिः शिक्षा, सञ्चार, प्रकाशन र सामाजिक गतिविधिमा यसको प्रयोग र प्रचलन”, प्रा.डा.कृष्णराज घतानीको ‘पश्चिम बङ्गालमा नेपाली भाषाको विस्तार र सामाजिक भूमिका’नामक कार्यपत्रमाथि क्रमशः डा.देवी नेपाल र डा.गोकुल सिन्हाबाट टिप्पणी गरिएको थियो ।

यसै गरी दोस्रो दिनको पहिलो सत्रमा प्रा.डा. बद्री विशाल भट्टराईको ‘नेपाली भाषाको मानकीकरणमा शब्दकोश परम्परा’ र दोस्रो सत्रमा पारस मणि दङ्गालको ‘सिक्किममा नेपाली भाषाको विस्तार र सामाजिक भूमिका’ नामक कार्यपत्रमाथि क्रमशः कविराज न्यौपाने र ठाकुर पोखरेलले टिप्पणी गर्नु भयो । कार्यपत्र प्रस्तुतिकै क्रममा डा. घनश्याम नेपाल र सञ्जय बिष्टको संयुक्त कार्यपत्र ‘भारतमा नेपाली भाषाको मानकीकरणमा व्याकरण परम्परा’ र प्रा.डा.व्रतराज आचार्यको ‘नेपाली भाषाको मानकीकरणमा व्याकरण परम्परा’ नामको कार्यपत्रमाथि क्रमशः डा.खगेन शर्मा र प्रा.डा. टङ्क न्यौपानेले टिप्पणी गर्नु भयो । चूडामणि रेग्मी, प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईं र कृष्ण प्रसाद उप्रेतीले पनि आआफ्ना धारणा राख्नु भएको कार्यक्रमको दोस्रो दिनको पहिलो सत्रमा प्रा.डा. चूडामणि बन्धुको र अन्तिम दिन यज्ञराज प्रसाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने उद्घाटन सत्रको अध्यक्षता कृष्ण प्रसाद उप्रेतीले गर्नु भएको थियो । यसै गरी तेस्रो दिनको पहिलो सत्रमा प्राज्ञ प्रा.डा. हेमाङ्ग राज अधिकारीेले अध्यक्षता गर्नु भएको थियो ।

सहभागी ज्ञानेन्द्र खतिवडा, छत्रपति फुँयाल, डा. टेकनारायण उपाध्याय, खगेन शर्मा, कृष्ण सुवेदी निराकार, कविराज न्यौपाने, चूडामणि रेग्मी, खेम राज नेपाल, के. एन शर्मा, गोपी कृष्ण ढुङ्गाना, कृष्ण प्रसाद उप्रेती, मुक्ति उपाध्याय, भवानी शर्मा, डम्मर दाहाल, पारसमणि दङ्गाल, डा.देवी.नेपाल, प्रा.डा. व्रतराज आचार्य, देवकी देवी तिम्सिना, डा.खेमराज नेपाल, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. व्रतराज आचार्य आदिले आआफ्ना तर्फबाट कार्यपत्रमाथि जिज्ञासा राख्नु भएको गोष्ठीको अन्तिम दिन कविगोष्ठी समेत भएको थियो । कविगोष्ठीमा ज्ञानेन्द्र ढुङ्गाना, गोपाल सङ्ग्रौला, हरि न्यौपाने, पुण्यप्रसाद खरेल, परशुराम तिम्सिना, गोपीकृष्ण ढुङ्गाना, मेदिनी खरेल, तेराख, कमल न्यौपाने, भवानी प्रसाद शर्मा, मुक्ति उपाध्याय, भवानी अधिकारी, ज्ञानेन्द्र खतिवडा, युवराज काफ्ले, वासुदेव पुलामी, कृष्ण घतानी, टीकाराम निर्भीक, लीला अनमोल, मुनाराज शेर्पा लगायत दुई दर्जनभन्दा बढी कविले आफ्ना कविता, गजल आदि वाचन गर्नु भएको थियो । कार्यपत्र तथा सहभागीको प्रतिक्रियाका आधारमा नेपाली भाषाको विकासका लागि सात बुँदे घोषणा पत्र जारी भएको भाषाविद् प्रा.डा.बद्री विशाल भट्टराईले बताउनु भयो । उहाँले भन्नु भयो, “हामीले सबैको प्रतिक्रिया सुन्यौँ । त्यसैका आधारमा निम्नानुसारको काँकरभिट्टा घोषणा पत्र जारी भयो ।” गोष्ठीको समापन कार्यक्रममा बोल्दै भारतको पूर्वाेत्तर राज्य असमका साहित्यकार एवं असम नेपाली साहित्य सभाका सभापति डम्बर दाहालले तिन दिवसीय सङ्गोष्ठीले केही हदसम्म भए पनि विवाद हल गरेको बताउनु भयो । उहाँले भन्नु भयो, “भाषामा देखिएका जटिलतालाई यसरी नै समाधान गर्दै लैजाने हो । आगामी दिनमा पनि प्रज्ञा–प्रतिष्ठानले यस्ता सङ्गोष्ठीको आयोजना गरोस् ।” भाषाका अन्य ज्ञाताहरुले पनि नेपाली भाषाका जटिलतालाई सरलीकृत गर्ने प्रयासमा प्रज्ञा–प्रतिष्ठान लागि रहनु पर्ने बताउनु भएको थियो ।