दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन सम्पन्न

२०७६ असोज २८–३० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असोज २८ देखि ३० गतेसम्म राजधानीमा ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन–२०७६’ आयोजना गरियो । चीन तथा दक्षिण एसिया लिटरेचर फोरम’को संस्थापक सदस्य प्रज्ञा–प्रतिष्ठानले ‘अन्तर हिमालय साहित्य तथा सांस्कृतिक सञ्जाल’को ध्येयसहित आयोजना गरेको सम्मेलनमा नेपाल, चीन, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको थियो । अन्तिम अवस्था विशेष प्राविधिक कारणले भारत भने सम्मेलनमा सहभागी हुन सकेन । सन् २०१५ मा यी देशहरूका एकेडेमी सम्मिलित ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापना भएको थियो । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको छेन्दुमा भएको थियो । हरेक दुई वर्षमा कुनै एक देशले सम्मेलन आयोजना गर्ने सभाको अवधारणा रहेको छ ।
सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले विशेष समारोहमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । समारोलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एसिया सभ्यता विकासको जननी’ भएको दाबी गर्दै पूर्वीय दर्शन खुसीको आधार रहेको बताउनुभयो । “ज्योतिष विज्ञान, औषधि विज्ञानदेखि छन्द र सङ्गीतको सिर्जना यतै भए,” उहाँले भन्नुभयो– “अहिलेका ठूला र समृद्ध देशका मान्छे ढुङ्गा बोकेर सिकार खेल्दै गर्दा हाम्रा साहित्यकारहरू वेदको रचना गरिरहेका थिए, नाटक लेख्दै थिए, उपनिषद्को रचना गर्दै थिए । हामी बाजा बजाइराख्या हुन्थ्यौँ । चीनको सिल्क रोडको निर्माण पनि उतिबेलै भएको हो ।”
न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनुअघि नै भाष्कराचार्यले यो नियम पत्ता लगाएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– “उनीहरूले प्रचार–प्रसार गरेर हाम्रा पुर्खाले पत्ता लगाएको ज्ञान ओझेल पारे ।
अहिले हामी पुर्खाहरूले निर्माण गरेका तिनै गौरवपूर्ण ज्ञान र सभ्यता बिर्सिंदै अघि बढिरहेका छौँ । यो बढो चिन्ताको विषय हो ।” उहाँले पूर्वीय सभ्यताको विकास र आविष्कारले विश्वलाई लोभलाग्दो बाटो देखाएको बताउँदै सामाजिक सञ्जाल र पश्चिमी संस्कृतिको प्रभावले मौलिक सभ्यता सङ्कटमा पर्दैगएको जनाउनुभयो । उहाँले पत्रकारहरूले अङ्ग्रेजी ‘यु’ (तिमी) को सिको गर्दै ‘बाउलाई पनि तिमी सम्बोधन गर्ने’ भाषा सिकाइरहेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका संरक्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल ज्ञान, विज्ञान र अध्यात्मको उर्वरभूमि रहेको विचार व्यक्त गर्नुभयो । उहाँले नालन्दजस्तो पहिलो विश्वविद्यालय दक्षिण एसियामै स्थापना भएको उल्लेख गर्दै नेपालले आफ्ना मौलिक साहित्य, कला र संस्कृतिको जगेर्ना गरी विश्वलाई देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाल प्राकृति, आध्यात्मिक तथा साहित्यिक पर्यटनको केन्द्र बन्न सक्छ ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन र दक्षिण एसियाली मुलुकमा समान साहित्यिक र सांस्कृतिक आधारहरू खोज्न सम्मेलनले सघाउने दाबी गर्नुभयो । कुलपति उप्रेतीले एसिया आउने दिनहरूमा वैश्विक बौद्धिक र सांस्कृतिक शासन केन्द्र हुनसक्ने बताउनुभयो ।
समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सले सम्मेलनको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सम्मेलनमा सहभागी हुन आउनुभएका स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा सोही दिन साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, सङ्गीत तथा नृत्यले विदेशी पाहुनामाझ नेपाल कला संस्कृतिमा निकै धनी भएको प्रतीत गरेको थियो । पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो । सांस्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने साहित्य अनुरागीको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एसियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो ।  उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भावना केसीले गर्नुभएको थियो ।
गोष्ठी सत्र
सम्मलेनको पहिलो दिन उद्घाटन समारोहपछि गोष्ठी सत्र आरम्भ भएको थियो । पहिलो गोष्ठी सत्रमा नेपालका तर्फबाट कार्यपत्र पेस गर्दै प्रा.डा. गोविन्दराज भट्टराईले ‘नेपाली साहित्यमा लामो समयदेखि तिब्बत तथा चीनका विषयहरू आएको र कैयौँ कृति त्यतैको यात्राबाट सिर्जना भएको’ बताउनुभयो । लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’को चर्चा गर्दै उहाँले अहिले खाडी मुलुकमा झैँ कुनै बेला रोजगारीका लागि नेपाली युवाहरू ल्हासा जानुपर्ने अवस्थालाई खण्डकाव्यले चित्रण गरेको बताउनुभयो । त्यस्तै डोरबहादुर विष्टको उपन्यास ‘सोताला’, गङ्गाप्रसाद उप्रेतीको ‘तिब्बतमा दस दिन’ जस्ता थुप्रै कृतिमा तिब्बतको बयान र विषय आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले डा. तुलसी भट्टराईको ‘संसारको छानामा महाकवि’ लगायतका कृतिहरूले पनि दुईदेशीय सम्बन्धलाई मजबुत पारेको दाबी गर्नुभयो ।
बङ्गलादेशका अनुवादक मेहबुबा रहमानले भने साहित्यमा अन्तरक्रियात्मक कार्यलाई अगाडि बढाउन एकअर्काको साहित्य विभिन्न भाषामा अनुवाद हुनुपर्ने बताउनुभयो । “अनुवाद नै सञ्चारको कला हो” उहाँले भन्नुभयो– “यसले अनेक भाषा र संस्कृति आधारित समाजलाई जोडिदिन्छ ।” चीनका उपन्यासकार ली सिआयोतोङले ‘अन्तरहिमाली संस्कृति र साहित्यको प्रवर्द्धनका लागि आधुनिकता र विकासलाई जोड दिनुपर्ने’ औँल्याउनुभयो भने पाकिस्तानका लेखक तथा कवि खालिद मसुद खानले ‘मुलुकहरूबिच साहित्य र संस्कृतिको आदान प्रदानमा लोकसाहित्य र भाषाजस्ता संवेदनशील पक्षलाई जोड दिनुपर्ने’ औँल्याउनुभयो ।
गोष्ठीसत्र चीनकी लु मीनले गोष्ठीको सहजीकरण गर्नुभएको थियो ।
०००
दोस्रो दिनको पहिलो सत्र प्रा.डा. मोहनप्रसाद लोहनीले सहजीकरण गर्नुभएको सत्रमा श्रीलङ्काका विमल उदय हापुगोदाराची, चीनकी सुश्री लु मीन, बङ्गलादेशका मोहम्मद अकबर हुसेन र नेपालका प्रा.डा. योगेन्द्रप्रसाद यादवले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
हापुगोदारचीले समुद्री सिल्क रोडको किनारमा रहेको चीन र श्रीलङ्काको सांस्कृतिक सम्पदाबिचको सम्बन्ध जोड्ने लिङ्कको रूपमा काम गरेको उल्लेख गर्नुभयो ।
लु मिनले आफ्नो कार्यपत्रमा ‘एउटा टेबल र दुई कुर्सीबाट अनन्त सम्भाव्यता’ले दक्षिणी चीनको याबलन्जे नदीको किनारमा प्रचलित ६ सय वर्ष पुरानो ओपेरा कुन क्यू ओपेराको सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभयो । बङ्गलादेशका मोहम्मद अकबर हुसेनले ‘बङ्गला संस्कृतिको विकासमा नेपाली सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
नेपालका तर्फबाट प्रा.डा. योगेन्द्रप्रसाद यादवले ‘दक्षिण एसिया र चीनमा भाषिक विविधताः नेपालको अवस्था’ बारे प्रत्र प्रस्तुत गर्नुभयो ।
दोस्रो  सत्र
अर्को सत्रमा नेपालका तर्फबाट प्रा.डा. अभि सुवेदी, माल्दिभ्सका तर्फबाट श्रीमती रफिया अब्दुल गदिर र चीनका तर्फबाट ली कियानले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभयो । यो सत्र श्रीलङ्काबाट आउनुभएका डा. सुनील विजिसिर्र्डेनले सहजीकरण गर्नुभएको थियो ।
डा. सुवेदीले ‘ट्रान्स हिमालयन क्लासिक्स एण्ड पोएटिक हेरिटेज’ प्रस्तुत गर्दै भारतीय क्षेत्र र चीनको महाकाव्य परम्परालाई विश्लेषण् गर्नुभयो । सुश्री रफियाले लोक परम्पराका बारेमा एउटा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशहरूको लोककथा र लोकसंस्कृतिको अनुसन्धान र माल्दिभ्सको सन्दर्भ प्रस्तुत गर्नुभयो ।
उक्त दिनको अन्तिम पत्र प्रस्तोता चीनका ली कियानले ‘साहित्यिक अनुवादलाई सुदृढ पार्दै सभ्यताको आदान प्रदान’ विषय उठाउनुभयो ।

अन्तिम दिनको सत्र
सम्मेलनको समापन काठमाडौँको चन्द्रागिरि हिल्समा सम्पन्न भयो । उक्त दिनको पहिलो सत्रको सञ्चालन माल्दिभ्सका रफिया अब्दुल गदिरले गर्नुभएको थियो ।  सो सत्रमा पाकिस्तानका मुहम्मद हसन हसरत, चीनका सुश्री झाउ जुआनपु र नेपालका प्रा.डा. अम्मराज जोशीले क्रमशः आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पर्यटन बोर्डका प्रवन्धक सुनील शर्माले पर्यटन वर्षलाई नै लक्षित गर्दै नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदा तथा भौगोलिक अवस्थालाई समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पाकिस्तानका लेखक महम्मद हसन हसरतले पाकिस्तानको बल्टी साहित्य र संस्कृतिलाई समेटेर ‘कल्चरल हेरिटेज इन ट्रान्स हिमालयन जोन विथ रिफ्रेन्स टु बल्टी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चीनकी झोउले ‘मेरो गृहनगरबाट लेखिएका लेखहरू’ र जोशीले ‘नेपाली लोवार्ता बुद्धिको अनुनाद मिररिंग मोलाइज मोटिफ्स’ शीर्षकमा नेपालको व्यापक भाषिक र लोकसांस्कृतिक परिदृश्यमा पाइने लोककथाको विविधताबारे प्रकाश पार्नुभएको थियो ।
०००

असोज ३० गते चन्द्रागिरिमा ६ बुँदे काठमाडौँ घोाषणापत्र जारी गर्दै ऐतिहासिक दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन–२०१९’ समापन भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन तथा दक्षिण एसियाली स्रष्टाहरूबिच विभिन्न साहित्य भेला र जमघटलाई बढावा दिइने, आगामी सम्मेलनमा तथा सभामा युगल सिर्जनात्मक कार्य प्रस्तुितलाई जोड दिइने, क्षेत्रीय स्तरमा सिर्जनात्मक लेखन, अनुवाद, भाषा सिकाइजस्ता कार्यशाला गरिने, आगामी २ वर्षमा अर्को साहित्य सम्मेलन गरिनेजस्ता ६ बुँदे घोषणापत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनले एसियाली मुलुकहरूबिच आपसी विचार, भावना र अनुभवको साटासाट भई एकअर्काका साहित्यलाई नजिकबाट नियाल्ने अवसर मिलेको उप्रेतीले दाबी गर्नुभयो ।