प्राज्ञसभाको ३४ औँ बैठकः पृथ्वी प्रज्ञा पुरस्कारसहित विभिन्न प्रज्ञा पुरस्कारको निर्णय

२०७६ भदौ ३१ गते, मङगलबार, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३४ औँ प्राज्ञसभा बैठक भदौ ३१ गते, मङ्गलबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा बस्यो । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पानसमा दीप प्रज्वलन गरी पुस्तकालय सभा कक्षमा आयोजित विशेष समारोहका बिच समुद्घाटन गर्नुभएको प्राज्ञसभाको बन्दसत्रको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । बैठकले प्रज्ञा–प्रतिष्ठानबाट चार चार वर्षमा दिँदै आएको चार लाख रूपैयाँ राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ (२०७६÷२०७८) का लागि वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी विभिन्न प्रज्ञा पुरस्कारको पनि निर्णय गरेको छ ।
प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार’ २०७५÷२०७६ का लागि प्रा.डा. त्रिरत्न मानन्धरलाई र दुई दुई वर्षमा दिइने ‘नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार’ २०७५÷२०७६ का लागि प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरिने निर्णय गरिएको छ ।
यस्तै, प्रत्येक वर्षमा प्रदान गरिने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ २०७५ मदन रेग्मीलाई, २०७६ का लागि भागीरथी श्रेष्ठलाई दिइने भएको छ भने पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य), २०७६ का लागि अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा–साहित्य), २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य)लाई प्रदान गरिने निर्णय गरिएको छ । यी पुरस्कारको राशि नगद एक लाख रूपैयाँ रहेको छ ।
प्राज्ञसभाको बैठकमा महोत्तरीका महेश्वर राय र दाङका डा. गोविन्द आचार्य अस्वस्थ भएका कारण उपस्थित हुनुभएन । अर्का प्राज्ञसभा सदस्य डा. विजय दत्तले मेधसी आयोगको अध्यक्षमा मनोनित भएपछि राजीनामा दिनुभएका कारण हाल प्राज्ञसभा सदस्यको एक पद रिक्त रहेको छ ।
बैठकमा सदस्य सचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदन गहन छलफल गरी पारित गरिएको थियो । प्रस्तावको छलफलमा प्राज्ञसभा सदस्यहरू सूर्यबहादुर खड्का विखर्ची, रमा शर्मा, विवश पोखरेल, हरिश्चन्द्र लावती, आर.डि. प्रभास चटौत, प्रा.डा. गोपाल पोखरेल ‘विवश’, प्रा. केशव सुवेदी, वीणा सिन्हा, राम विनय, नन्दु उप्रेती, डा. हरिदत्त पाण्डेय, सुभद्रा भट्टराई, लक्ष्मी उप्रेती, हरिप्रसाद तिमिल्सिनाले बोल्नुभएको थियो ।

तीन नयाँ पुरस्कार स्थापना
यसै गरी प्राज्ञसभाको बैठकले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली भाषा–साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिने गरी ‘नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’, नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिने गरी ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ स्थापना गर्ने निर्णय गरिएको हो । यी पुरस्कारको राशि नगद एक एक लाख रूपैयाँ रहने छ । यसरी नै अध्ययन–अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिने गरी तीन हजार अमेरिकी डलरको ‘नेपाल प्रज्ञालङ्कार पुरस्कार’ स्थापना गर्ने समेत निर्णय गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभाका अध्यक्ष तथा कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञसभाको ३४ औँ बैठकले उक्त निर्णय गरेको हो । प्राज्ञसभाको उक्त बैठकले गत आ.व.को बजेट अनुमोदन गर्नुका र आगामी आ.व. २०७६÷२०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारित गर्नुका साथै विनियोजित २३ करोड सात लाख ३३ हजार रकम बजेट पारित गरेको छ । यसै गरी बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठान नियमावली–२०६७ (संशोधनसहित)को परिच्छेद ७ को नियम तथा उपनियम ३० लाई संशोधन गरेको छ । यो उपत्यकाभित्र स्थायी घरवास नभएका पदाधिकारीलाई घरभाडाबापत उपलब्ध गराइने सुविधासम्बन्धी नियम हो । उक्त बैठकले प्रज्ञा सेवा आयोग सदस्यमा प्राज्ञपरिषद्द्वारा मनोनित प्राज्ञसभा सदस्य प्रा. केशव सुवेदीको मनोनयलाई अनुमोदनसमेत गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानको ३४ औँ प्राज्ञसभालाई शुभकामना सन्देश पठाई प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्ति र प्रतिभाका लागि स्वतन्त्रता र अवसर सुनिश्चित गर्न लामो समयको त्याग र बलिदानबाट स्थापित व्यवस्थानुकूल इतिहास लेखनको प्राज्ञिक पहल र अग्रसरता राष्ट्रले अपेक्षा गरेकाले सो योजनाका लागि रकम प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विश्वमै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म, दर्शनलगायत ज्ञान, विज्ञानको उद्गम भूमिको गौरवप्राप्त नेपालको चिन्तन परम्परालाई यहाँको विद्यमान भौगोलिक प्राकृतिक विविधताका साथै समानता, स्वतन्त्रता, मानवता, भातृत्व, विश्वबन्धुत्व, सद्भावपूर्ण सहअस्तित्व, शान्ति, समृद्धि र सुखको स्पष्ट मार्गचित्र कोर्न वर्तमान पुस्तासँग परिचित गराउन आवश्यक भएको उल्लेख गर्नुभएको छ । उहाँले विश्वका समकालीन प्रवृत्तिसँग नेपाली प्राज्ञिक जगत्लाई अद्यावधिक राख्न चलिआएका प्रयत्नलाई अझै प्रभावकारी बनाउन जोड दिनुभएको थियो । प्रधानमन्त्रीको लिखित सन्देश सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले समुद्घाटन समारोहमा वाचन गर्नुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानको गौरवपूर्ण योजनामा सरकारले बजेट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ठूला ठूला विकासका आयोजनामा सरकारले महत्व दिएपनि  वाङ्मय क्षेत्रलाई पनि उचित सम्बोधन गर्ने बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानलाई पूर्वीय वाङ्मय, सभ्यता र अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– “वाङ्मय  क्षेत्र नाफाको क्षेत्र होइन तर राज्यका लागि यो नभई हुँदैन । यसको उचित संरक्षण र संवद्र्धन गर्न सरकार संवेदनशील छ ।” कतिपय तत्वले नेपाली संस्कृतिलाई केही तत्वहरूले उछृङ्खलतातर्फ धकेल्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसलाई प्राज्ञिक जगत्ले सृजना र लेखनका माध्यमबाट प्रतिरोध गर्नुपर्ने आवश्यकता भएको उल्लेख गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वाङ्मय क्षेत्रमा हालसम्म राष्ट्रिय गौरवका आयोजना नभएको अवस्थमा प्रज्ञा–प्रतिष्ठानले अघि सारेको ‘नेपाल दर्पण’ ग्रन्थ प्रकाशनको योजनामा सरकारले सघाउने विश्वास दिएपछि काम गर्ने ऊर्जा मिलेको बताउनुभयो । उहाँले वाङ्मय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशलाई चिनाउने ग्रन्थ प्रकाशन गरिने बताउनुभयो । उहाँले सरकारले दिएको जिम्मेवारीअनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार गरिने र आगामी महिना हिमवत् खण्डका नौ मुलुकका प्राज्ञिक निकायको सहभागितामा ‘चाइना साउथ एसिया लिटरेचर फोरम’को दोस्रो सम्मेलन गरेर ज्ञानको साझा क्षेत्रमा सहकार्य बढाउने बताउनुभयो ।
उपकुलपति डा. जगमान गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय गौरवको आयोजनाकै रूपमा देशका सबै प्रदेशका भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, सभ्यता, परम्परालगायतका विषयलाई समेटेर ‘नेपाल दर्पण’ ग्रन्थ प्रज्ञा–प्रतिष्ठानले अघि सारको राष्ट्रिय गौरव भएकाले त्यसका लागि सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले स्थापनाकालीन उद्देश्यअनुरुप काम गरिरहेको उल्लेख गर्दैै प्राचीन सभ्यताको उद्गम स्थल नेपाल नै भएको र देशका सबै प्रदेशका भूगोल, जाति, परम्परा, सभ्यता, संस्कृति आदि विषयबारे खोज–अनुसन्धानसहित सातवटा ग्रन्थ र त्यसको सारसहितको ‘नेपाल दर्पण’ ग्रन्थ र नेपालमा जन्मेका दर्शनहरूलाई एकीकृत गरी ‘नेपाली दर्शन’ प्रकाशन गरी त्यसलाई अङ्ग्रेजीमासमेत अनुवाद गर्ने लक्ष्य राखिएको जनाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला ज्ञानका स्रोतहरूलाई समाजका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न स्रष्टाहरूको पनि महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायतले सभाको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रम सन्ध्या पहाडीले सञ्चालन गर्नुभएको थियो ।