‘थाय्भु’ सार्वजनिक तथा स्रष्टा भेटघाट

२०७६ असार २६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभागद्वारा स्रष्टा भेटघाट कार्यक्रमको आयोजना गरियो । विभागद्वारा प्रकाशित नेपाल भाषाको वार्षिक साहित्यिक पत्रिका ‘थाय्भु’को दशौँ अङ्क सार्वजनिकीकरणसहित स्रष्टा भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुलतालाई सम्बोधन गर्ने प्रज्ञा–प्रतिष्ठानको नीतिअनुसार ‘थाय्भु’ प्रकाशित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “‘थायभु’लाई कसरी पठनीय र सङ्ग्रहणीय बनाउन सकिन्छ ? कसरी वार्षिकबाट अर्धवार्षिक वा त्रैमासिक बनाउन सकिन्छ, त्यसतर्फ सम्बन्धित भाषाका स्रष्टाहरूबाट रचनात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा हामीले गरेका छौँ ।”
उपकुलपति डा. जगमान गुरुङले स्रष्टाहरूले संवेदनशील कुराहरूलाई लेख्दा होस पु¥याउनुपर्ने विचार व्यक्त गर्दै ‘थाय्भु’को प्रकाशनले नेपाल भाषाको साहित्यको समृद्धिमा महत्त्वपूर्ण सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘थाय्भु’को अर्थ चौरासी व्यञ्जनको परिकार तयार पारिएको थाली भन्ने कुरा आफूले मातृभाषा साहित्य विभाग प्रमुखबाट आजैमात्र थाहा पाएको सुनाउँदै पत्रिका प्रकाशन भएको अवसरमा लेखकलाई पत्रिका र पारिश्रमिक प्रदान गर्नुका साथै भेटघाटसमेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यसो गर्दा लेखकले कहिले पत्रिका प्रकाशित भयो ? पारिश्रमिक आयो आएन ? भनेर बेहोर्नु पर्ने झन्झट यसले समाधान गर्ने उल्लेख गर्दै अन्य विभागले पनि यस कुरालाई अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो ।
कर्यक्रमकी अध्यक्ष मातृभाषा साहित्य विभाग प्रमुख एवम् ‘थाय्भु’ पत्रिकाकी प्रधान सम्पादक प्राज्ञ लक्ष्मी मालीले पत्रिकालाई गुणस्तरीय, पठनीय र सङ्ग्रहणीय बनाउने कोसिस गरिएको बताउनुभयो । उहाँले पत्रिकाका सम्पादक मण्डल सदस्य, कार्यकारी सम्पादक र सम्बन्धित स्रष्टा, लेखकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नेपाल भाषा साहित्यको विकासका लागि आफ्नो विभागले महत्त्वका साथ काम गरिरहेको सुनाउनुभयो ।
कार्यक्रममा लेखक÷स्रष्टाहरूका तर्फबाट मल्ल के सुन्दरले बोल्नुभएको थियो । उहाँले देशमा प्रजातन्त्रको बहाली र अभिव्यक्ति स्वतन्त्रताका लागि नेपाल भाषाका स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको स्मरण गर्दै समृद्ध परम्परा भएको नेपाल भाषा साहित्यको संरक्षण र प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठानले गरिरहेको कार्य प्रशंसनीय रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रम शशीकला मानन्धरले सञ्चालन गर्नुभएको थियो ।