‘मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’

२०७६ असार १६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र मानववादी सङ्घ (सोच) नेपालद्वारा संयुक्त रूपमा प्रज्ञा भवनमा ‘विश्वमा मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक दर्शन–विचार गोष्ठीको आयोजना गरियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान हरेक क्षेत्रमा खोज–अनुसन्धानमा लागेको उल्लेख गर्नुहुँदै हाम्रो दर्शन, इतिहास, सिर्जना र धर्मको सामथ्र्यले विश्वमा पारेको प्रभावबारे सघन छलफल गरिनु पर्छ भनेर यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘नेपाली दर्शनका धारामा कुन–कुनलाई समावेश गर्ने ? विश्व जगतमा दर्शनका क्षेत्रमा हाम्रो स्थान के छ ?’ भन्ने निष्कर्ष निकाल्नका लागि पनि गोष्ठी आयोजना गरिएको उहाँको जिकिर थियो । कुलपतिले भन्नुभयो, “हामीले आफ्नो सामथ्र्यअनुसार नेपाली दर्शनलाई बुझ्न लागेका छौँ । योग र ध्यानको प्रस्थान विन्दु पनि नेपाल हो । योग मानव स्वास्थ्यका लागि महत्वपूर्ण चिज हो । यही कुरालाई आत्मसात गर्दै प्रतिष्ठानले अर्को साता योग दर्शन, जीवनशैली र स्वास्थ्यका बारेमा बहस गर्दैछ ।” प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले मानवतावादी दर्शनका प्रणेता नेपालकै भएकोमा गर्व लागेको उल्लेख गर्दै आम नेपालीको दुःख–दर्द हटाउन शिक्षा र सत्कर्म किन आवश्यक छ भन्ने कुरा जयपृथ्वीबहादुरको सोच र व्यवहारबाट सिक्न सकिने धारणा व्यक्त गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले जयपृथ्वीबहादुर सिंहमा राजसी नभएर जनताप्रति उत्तरदायी स्वाभाव भएकाले नै उहाँ मानवतावादी दर्शन लिएर जनजागरणमा लागेको विचार व्यक्त गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका दर्शन विभाग प्रमुख तथा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै वैदिकालदेखि नै नेपालमा विभिन्न दर्शनको उत्पत्ति र विकास भएको बताउनुभयो । उहाँले दर्शन विभागले पचास वटा जति शीर्षकलाई समेटेर ‘नेपाली दर्शन’ नामक पुस्तक तयारी गरिरहेको सुनाउनुभयो । “त्यसलाई पछि अङ्ग्रेजी भाषामा समेत अनूदित गरी विश्वमा पु¥याइने उद्देश्य छ ।”

सोचका अध्यक्ष बालकृष्ण श्रेष्ठले गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहबारे फलदायी छलफल भएको बताउनुभयो । गोष्ठीमा डा. खगेन्द्र प्रसार्इंले ‘मानववाद, बुद्ध र आलोचनात्मक चेतना’ शीर्षक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै डा. प्रसाईंले मानववादको पृष्ठभूमि नेपाल रहेको उल्लेख गर्नुभयो । उहाँले बुद्ध दर्शनमा अलौकिकता नभएर लौकिक चिन्तन पाइने बताउनुभयो । “तथापि बुद्धका कतिपय सोचाइहरू रहस्यात्मक पनि छन्” उहाँले थप्नुभयो । प्रा.डा. नन्दबहादुर सिंहले ‘विश्वमा मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै जयपृथ्वीबहादुर सिंह दोस्रो गौतम बुद्ध भएको विचार व्यक्त गर्नुभयो । “बझाङमा जन्मिएर राजकाज छाडेर मानवतावादमा लागेको व्यक्ति नेपालमा मैले अर्को देखेको छैन” सिंहले भन्नुभयो, “विश्व मानवतावादी आन्दोलनमा जयपृथ्वीबहादुर सिंहको अनुपम योगदान छ ।” मानवतावाद विश्वमा मानिएका तीन सय दर्शनमध्ये एक भएको उल्लेख गर्दै उहाँले पश्चिमाभन्दा एक दुई वर्ष पहिले सिंहले मानवतावादको थालनी गरेको जिकिर गर्नुभयो । उहाँले अर्काको भलाइका निम्ति समर्पित हुनु नै मानवतावाद भएको धारणा प्रकट गर्नुभयो । चाल्स फ्रान्सिसले १९२९ मा अमेरिकामा र सिंहले भारतमा पहिलो मानवतावादी संस्था खोल्नुभएको थियो । प्रस्तुत कार्यपत्रहरूमाथि प्रज्ञा डा. देवी नेपाल, विष्णु प्रभात, डा. गोविन्द उपाध्याय, दामोदर पुडासैनी ‘किशोर’, तोयानाथ भट्टराई, डा. युपी धमला, इ. राजकाजी रञ्जित, नवराज खतिवडा, विमल फुयाँल, रामदेव पाण्डे, मीनबहादुर सिंह, रमेश पौडेल, विपिन श्रेष्ठ, सीता ओझा लगायतले जिज्ञासा र विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सोचका निर्देशक उत्तम निरौलाले सञ्चालन गर्नुभएको थियो ।