नेपाली महिला आख्यानमा नारी चिन्तन

२०७५ फागुन २१ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, आख्यान विभाग र गुञ्जन परिवारद्वारा संयुक्त रूपमा आयोजित विचार गोष्ठीमा नारी चिन्तन गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अहिले नेपाली नारीहरूमा चेतनाको तीब्र विकास भइरहेको विचार व्यक्त गर्नुभयो । उपकुलपति डा. गुरुङले भन्नुभयो, “आजका नारी कोही पुरुषभन्दा कम छैनन् । आज कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि समीक्षा गर्ने सबै सशक्त छन् । विद्धताले भरिपूर्ण छन् ।”
कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी भद्रकुमारी घलेले नेपालका नारीहरू पुरुषभन्दा कुनै हालतमा कमजोर नरहेको भन्दै आफ्नो अधिकारको लागि नारीहरू आफैँ अगाडि बढ्नु स्वागतयोग्य कुरा भएको धारणा राख्नुभयो ।
प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले आजका नारीहरू सचेत भएको उल्लेख गर्दै आफ्नो हक र अधिकारको खोजी गर्न र गलत कुराको प्रतिवाद गर्न उनीहरू सक्षम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मिटु अभियान यसैको पछिल्लो स्वरुप हो ।”
गोष्ठीमा कुमारी लामाले ‘नेपाली महिला आख्यानमा नारी चिन्तन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै योगमायाबाट आरम्भ भएको नारी चेतना अहिले सशक्त ढङ्गबाट प्रकट अगाडि बढिरहेको बताउनुभयो । उहाँले अहिलेका महिला कथाकारका कथाहरूमा नारी चिन्तन प्रचुरमात्रामा मुखरित भइरहेको दाबी गर्नुभयो । लामाको कार्यपत्रमाथि डा. विन्दु शर्माले समीक्षा गर्नुभएको थियो ।
इतिहास पुराणाचार्य सुश्री सरस्वती चौलागाईं र साहित्याचार्य सुश्री गार्गी चौलागाईंद्वारा मङ्गलाचरण पाठ गरी आरम्भ भएको कार्यक्रममा गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, डा. रजनी ढकाल र उपमा आचार्यले कार्यक्रमको उद्देश्य र गुञ्जनको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।