सपथ ग्रहण, पाकिस्तानी पुस्तक लोकार्पण र लेखनाथ जयन्ती आयोजित

२०७५ पौष २९ गते आइतवारका दिन प्रज्ञा भवनमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञ सभा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । कुलपति गंगाप्रसाद उप्रेतीले २४ जना प्राज्ञ सभा सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको हो । पौष १ गते सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति, प्राज्ञ परिषद् सदस्यसहित प्राज्ञ सभा सदस्यहरूको मनोनयन गरेको थियो ।

सरकारद्वारा मनोनित उपकुलपतिमा डा. जगमान गुरुङ र प्राज्ञ परिषद् सदस्यहरूमा प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्र्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपालले पौष २ गते नै कुलपतिबाट सपथ ग्रहण गरिसक्नुभएको छ ।
प्राज्ञ मनोयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा गठित प्रा.डा. मोहन लोहनी र प्रा.डा. कैलाशनाथ प्याकुरेल सदस्य रहेको प्राज्ञ सिफारिस समितिको मंसिर २७ गते बसेको बैठकले प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्राज्ञ मनोनयनका लागि सिफारिस गरेको थियो । कुलपति र सदस्य सचिवमा गंगाप्रसाद उप्रेती र जगत्प्रसाद उपाध्यायलाई असोज २१ गते नै सरकारले नियुक्त गरिएको थियो ।
२४ सदस्यीय प्राज्ञ सभामा प्रा. केशव सुवेदी, रमा शर्मा, राम विनय, प्रा.डा. खेम कोइराला ‘बन्धु’, प्रा.डा. गोपालप्रसाद पोखरेल ‘विवश’, प्रा.डा. कपिल लामिछाने, आरडी प्रभास चटौत, हरिप्रसाद तिमिल्सिना, शशी लुमुम्बू, विवश पोखरेल, ध्रुव मधिकर्मी, रामबाबु सुवेदी, डा. विजयकुमार दत्त, डा. रजनी ढकाल, डा. गीता त्रिपाठी, डा. हरिदत्त पाण्डे, लक्ष्मी उप्रेती, डा. गोविन्द आचार्य, नन्दुप्रसाद उप्रेती, महेश्वर राय, हरिशचन्द्र लावती, सुभद्रा भट्टराई, विणा सिन्हा र सूर्य खड्का विखर्ची रहनुभएको छ ।
नवनियुक्त प्राज्ञ सभा सदस्यहरूलाई सपथ ग्रहण गराउँदै कुलपति उप्रेतीले प्राज्ञ सभा प्रज्ञा–प्रतिष्ठानको सर्वोच्च निकाय भएको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठानका समग्र गतिविधि र कार्यलाई प्रभावकारी, सिर्जनशील र गतिशील बनाउन प्राज्ञ सभा सदस्यहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
‘पाकिस्तानी महिला लेखन’ लोकार्पित
सोही दिन प्रज्ञा भवनको लेखनाथ प्रवचन कक्षमा आयोजित अर्को कार्यक्रममा माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कुलपति गंगाप्रसाद उप्रेती, नेपालका लागि पाकिस्तानका महामहिम राजदूत डा. मजहर जाबेद र प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तकको लोकार्पण गर्नुभयो ।
कार्यक्रममा मन्त्री ज्ञवालीले महिला लेखकको दोहोरो जिम्मेवारी हुने बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानका बिचमा निकटता ल्याउन धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भन्नुभयो, “पाकिस्तानी साहित्य गजल र सायरीका कारण पनि धेरै चर्चित । साथै भाषा, साहित्य र कलाले नेपाल र पाकिस्तानका नागरिकका बिचमा सुमधुर सम्बन्ध कायम गरिरहेको छ ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले ‘पाकिस्तानी महिला लेखन’ महत्वपूर्ण पुस्तक भएको र उक्त पुस्तक नेपाली भाषामा उल्था हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले पाकिस्तान एकेडेमी अफ लेटर्सको प्रस्तावमा पुस्तक नेपाली भाषामा उल्था गरिएको बताउनुभयो ।
कुलपतिले साहित्यिक आदान प्रदान अन्तर्गत पाकिस्तानका पाँच भाषामा अनूदित गरी नेपाली कविताको एन्थोलोजी ‘भ्याइस अफ नेपाल’ प्रकाशित हुने सुनाउँदै भन्नुभयो, “उक्त एन्थोलोजीमा नेपालका धरणीधर कोइरालादेखि शशी लुमुम्बूसम्मका कविहरू समेटिने छन् । अनुवाद तथा प्रकाशनका लागि कविताहरू छनौट गरिएको र उक्त पाण्डुलिपि माघ ३ गते पाकिस्तानको राजधानी स्लामवादमा पाकिस्तान एकेडेमी अफ लेटर्सलाई हस्तान्तरण गरिने कार्यक्रम छ ।”
कुलपति उप्रेती पाकिस्तान एकेडेमी अफ लेटर्सको निमन्त्रणामा यही माघ १ गते एक साता लामो भ्रमणका लागि मकालु प्रकाशन गृहका निर्देशक वासुदेव ढकाल र प्रतिष्ठानका कर्मचारी रविन्द्र तिमल्सिनाका साथ पाकिस्तान जाने कार्यक्रम रहेको छ । एक वर्षअघि काठमाडौँमा प्राज्ञिक तथा सांस्कृतिक आदान प्रदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबिच सम्झौता भएको थियो ।
लोकार्पण समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जाबेदले नेपाल र पाकिस्तानबिचको सम्बन्ध सुमधुर बनाउन साहित्य एवम् कलाले सिर्जनानात्मक भूमिका खेल्ने बताउनुभयो । पुस्तकमा उर्दूभाषाका ३२, पन्जाबी र सराइकी भाषाका तीन कथा, पाँच कविता, सिन्धी भाषका दुई कथा, तीन कविता, बलोची भाषका दुई कथा, एक कविता, पस्तु भाषाका एक कथा, तीन कविताका साथै अङ्ग्रेजीका भषाका सात कथा र बाह्र कविता समाविष्ट छन् ।
कार्यक्रममा प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र अनुवाद मण्डलका सदस्य हरिहर खनालले पुस्तकको विशेषता र महत्वबारे प्रकाश पार्नुभएको थियो । अनुवादको संयोजन कुलपति उप्रेती स्वयम्ले गर्नुभएको छ भने हरिहर खनाल, रामबहादुर पहाडी, महेश पौड्याल र रवीन्द्र तिम्सिनाले अनुवादगर्नुभएको छ । डा. हेमनाथ पौडेलको भाषा सम्पादन रहेको पुस्तक अङ्ग्रेजी भाषाबाट नेपालीमा रुपान्तरण गरिएको हो । पुस्तक ५७२ पृष्ठको छ ।
कार्यक्रमको सञ्चालन चित्रा ठकुरीले गर्नुभएको थियो ।
कविशिरोमणिको परिचर्चा र कविगोष्ठी 
सोही दिन प्रज्ञा–प्रतिष्ठानले कविशिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका उपलक्ष्यमा ‘कविता वाचन तथा परिचर्चा’ कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा बोल्दै प्रा.डा. वासुदेव त्रिपाठीले कविशिरोमणि लेखनाथ पौड्याल नेपाली कविहरूका शिर भएको बताउनुभयो । उहाँले पौड्यालको काव्यिक प्रबृत्तिको चर्चा गर्दै भन्नुभयो, “उहाँका कविता अत्यन्तै सशक्त, प्रभावशाली र  समयसापेक्ष छन् ।”
कार्यक्रममा सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कविशिरोमणि लेखनाथ पौड्याललाई अहिलेको समयमा पुनर्पाठ गरिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
उपकुलपति डा. जगमान गुरुङले पौड्यालको काव्यिक गुणको चर्चा गर्दै आउँदो वर्ष उहाँको जन्मस्थानमै साहित्यिक सम्मेलन गरिने बताउनुभयो ।
काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले कविशिरोमणि पौड्याल युगलाई बुझेका कवि भएको उल्लेख गर्नुहँदै उहाँका कवितामा नैतिक, समाजिक तथा दार्शनिक चेतना पाइने बताउनुभयो ।
कविशिरोमणि लेखनाथ पौडेल बाहिरी आँखाले मात्रै नभएर भित्री आँखाले जगत्लाई हेर्नुपर्ने मान्यता राख्ने कवि भएको भन्दै कविले जुनसुकै चेतना ग्रहण गरे पनि उसको सिर्जना समाज र समयसापेक्ष हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रल्हाद पोखरेल, प्रभा भट्टराई, देवु लुइटेल, डा. सुधनकुमार पौडेल र लोचन भट्टराईले लेखनाथका एक एक वटा कविता वाचन गर्नुभएको थियो । कविहरू आर.एम. डंगोल, विवश पोखरेल, तेजविलास अधिकारी, रामबाबु सुवेदी र भुवनहरि सिग्देलले आ–आफ्ना कविता सुनाउनुभएको थियो ।
कार्यक्रम लक्ष्मी गौतमले सञ्चालन गर्नुभएको थियो ।