महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती मनाइयो

वि.सं. २०७५ कार्तिक १९ गतेका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा भवन कमलादी, काठमाडौँमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा ‘प्रवचन, पुस्तक परिचर्चा एवम् कविता वाचन कार्यक्रम’को आयोजना गरियो । कार्यक्रममा महाकवि देवकोटाबारे डा. अमर गिरीले विशेष प्रवचन दिनुभएको थियो ।

सोही अवसरमा सिक्किम सरकारका सचिव समेत रहेका साहित्यकार शङ्करदेव ढकालद्वारा लिखित तथा अनेसास सिक्किम च्याप्टरद्वारा प्रकाशित भुटानी शरणार्थीका विषयमाथिको उपन्यास ‘किरायको कोख’को लोकार्पण गरियो । कार्यक्रममा कविता वाचन पनि गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि देवकोटा नेपालका विराट प्रतिभा भएको दाबी गर्नुभयो । उहाँले देवकोटा प्रज्ञा–प्रतिष्ठानका परिकल्पनाकार समेत भएको स्मरण गर्दै प्रतिष्ठानले प्रत्येक वर्ष उहाँको स्मृतिमा विशेष कार्यक्रम गर्ने गरेको बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो, “जहाँ जहाँ नेपाली रहेका छन् त्यहाँ त्यहाँ देवकोटा जयन्ती धुमुधामसँग मनाउने गरिएको छ ।”

प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले महाकवि देवकोटा नेपाली साहित्यकै सर्वाधिक चर्चित र विदेशीले समेत चिनेका प्रतिभा भएको उल्लेख गर्दै देवकोटाले साहित्यमार्फत् नेपाललाई विश्वमा चिनाएको बताउनुभयो । उहाँले भूगोल र राजनीतिले भाषालाई एकै स्वरुपको हुन नदिए पनि संस्कृति र भावना भने एकै हुने धारणा राख्नुभयो ।

डा. गिरीले महाकवि देवकोटा नेपाली साहित्यका शिखर प्रतिभा रहेको उल्लेख गर्दै समालोचकहरूले उहाँको फरक फरक ढङ्गबाट मूल्याङ्कन गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “देवकोटा पश्चिमी साहित्यका पनि ज्ञाता थिए र सुरुवाती चरणमा उनको लेखनीमा स्वच्छन्दतावादी धारातिर केन्द्रित भएको पाइन्छ” उहाँले थप्नुभयो, “तर, तासकन्द सम्मेलनपछि भने उहाँ प्रगतिवादी धारातिर उन्मुख भएको देखिन्छ ।” उहाँले पछिल्लो चरणमा लेखिएका देवकोटाका रचनामा प्रगतिशीलता पाइने दाबी गर्नुभयो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत गर्दै नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानबारे चर्चा गर्नुभएको थियो । ंराष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली र डा. हेमनाथ पौडेलले लोकार्पित पुस्तकबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा कवि प्रभा भट्टराईले महाकविको एउटा कविता पाठ गर्नुभएको थियो भने कविहरू मातृका पोखेरल, सुलोचना मानन्धर, मित्रलाल पंज्ञानी र अनिता लामाले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

लोकार्पित उपन्यास ‘किरायको कोख’का लेखक ढकालले लेखनअनुभूति व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।