सुर्खेत सिम्ताको जामुनेमा भाषिक कार्यशाला गोष्ठी

२०७५ जेठ १९ गतेका दिन सिम्ताली एकता समाज नेपाल, नेपाल प्रज्ञा–प्रतिष्ठान र सिम्ता गाउँपालिकाको संयुक्त आयोजनामा सुर्खेतको सिम्ताको जामुने बजारमा ‘सिम्ताली भाषिका र लोक साहित्य’ विषयक भव्य कार्यशाला गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् भाषा आयोगका सल्लाहकार प्रा.डा. जीवेन्द्र देव गिरीले सिम्ताली भाषिकाका मौलिकताबारे प्रकाश पार्दै यसले नेपाली शब्दकोशलाई तमाम शब्दहरू दिनुका साथै भाषिक समृद्धिमा विशेष योगदान गर्ने क्षमता राख्नेक र लोक साहित्य र लोकनाचको त सिम्ता खानी नै भएको विचार व्यक्त गर्नु भयो ।

विशेष अतिथि मध्य पश्चिमाञ्चल विश्वविद्यालयका मानविकी संकायका डिन प्रा.खोपीराम लम्सालले ‘सिम्ताली लोक साहित्य’ तथा ‘सिम्ताली भाषिका’बारे कार्यपत्र प्रस्तोताद्वय क्रमशः सुर्खेत क्याम्पस शिक्षाका उपप्राध्यापक थानेश्वर लामिछाने र सिम्ता बहुमुखी क्याम्पसमा अध्यापनरत यामराज गिरीको प्रस्तुति सान्दर्भिक र सामयिक रहेको टिप्पणी गर्नु भयो ।

अर्का विशेष अतिथि सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्र के.सी.ले गोष्ठीको सुझाब अनुसार सङ्ग्रहालय निर्माण लगायतका सांस्कृतिक उत्थानका काम गर्न आफू सदा तत्पर रहेको विचार व्यक्त गर्नु भयो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेका अध्यक्ष महानन्द ढकाल, प्रलेस बाँकेका अध्यक्ष मणि अर्याल र सिम्ताली एकता समाजका पूर्व अध्यक्ष विष्णु महताराले कार्यक्रम अत्यन्त उपलब्धिमूलक रहेको र सिद्धान्त र प्रस्तुति दुबै गाँसिँदा कार्यशाला गोष्ठीको अपेक्षा अनुरूप सार्थक एवम् उपलब्धिमूलक भएको विचार व्यक्त गर्नु भयो ।

कलाकारहरु भीमबहादुर कार्की, प्रेमदेव गिरी र खम्बराज गिरीका गायन तथा वादन, प्रलेस सुर्खेतकी उपाध्यक्ष सीता एरी, भरतप्रसाद दाहाल, विनोद भट्टराई, सङ्गीता सिंह आदिका कविता गजल, नाडका कलाकारहरु र बादेपिपल युवा समूहका सिँगारु नाच, ठाडका कलाकारहरुको गर्रा नाच, नन्दकला सार्की, सेती कसेरा लगायतको सैरेलो, फाग र भाउजू गीत, प्रिज्म बोर्डिङ स्कुलको नाच, पञ्चे बाजा र अन्य विभिन्न गीतनाचका प्रस्तुतिले कार्यक्रम निकै रोचक बनेको थियो ।

हजारौँको संख््यामा सिम्ता गाउँपालिकाका विभिन्न वडाहरु, सदर मुकाम वीरेन्द्र नगरसहित जिल्लाका विभिन्न भाग र बाँकेबाट समेत सहभागिता रहेको सो कार्यक्रम सिम्ताली एकता समाजका अध्यक्ष ध्रुव बहादुर सिंहका अध्यक्षतामा गगन सिंह र सुवास बी.सी.द्वारा सञ्चालित थियो भने ललित सिंहले स्वागत भाषण गर्नु भएको थियो । कार्यक्रमको अगिल्लो साँझ सिम्तामा प्रचलित ‘सती कलसाको धमारी’मा आधारित वृत्तचित्र प्रस्तुत गरिएको थियो ।