परमाणु अस्त्रविरुद्ध विश्वशान्तिका लागि कविता

वि.सं. २०७५ जेठ १८ गते नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनद्वारा प्रज्ञा भवनमा ‘परमाणु अस्त्रको विरोध तथा विश्वशान्तिका निम्ति विशेष कविगोष्ठी’ आयोजना गरियो ।

कार्यक्रममा कविहरूले युद्ध आतङ्कको विपक्ष र शान्ति, प्रेम र मानवताको पक्षमा सिर्जना सुनाएका थिए । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेदेखि प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ मातृका पोखरल, उषा शेरचन, विप्लव ढकाल, मोमिला, सुलोचना मानन्धर, राम विनय, मित्रलाल पंगेनी, वासुदेव अधिकारी, कृष्ण प्रधान, फूलमान वल, गोपाल पोखरल ‘विवश’, आरएम डङ्गोल, केशव सिलवाल, बिना थिङ तामाङ, स्वप्निल स्मृति, सोझो गाउँले, अमृता स्मृति र सुनिता खनाललगायतले परमाणु अस्त्रको विरुद्धमा र शान्तिका पक्षमा कविता सुनाए ।

कार्यक्रममा परराष्ट्र मन्त्री एवम् साहित्यकार प्रदीप ज्ञवालीले साहित्य र सिर्जनाले तत्काल युद्ध नै रोक्ने काम नगर्ने भए पनि त्यसले समाजमा युद्धविरोधी मनोविज्ञान सिर्जना गर्न सघाउने जनाउनुभयो । ‘हतियार कुरूप नै हुन्छ, कहिल्यै सुन्दर हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘कविले कविता लेख्दैमा निःशस्त्रीकरण सम्भव त नहोला तर स्रष्टाको आवाज युद्धको आवाजभन्दा शक्तिशाली हुन्छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विश्वमा दीगो शान्ति स्थापना होस् भन्ने पक्षमा सधैँ स्रष्टाहरूले कलम चलाएको उल्लेख गर्नुहुँदै यसप्रकारको कार्यक्रम हुनु अर्थपूर्ण भएको धारणा राख्नुभयो ।


कविहरूले मुलुकको संवेदनशील विवेकलाई प्रस्तुत गर्ने भएकोले गोष्ठी गरिएको नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनका अध्यक्ष हिरण्यलाल श्रेष्ठले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘आणविक हतियार पूर्ण रूपमा निःशस्त्रीकरण हुनुपर्छ । हामी विवेकले निर्णय गर्ने हो, हतियारले हैन भन्ने पक्षमा छौँ ।

प्रज्ञा–प्रतिष्ठान काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले साहित्यिक सिर्जनाको शक्तिले समाजको चेतना निर्माणमा सघाउ पु¥याउने बताउनुभयो ।

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाको पनि उपस्थिति रहेको थियो ।