डायस्पोरिक कवितामाथि विमर्श तथा कविता गोष्ठी

काठमाडौँ, वि.सं. २०७४ असोज २७ गते तदनुसार सन् २०१७ अक्टोबर १३ तारिकका दिन नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सङ्युक्त आयोजनामा एक दिने विचार गोष्ठी तथा कविता गोष्ठीको आयोजना गरियो ।

‘नेपाली डायस्पोराका कविताको वर्तमान अवस्था’ शीर्षकमा काव्य विमर्श गरिएको थियो । डायस्पोराका कवितामा विद्यावारिधी गरिरहेका राम्जी तिमिल्सिनाले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमाथि खुल्ला छलफल भएको थियो । तिमिल्सिनाको कार्यपत्रमाथि सिर्जना शर्मा, बिना थिङ, भद्रकुमारी घले, शम्भुकुमार मिलन, शर्मिला पन्त पाण्डे लगायतले जिज्ञासा राखनुभएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले डायस्पोरिक कविताले नेपाली भाषा, साहित्यलाई विश्वमा पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै त्यसको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालीहरू विश्वमा जहाँ गएपनि मायाको डोरी र किलाचाहिँ मूल थलोमै गाडिएको हुन्छ ।” काइँलाले नेपाली साहित्यको माध्यामबाट बाहिर बस्ने नेपालीहरूले आफ्नो देश, समाज र सभ्यतामा देखाएको चिन्ता तथा अध्ययनको जागरुकताले नेपाली भाषा, सहित्यलाई विश्वजगत्मा परिचित गराउन धेरै ठूलो काम गरेको बताउनु भयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् गोष्ठीका सभापति गङ्गाप्रसाद उप्रेतीले साहित्यको प्रबद्र्धन, संस्कृति र भाषाको विकासका लागि एनआरएनए र नेपाल प्रज्ञा–प्रतिष्ठानले सहकार्य गर्दै आएको बताउनु भयो । कुलपतिले ६ वर्षअघि दुई पक्षीय सम्झौता गरी शुरु भएको कामले अहिले सफलता मिल्दै गएको धारणा राख्नुभयो ।

प्रज्ञा–प्रतिष्ठान काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले नेपाली डायस्पोराको इतिहास त्यति लामो नभए पनि आफ्नो छोटो इतिहासमा यस क्षेत्रमा उल्लेखनीय काम भएको उल्लेख गर्नुभयो । नेपाली भाषा, साहित्यलाई विश्वमा पु¥याउने, नेपाली रचनालाई अन्तर्राष्ट्रियकरण गर्ने, दुबै ठाउँबाट लेखिएका साहित्यलाई ग्रन्थको रुपमा प्रकाशित गर्ने र अन्य भाषामा पनि अनुवाद गर्ने आदि उद्देश्यले एनआरएनएसँग सहकार्य गरिएको प्राज्ञ डा. गिरीले बताउनुभएको थियो ।

एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामिछानेले साहित्यको कार्यदल नै बनाएर एनआरएनएले काम गरिरहेको प्रतिक्रिया दिँदै भन्नुभयो, “हाम्रो वचन र कर्म नेपाल र नेपालीसँग गाँसिएको छ, हाम्रा सन्ततीहरुलाई पनि यसमा जोडाइरहनुपर्छ । त्यसैले अझ बढी सङ्गठित भएर अझ बढी सम्भावनाहरुलाई उजागर गर्नुपर्छ ।”

एनआरएनएका पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली साहित्य, भाषा, संस्कृति र संस्कार सबै देशको भन्दा राम्रो रहेको भन्दै नेपाली कमजोर नभएको दाबी गर्नुभयो । आर्थिक अवस्था कमजोर भएकाले जनताको मनोविज्ञमा मात्रै कमजोर भएको भन्दै मानिसमा संस्कार भएन भने पैसाले केही गर्न नसक्ने उहाँको विचार थियो ।

एनआरएनए भाषा तथा साहित्य कार्यदलका संयोजक विश्वासदीप तिगेलाले देश बाहिर रहँदा नेपालीले आफ्नो नेपालको शिर कसरी उच्च राख्न सकिन्छ ? त्यसतर्फ एनआरएनएको भाषा तथा साहित्य कार्यदल लागिरहेको दाबी गर्नुभयो । उहाँले डायस्पोराबाट अग्र्यानिक र यथार्य कथाहरू आइरहेको विचार प्रकट गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, विश्व नेपाली साहित्य महासङ्घका उपाध्यक्ष सागर श्रेष्ठले डायस्पोरमा कार्यरत विभिन्न साहित्यिक सङ्घसंस्थाले नेपाली भाषाका साहित्यलाई अन्य विभिन्न भाषामा पनि प्रकाशित गरेर नेपाली भाषा, साहित्यको उत्थानमा उल्लेखनीय योगदान दिँदै आएको बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा भएको कवि गोष्ठीमा विमल निभा, श्यामल, सुलोचना मानन्धर, महेश प्रसाई, महेश मास्के, लक्ष्मी माली, प्रकाश नेपाल (जापान), रमेश श्रेष्ठ, फडिन्द्र भट्टराई, मोमिला, गीता कार्की, मणिराज सिंह, रत्नमणि नेपाल, आरएम डङ्गोल, रमेश पौडेल, प्रकाश गुरागाई, उमेश राई, डा. विन्दु शर्मा, सुको साइबर, सुनिता खनाल, दुतेन्द्र चाम्लिङ, छम गुरुङ, बिना थिङ, सुनिता गिरी (हङकङ), अमित चाम्लिङ (कुवेत) लगायतका कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

प्रस्तुति ः नारायण ढुंगाना