३२औँ प्राज्ञसभा सम्पन्न, प्रज्ञा पुरस्कारहरूको घोषणा

काठमाडौँ । वि.सं. २०७४ कार्तिक १३ गते सोमवार नेपाल प्रज्ञा–प्रतिष्ठानको ३२औँ प्राज्ञसभा प्रज्ञाभवन, कमलादी, काठमाडौँमा सम्पन्न भयो । प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् प्राज्ञसभा अध्यक्ष गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न प्राज्ञसभाको प्रज्ञा–प्रतिष्ठानका संरक्षक संस्कृतिमन्त्री जीतेन्द्र नारायण देवले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री देवले भन्नुभयो, “नेपाल ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्त सम्पन्न मुलुक हो । यसको सुदीर्घ इतिहास, विविध संस्कृति र तराई मधेस, पहाड र हिमालका विविधतामय वातावरणमा हुर्केको प्राचीन सभ्यता गौरवपूर्ण छ र वर्तमान पनि अनेक विशिष्टताले युक्त छ । यस महत्वलाई हृदयङ्गम गरी प्राज्ञिक वर्गले संसारमा नेपालको पहिचान फिँजाउन र मुलुकभित्र आत्मगौरव बढाउन आआफ्ना ठाउँबाट योगदान गर्दै जानु पर्छ । यसै सन्दर्भमा प्रज्ञा–प्रतिष्ठानले बौद्धिक शक्तिको अधिकतम सदुपयोग गर्ने वातावरण निर्माण गर्दै जाने कुरामा मलाई पूर्ण विश्वास छ ।”


सभामा प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनु भएको शुभकामना सन्देश सदस्य सचिवद्वारा पढेर सुनाइएको थियो । ‘राजनीतिक र लोकतान्त्रिक रूपान्तरणलाई सामाजिक परिवर्तन मार्फत् संस्थागत गर्ने मुख्य अभिभारा प्राज्ञरूको हुने’ भन्दै ‘प्राज्ञिक बहस, विवेचना र सिर्जनाले राष्ट्रिय जीवन उपयुक्त ढङ्गबाट सन्चालन गर्न मद्दत पुग्ने हुनाले प्रतिष्ठानको प्राज्ञसभाले अङ्गिकार गर्ने नीतिहरूले राष्ट्रलाई सफल बनाउन प्रत्यक्ष र परोक्षरूपमा महत्वपूर्ण योगदान दिनेछ ।’ सन्देशमा प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
कुलपति एवम् सभाध्यक्ष उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठान मुलुकका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शन विधाको प्रवर्धन गर्दै मुलुकको प्राज्ञिक गरिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न राज्यद्वारा सञ्चालित सर्वोच्च प्राज्ञिक संस्था भएको उल्लेख गर्दै प्रतिष्ठानको वर्तमान नेतृत्वले यस दिशामा महत्वपूर्ण कार्यहरू गरिरहेको बताउनु भयो । उहाँले थप्नुभयो, “दक्षिण एसियाली मुलुकका राज्य सञ्चालित समान प्रकृतिका प्रज्ञा–प्रतिष्ठानहरूसँग संस्थागत सम्बन्ध स्थापना गरी नियमित रूपमा प्राज्ञिक आदान–प्रदान भइरहेको छ । यसै सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानकै प्रस्ताव र यस क्षेत्रका समकक्षी प्रज्ञा–प्रतिष्ठानहरूको सहमतिमा क्षेत्रीय रूपमा बहुपक्षीय महत्वका प्राज्ञिक विषयमा सहकार्य गर्न हालै चीन तथा दक्षिण एसिया साहित्य सभा (ऋजष्लब बलम क्यगतज ब्कष्ब ीष्तभचबतगचभ ँयचगm) स्थापना भई यसको पहिलो सम्मेलन यही २०१७ को नोभेम्बर ५ देखि ९ तारिखसम्म चीनमा सम्पन्न हुँदैछ ।”
चीन, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्काका समकक्षी प्रतिष्ठानहरू एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत संस्थापक रहेको उक्त क्षेत्रीय निकायले क्षेत्रीय रूपमा साहित्य, संस्कृति, भाषा र वाङ्मयका अन्य विधाको उन्नयनका लागि महत्वपूर्ण काम गर्नेछ कुलपतिले बताउनुभयो ।


यसै गरी उद्घाटन समारोहलाई पूर्व कुलपति बैरागी काइँला, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्तले सम्बोधन गर्नुभएको थियो । काइँलाले बद्लिँदो परिस्थितिलाई सम्बोधन गर्दै भाषिक पर्यटनको विकासका लागि प्रज्ञा–प्रतिष्ठानले भूमिका खेल्नु पर्ने आवश्यकता औँल्याउनु भयो भने सरूभक्तले महत्वपूर्ण निर्णयहरू गर्दै प्राज्ञसभा सफल होस् भनी कामना गर्नुभयो ।
उपकुलपति डा. विष्णुविभु घिमिरेले सभामा स्वागत मन्तव्य राख्दै वाङ्मयका पाँच महत्वपूर्ण विधामा काम गर्ने अख्तियारी पाएको प्रज्ञा–प्रतिष्ठानले सीमित साधन र स्रोतका बावजुद पनि धेरै प्रभावकारी कार्यहरू सम्पादन गरिरहेको बताउनु भयो । यसै गरी समारोहमा सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले प्राज्ञसभामा उपस्थित महानुभावहरूप्रति आभार प्रकट गर्नुभएको थियो ।
प्राज्ञसभाले आ.व. २०७४/०७५का लागि १६ करोडको प्रस्तावित बजेट पारित गरेको छ भने प्रज्ञा–प्रतिष्ठान कर्मचारी तथा कलाकार नियमावली संशोधन गर्नुका साथै प्रज्ञा पुरस्कारहरूको निर्णय गरेको छ । नेपाली भाषा, साहित्य, संस्कृति एवम् मातृभाषा साहित्यका विधामा विशिष्ट योगदान पु¥याएबापत ९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गरिने घोषणा गरिने भएको छ ।
जसअनुसार प्रत्येक चार वर्षमा राष्ट्रका एक जना विशिष्ट वाङ्मय साधकलाई प्रदान गरिने नगद रु. ४ लाख राशिको पृथ्वी प्रज्ञा पुरस्कार डा. तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी प्रत्येक दुई वर्षमा प्रदान गरिने रु. एक लाख राशिको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा.डा. वीणा पौड्याल घिमिरेलाई र दुई वर्षमै प्रदान गरिने नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. रामावतार यादवलाई प्रदान गरिने भएको छ ।


यसै गरी वर्षेनी प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७३ विमल निभालाई, २०७४ का लागि ध्रुव सापकोटालाई, तराई/मधेशमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७३ का लागि अब्दुल लतिफ शौक र २०७४ का लागि सोमबहादुर धिमाललाई तथा पहाड÷हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७३ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई जनही एक लाख राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्रदान गरिने निर्णय गरिएको छ । पृथ्वी प्रज्ञा–पुरस्कार राष्ट्रकै सम्मानित र गौरवमय पुरस्कार मानिन्छ ।