कर्मचारी सङ्घको शुभकामना तथा चियापान कार्यक्रम

काठमाडौँ, ८ असोज । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत्, छठ, उभौली, लोसारलगायतका चाडपर्वले समस्त कवि, लेखक, साहित्यकार तथा देशवासीमा सुख एवम् समृद्धि ल्याउने अपेक्षा गर्दै सबैमा सुस्वास्थ एवम् दीर्घायुको कामना गर्नुभयो । लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घ–२०६५, नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम’लाई संवोधन गर्दै कुलपतिले उक्त कामना गर्नुभएको हो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञपरिषद्का सदस्यहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. ज्ञानू पाण्डे, मातृका पोखरले, नर्मदेश्वरी सत्याल तथा प्राज्ञसभा सदस्य शशी लुमुम्बूको विशेष आतिथ्य रहेको थियो ।

सङ्घका अध्यक्ष बुद्धि तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान कलकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विक्रम मैनाली, प्रतिष्ठानका प्रशासन तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सार्वजनिक सेवा कर्मचारी सङ्घ (अप्सिन)का केन्द्रीय सदस्य ऋषिरम गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कलाकार तथा उपप्राध्यापक वदन मण्डलको टोलीले मालश्री तथा शास्त्रीय धुन प्रस्तुत गरेको थियो ।

यसै गरी कार्यक्रममा वरिष्ठ गजलकार रामबहादुर पहाडीले गजल, कवि कृष्णदेव रिमालले कविता र लोकगायक सूर्यमणि आचार्यले गीत गाएर सुनाउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष धनबहादुर कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव अशोककुमार चौरसियाले गर्नु भएको थियो ।