मनाइयो राष्ट्रकविको ९९ औँ जन्मदिन

काठमाडौँ, ६ असोज । अढाइ वर्षको छँदा नै राष्ट्रकवि माधवप्रसाद घिमिरे ममताबाट वञ्चित हुनु प¥यो । ‘आमाको माया, ममता र स्वभाव कस्तो हुन्छ ?’ घिमिरे प्रायः घोत्लिरहनु हुन्थ्यो रे । आमाको माया खोज्दै जाँदा उहाँ प्रकृतिसँग बढी घुलमिल हुन थाल्नुभएछ । उहाँलाई वनजङ्गल, पाखापखेरा र खोलानालाले आफूसँग लुकामारी खेलेजस्तो, संवाद गरेजस्तो लाग्न थालेछ । प्रकृतिमै घिमिरेले आमालाई पाउन थाल्नुभएछ । उहाँले आफ्नो जन्मभूमि र त्यहाँका प्रकृतिलाई कवितामै पोख्नुभयो—
लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो
हिमाल चुलीमुन्तिर पानी भर्ने पधेँरो

राष्ट्रकवि घिमिरेका यस्तै प्राकृतिक भावका कविता, गीति कविता र गीतहरू अहिलेसम्म पनि कालजयी छन् । प्रकृतिसँगै जीवन, राष्ट्रियता र देशप्रेम घोलिएका उहाँका कविताहरू जनजनका मनमुटुमामा ताजै छन् । उहाँले लेखेका कविताका हरफ, पंक्ति मात्र नभई पूरै खण्डकाव्य नै कण्ठस्थ पार्नेहरू अहिले पनि भेटिन्छन् ।

उनै राष्ट्रकवि २०७४ असोज ७ गते शनिबारबाट ९९ औँ वर्षमा प्रवेश गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानको समालोचना तथा निबन्ध विभाग र लेखक सङ्घ, दाङले भने एक दिनअगावै शुक्रबार नै राष्ट्रकवि माधवप्रसाद घिमिरेको ९९ औँ जन्मोत्सव मनाए । कार्यक्रममा राष्ट्रकविलाई जन्मदिनको शुभकामना दिनेहरूको बाक्लै उपस्थिति थियो । राष्ट्रकविले कविता लेख्न आफू जन्मिएको गाउँका खोला, पाखापखेरा, संस्कृति मात्र नभई सँगै बसेकी पत्नी महाकालीलाई प्रेरणाको स्रोत भएको बताउनु भयो । ‘कविता मात्र लेख्यो तर कानमा सुन लगाइदिएन भनेर उनले कहिले भनिनन्’ कविले थप्नुभयो, ‘बरु छोराछोरीलाई पनि संयमित बनाइदिइन् ।’ घिमिरेले कार्यक्रममा सबैको माया पाएर रोमाञ्चित भएको सुनाउँदै भन्नु भयो, ‘मलाई त सय वर्ष पुगेको अनुभूति भइरहेको छ ।’ भानुभक्त आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटाका कविताहरूको बयान गर्दै उहाँले कविहरूले लेख्ने कविताको ढङ्ग, शैली र भाव भिन्न हुनु पर्नेमा जोड दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले घिमिरेलाई सम्मानपत्र समर्पण गर्दैै ‘कविहरूका पितामह’को रूपमा व्याख्या गर्नुभयो । यो उमेरमा पनि उत्तिकै तेजिलो, रबाफिलो र प्रस्ट अभिव्यक्ति दिन सक्ने क्षमताको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘निरन्तर सिर्जना गर्ने मान्छे बूढो हुन्न । राष्ट्रकविको व्यक्तित्व र काव्यमा चिरयौवनाको गुण पाइन्छ ।’
९९ औँ वर्षमा पनि महाकाव्य ‘ऋतम्भरा’ लेखिरहेका घिमिरेको प्रशंसा गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकविको अनवरत साहित्य साधनाले राष्ट्रलाई गति दिन दिशानिर्देश गर्दै आएको बताउनु भयो ।

उपकुलपति डा. विष्णुविभु घिमिरेले सहज भाषामा गहन कविता लेख्न सक्ने कविको रूपमा व्याख्या गर्नुभयो । कार्यक्रममा सङ्घले राष्ट्रकविका बारे तयार पारेको ‘प्रवाह’ विशेषाङ्क पनि लोकार्पण गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा प्रा.डा. हेमचन्द्र नेपालले राष्ट्रकविको व्यक्तित्व र कृतित्वबारे प्रवचन दिनुभएको थियो । कविले कवितामा प्रकृति, जीवन र राष्ट्रप्रेम मात्र नभई क्रान्तिको आवाज पनि उठाएको उहाँले दाबी गर्नुभयो । भन्नुभयो, ‘अरू कविहरू जीवनभित्र प्रकृतिलाई खोजिरहेका हुन्छन् भने राष्ट्रकवि प्रकृतिवादका माध्यमबाट जीवन बोलाउने काम गर्नुहुन्छ । उहाँका कैयौँ गीति कवितामा क्रान्तिका कुराहरू छन् ।’

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ मातृका पोखरेलले घिमिरेको ‘गौरी’ खण्डकाव्य कण्ठस्थ रहेको बताउनु भयो । यसै गरी नेपाली लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ श्रवण मुकारुङले समकालीन कवि र कविताको तुलनामा घिमिरेका कविताहरूमा श्रुतिमयता भएको दाबी गर्नुभयो ।

समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डेले घिमिरेलाई ‘आधुनिक कविताको ज्युँदो इतिहास’का रूपमा व्याख्या गर्नुभयो । दिवंगत साहित्यकारहरूको शतवार्षिकी मनाउँदै आइरहेको प्रतिष्ठानले जीवित साहित्यकारको जन्मोत्सव किन नमनाउने भन्दै घिमिरेको जन्मदिन मनाएको उहाँले बताउनु भयो ।