धादिङमा साहित्य तथा संस्कृति गोष्ठी

धादिङ, ३० गते । नेपाल प्रज्ञा–प्रतिष्ठान तथा स्रष्टा प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा धादिङको सदरमुकाम धादिङबेँसीमा भदौ ३० र ३१ गते दुई दिने साहित्य तथा संस्कृतिसम्बन्धि विचार गोष्ठीका साथै सांस्कृतिक सम्पदा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन शुक्रबार प्रतिष्ठानको समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डेको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । सष्ट्रा प्रतिष्ठान, नेपालका अध्यक्ष अमृता स्मृतिको संयोजकत्वमा आयोजना भएको उक्त कार्यक्रम नीलकण्ठ बहुमुखी क्याम्पसका विधार्थी तथा शिक्षिका पार्वती पौडेलले सञ्चालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रा.डा. नवीनबन्धु पहाडी दाहाल, प्रा. रामहरि लम्साल, कवि तथा उपन्यासकार हेम प्रभास, अग्रज पत्रकार राजेन्द्रप्रताप शाह, कान्तिपुर दैनिककी सम्वाददाता सुनिता साखकर्मी, नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्मा, सष्ट्रा प्रतिष्ठानका धादिङ शाखा अध्यक्ष हरिशरण अर्याल, गीतकार भगवती उप्रेती, गजलकार लालकाजी श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्र्रा.डा. नवीनबन्धु पहाडीदाहाल र प्रा. रामहरि लम्सालले कार्यपत्र प्रस्तुत गर्दै धादिङको साहित्य र संस्कृतिको इतिहास र वर्तमान अवस्था, धादिङको धार्मिक, सांस्कृतिक र पुरात्विक इतिहासका बारेमा प्रष्ट पार्नुभएको थियो ।
दोस्रो दिन शनिबार भएको कार्यक्रममा सष्ट्रा प्रतिष्ठान धादिङका शाखा अध्यक्ष हरिशरण अर्यालको अध्यक्षता तथा समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डे, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सष्ट्रा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष अमृता स्मृति, नीलकण्ठ बहुमुखी क्याम्पस प्रा.डा. नवीनबन्धु पहाडी दाहाल, प्रा. रामहरि लम्साल, कान्तिपुर दैनिककी सम्वाददाता सुनिता साखकर्मी, गीतकार भगवती उप्रेती, गजलकार लालकाजी श्रेष्ठ विशेष अतिथि हुनुहुन्थ्यो । होमराज ढुङ्गेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कवि प्राञ्जल लम्साल, गजलकार प्रदीप पोख्रेल, सौगात रिजाल, कुशल रिजाल, प्रदीप रिजाल, नवराज इटनी, अंशु खनाल, निशा धमला, पार्वती पौडेल, लोक गायक तथा गजलकार राजन त्रिपाठी, नवकलाकार सङ्गीत सहयात्री वीरेन्द्र दङ्गाल लगायतका सहभागीबाट दुई दर्जन भन्दा बढी सिर्जना वाचन गरिएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले साहित्य र संस्कृतिका बारेमा मन्तव्य राख्दै आफ्नो कविता वाचन गर्नुभएको थियो । यसै गरी समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डेले कविताद्वारै कार्यक्रमलाई संबोधन गर्नुभएको थियो । कार्यक्रममा समीक्षक डम्बर खतिवडा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागी स्रष्टाहरूलाई आर.के हल, बिचबजार धादिङबेँसी, पल्टिङ, पशुपति मन्दिर, खोलानाला तथा विभिन्न सम्पदा अवलोकन गराइएको थियो ।