बौद्ध दर्शन र प्रजापति गौतमीबारे विमर्श

काठमाडौँ, ४ असोज ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा असोज ४ गते बुधबार प्रज्ञा पुस्तकालयमा ‘बौद्ध दर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयक विचार गोष्ठी आयोजना गरियो । उक्त गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘बौद्ध दर्शन, प्रजापति गौतमी र नारी स्वतन्तत्रा’ विषयक विचार गोष्ठी सार्थक भएको विचार व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पनि प्रतिष्ठानले विशेष महत्वका साथ बौद्ध दर्शनसम्बन्धी कार्यक्रम गर्ने विश्वास दिलाउनु भयो ।
प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले कार्यक्रमबारे प्रकाश पार्दै प्रतिष्ठानले दर्शन विभागमार्फत् विभिन्न दर्शनसम्बन्धी कार्यक्रम गर्ने गरेको सुनाउनु भयो । उहाँले बौद्ध दर्शनमा प्रजापति गौतमी र नारी स्वतन्त्रताका विषयमा आयोजना गरिएको गोष्ठीले विशेष महत्व राख्ने विश्वास व्यक्त गर्नु भयो ।
प्रतिष्ठानका दर्शन विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राध्यापक प्राज्ञ दिनेशराज पन्तले गौतम बुद्धको जन्म दुई हजार छ सय वर्षअघि भएको उल्लेख गरिएता पनि कालचक्रअनुसार बुद्धको जन्म एक सय अठासी वर्षको हाराहारीमा रहेको देखिने उल्लेख गर्दै पाश्चात्य कुरालाई मात्रै विश्वास गरी दृष्टिकोण बनाउने प्रवृत्ति त्याग्नु पर्ने धारणा राख्नु भयो । उहाँले बुद्ध दर्शनमा नारीलाई महत्व र सम्मानका साथ हेरिने गरेको आफूले पाएको उल्लेख गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भन्ते निग्रोधले बौद्ध दर्शन सर्वोत्कृष्ट दर्शन रहेको उल्लेख गर्दै उक्त दर्शनले नारीलाई उच्च सम्मान दिएको धारणा राख्नुभयो ।
कार्यक्रममा सहप्र्राध्यापक उर्मिला ताम्राकारले कार्यक्रमको शीर्षकमा आधारित रहेर लेखिएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि वीर्यवति गुरुमाले टिप्णी गर्नु भएको थियो । बुद्धि तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा सहप्राध्यापक मीना तुलाधरले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।