मनाइयो रिमाल शतवार्षिकी

काठमाडौँ, २० असार । साहित्य सदन नेपालले यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ प्रगतिवादी कवि तथा व्यङ्ग्य निबन्धकार विमल निभालाई प्रदान गरेको छ ।
सदन र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार १९ गते सोमबार प्रज्ञाभवनमा आयोजित कवि तथा नाटककार गोपालप्रसाद रिमालको शतवार्षिकी समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । पाँच दशकदेखि रिमालको गद्य कविता परम्परालाई विद्रोही तथा क्रान्तिकारी चेतका रुपमा जीवन्त राख्दै समाज रुपान्तरणमा दिएको योगदानबापत उहाँलाई सो पुरस्कार दिइएको हो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस वर्षभरि रिमालको योगदान, लेखन प्रवृत्ति र नयाँ प्रयोगबारे चर्चा परिचर्चा गरिने जानकारी दिँदै निभाको शक्तिशाली कलमले समाजलाई उद्वेलित गर्ने गरेको बताउनुभयो ।
प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले रिमालले आरम्भ गरेको विद्रोह  चेत र परिवर्तनकारी धारलाई निभाले समाउँदै समकालीन नेपालको तस्बिर दुरुस्तै ल्याइदिने गरेको बताउनुभयो ।
समालोचक पुरुषोत्तम सुवेदीले रिमालबारे बोल्दै रिमालले नेपाली कवितालाई नयाँ कालखण्डमा प्रवेश गराएको उल्लेख गर्नुभयो । उहाँले रिमाल प्रगतिवादी धाराका शक्तिशाली र आरम्भकर्ता कवि भएको दावी गर्नुभयो ।
सदनका सचिव मित्रलाल पंज्ञानीले निभाले लेखनीबाट प्रहारको निशाना लगाउँदा विवेक नगुमाएको बताउँदै पुरस्कारका लागि समाजसेवी वसन्त रिजालले रु एक लाख बीज रकम प्रदान गरेको जानकारी दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र साहित्यकार आनन्ददेव भट्टले रिमालले मुक्त हिसाबले लेख्ने वातावरण बनाएको र आफूहरुलाई आफ्नो लेखनीद्वारा प्रभावित र उत्तेजित गराएको बताउनुभयो ।
पुरस्कृत व्यक्तित्व निभाले आफू रिमालको मार्गमा हिँड्ने साना कवि भएको बताउँदै पुरस्कारले आफूलाई हौस्याएको स्पष्ट गर्नुभयो ।  रिमालका सुपुत्र मदन रिमालले बुवाको स्मृतिमा प्रतिष्ठान स्थापना गर्ने र स्मृति ग्रन्थ प्रकाशन गरिने जानकारी दिनुभयो ।


सो अवसरमा अप्रा सुबेदार मोहन थापाद्वारा लिखित ‘सुबेदार मेघबहादुर थापा (राणाशासन, विश्वयुद्ध र मृत्युदण्ड)’ शीर्षक अनुसन्धानात्मक कृति विमोचन गरिएको थियो । थापालाई विद्रोह गरेको  प्रमाण विना नै जुद्धशम्शेरको आदेशमा  अनाहकमा  विसं १९९७ मा फाँसी दिइएको थियो । स्व मेघबहादुर साहित्य सदनका अध्यक्ष बुद्धिबहादुर थापा (अमिर)का पिता हुनुहुन्छ ।
कृतिमाथि टिप्पणी गर्दै प्रा.डा. सुरेन्द्र केसीले हेपिएका, छोपिएका र पिल्सिएका व्यक्तिको पनि इतिहास लेखिनुपर्ने बताउनुभयो ।