जुम्लामा भाषा गोष्ठी

जुम्ला, २ असार, २०७४ । नेपाल प्रज्ञा–प्रतिष्ठानका नेपाली भाषा, कोश तथा व्याकरण विभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारीले स्थानीय भाषिकालाई मानक नेपाली भाषा बनाउन खोजेर नेपाली भाषा बिगारेको बताउनुभएको छ । असार २ गते शुक्रबार जुम्ला बहुमुखी क्याम्पस जुम्लामा ‘नेपाली भाषा’ विषयक गोष्ठीमा उहाँले उक्त कुरा बताउनुभएको हो । गोष्ठीलाई सम्बोधन गदै प्राज्ञ अधिकारीले नेपाली भाषाको जग सिञ्जा नै भएको दाबी गर्नुभयो । अधिकारीले अहिले भाषिकाहरूलाई भाषा बनाउने अभियान चलिरहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, “अहिले नेपाली भाषाको आधुनिकीकरण र मानकीकरण भइरहेको छ, विकसित भाषा र त्यसको मानक बनाउने कुरा पनि चलिरहेको छ । यहाँका नागरिकहरूले नै स्थानीय भाषाको ज्यादा प्रयोग गरेर भाषा बिगारेका हुन् ।” उहाँले मध्यकालमा खस भाषा मानक भए पनि आधुनिक ज्ञान, विज्ञानका कुरा नहुँदा नेपाली भाषा संकाटोन्मुख अवस्थामा रहेको टिप्पणी गर्नुभयो । आफूले अहिले नेपाली शब्दकोषमा नभएका २५ हजार शब्द सङ्कलन गरी त्यसमा थपेर बृहत् शब्दकोष निर्माण गर्ने लक्ष्य राखेको पनि उहाँले सुनाउनुभयो ।
जुम्लाका भाषाविद् तथा संस्कृतिकर्मी रमानन्द आचार्यले खस भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाका शब्दकोषहरू थप्न परेमा अन्य कुनै ठाउँमा दुःख नगरी कर्णालीमा आए त्यहाँ १ लाख शब्द पाइने बताउनुभयो । जुम्ला बहुमुखी क्याम्पसका प्रमुख वसन्तराज भण्डारीले जुम्लामा पहिलो पटक ऐतिहासिक कार्यक्रम भएको र भाषा विज्ञलाई पाउँदा उहाँहरूबाट धेरै कुराहरु सिक्न सकिने बताउनुभयो । जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक प्रकाशचन्द्र खत्रीले सहजीकरण गर्नुभएको कार्यक्रममा विभिन्नले व्यक्तित्वहरूले आआफ्ना भनाइ राख्नुभएको थियो ।
–    जुम्लाबाट दाना शाहीको सहयोगमा