हीरक जयन्ती समापन एवम् राष्ट्रिय कविता महोत्सव–२०७४ सम्पन्न

काठमाडौँ, ९ असार, २०७४ । नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक जयन्ती समापनको एक कार्यक्रमको आयोजना गरी ६० औं वार्षिकोत्सव एवम् राष्ट्रिय कविता महोत्सव–२०७४ सम्पन्न गरेको छ ।

हीरक जयन्ती समापनको अवसरमा लामो समयदेखि प्रज्ञा–प्रतिष्ठानको उन्नयन र विकासमा विशिष्ट योगदान पु¥याएवापत पूर्व कुलपति राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व कुलपति बैरागी काइँला, पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी र पूर्व उपकुलपति मदनमणि दीक्षितलाई हीरक जयन्ती सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा कुलपति उप्रतीले प्रतिष्ठानमा २५ वर्ष दीर्घ सेवा गरेका कर्मचारीहरू गीता राई, भरतकुमार सुवेदी, जहरसिंह खड्का, शिवनारायण महर्जन र सावित्री नेपालीलाई जनही नगद रु. २५ हजारसहित दीर्घ सेवा पदक प्रदान गर्नुभयो । त्यस अवसरमा हीरक जयन्ती वर्षकै कार्ययोजना अनुसार ‘नेपाल प्रज्ञा–पतिष्ठानको गौरवमय ६० वर्ष’ तन्त्रपरम्परा, जातिय संस्कार, नेपालका नारी साहित्यकारहरू, सार्क मुलुकका नारी साहित्यकारहरू, विभिन्न भाषाका शब्दकोशहरू आदि जस्ता तीन दर्जन कृतिहरू सार्वजनिक पनि गरिएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले आपूm ३९ वर्षको हुनलाग्दा स्थापना भएको प्रतिष्ठान अहिले ६० वर्ष पुगेको र आपूm ९९ वर्षको पुग्न लागेको बताउनु भयो । ‘हाम्रो जस्तो सुन्दर देशमा हरेक कुरा कविता, गीत, नाटक र सिर्जना हुनसक्छन्’, राष्ट्रकवि घिमिरेले भन्नुभयो, ‘प्रफुल्ल बनेर मेरो हृदय आज यो भनिरहेको छ कि यो यात्रा निरन्तर बढोस् र त्यसमा म पनि समाहित भएर अगाडि बढ्न सकूँ ।’

कार्यक्रमका सभापति प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हीरक वर्षको यो अवधिमा प्रतिष्ठानले राष्ट्रिय वा अन्तर्राष्ट्रिय गोष्ठीहरू गर्ने, वाङ्मयका विभिन्न विधाहरू प्रकाशन गर्ने र अग्रज तथा राष्ट्रसेवामा कार्यरत कर्मचारीलाई सम्मान गर्ने  कार्ययोजना अनुसार यी कामहरू भएका हुन् , भन्नुभयो । उहाँले सबैको सहयोग र सद्भावले यी सबै कामहरू सम्भव भएको बताउँदै आगामी दिनहरूमा पनि निरन्तर सहयोगको आशा राख्नुभयो ।

उपस्थित अतिथिहरूलाई सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले स्वागत गर्र्नुभएको थियो ।  काव्यविभाग प्रमुख एवम् राष्ट्रिय कविता महोत्सव–२०७४ का संयोजक प्राज्ञ डा. अमर गिरीले महोत्सव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिष्ठान ६१ वर्षमा प्रवेश गर्दैगर्दा भइरहेको राष्ट्रिय कविता महोत्सवको सुरुवात भने आजभन्दा ५२ वर्ष अगाडि वि.सं. २०२२ सालदेखि निरन्तर भइरहेको छ, संयोजक गिरीले भन्नुभयो, ‘महोत्सवको लागि देशभरबाट २२९ वटा कविताहरू प्राप्त भएका थिए । कवि तथा समालोचकहरू वासुदेव अधिकारी, विधान आचार्य, डा.मधुसूदन गिरी, डा.खुमनारायण पौडेल र उपेन्द्र सुब्बा रहेको पाँच जनाको समितिले उत्कृष्ट ३२ जनालाई वाचनको लागि छनोट गरिएको हो ।’
डा. गिरीले छनोट भएका उत्कृष्ट कविताहरू मध्येबाट ५ जना पुरस्कृत हुनेछन्, जसमा प्रमाण–पत्र र पदकसहित प्रथम हुने एकजनालाई रु. ३० हजार, द्वितीय हुने एकजनालाई रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही रु. २० हजार प्रदान गरिने बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा कविता वाचन गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेको सभापतित्वमा आयोजित रास्ट्रिय कविता महोत्सव–२०७४ को कविता वाचन कार्यक्रममा महोत्सवका लागि छानिएका ३२ जना कविहरूसहित केही अतिथि कविहरूले पनि कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा अशेष मल्ल, कणाद महर्षी, डा. बेञ्जु शर्मा, रेशम विरही, हरिगोविन्द लुइटेल, स्नेह सायमी, हरिमाया भेटुवाल र कृष्ण प्रसाईंले अतिथि कविको रूपमा कविता वाचन गर्नुभएको थियो । त्यसैगरी अतिथिको रूपमा कविता वाचन गर्नुहुनेमा विमला तुम्खेवा, रमेश पौडेल, प्रह्लाद पोखरेल, गोपाल अस्क, टंक भट्टराई, पूर्ण इन्फादा, निलम कार्की निहारिका र सुरेश हाचेकाली हुनुहुन्थ्यो  ।

महोत्सवमा खोटाङका कवि चन्द्र रानाहँछाको ‘आँधीको यात्रा’ शीर्षकको कविता प्रथम भयो भने भोजपुरका कवि सुवास राई क्याप्टेनको ‘फरक’ शीर्षकको कविता द्वितीय भयो । त्यसैगरी दाङका दीपेन्द्र उपाध्यायको ‘लोकतन्त्र’, काभ्रेपलाञ्चोककी उर्मिला कोइरालाको ‘उज्यालोको आत्मकथा’ र काठमाडौंकी अमृता स्मृतिको ‘पूmलहरू जान्दैनन् युद्ध गर्न’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गर्न सफल भए । कविता महोत्सवको समापन सम्बोधन गर्दै उपकुलपति डा. घिमिरेले आजबाट प्रज्ञा–प्रतिष्ठान ६१ वर्षमा प्रवेश गर्दैछ, यो एकवर्षे हीरक महोत्सको समापन पनि हो, भन्नुभयो । वि.सं. २०२२ सालदेखि निरन्तर सञ्चालन गरिँदै आएको रास्ट्रिय कविता महोत्सवले कवि, सर्जकहरूमा उर्जा थप्ने काम गरिरहेको छ’ डा. घिमिरेले भन्नुभयो, ‘कविताले मनमा विचार र संवेदना दिएको छ, आज वाचित यी कविताले देशको तस्बिर हाम्रो आँखा अगाडि ल्याएको छ ।’

कार्यक्रमको अन्त्यमा उपकुलपति घिमिरेले प्रतियोगी कविहरू, अतिथि कविहरू र उपस्थित सबैमा धन्यवादसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।