समकालीन नेपाली कवितामा शिल्प: काव्य विमर्श

काठमाडौं, ८ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६० औं वाषर््िाकोत्सव तथा राष्ट्रिय कविता महोत्सवको पूर्वसन्ध्यामा ‘समकालीन नेपाली कवितामा शिल्प’ विषयक काव्य विमर्शको आयोजना गरेको छ । प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको सभापतित्व र कुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा सम्पन्न काव्य विमर्शमा डा. नारायण गड्तौलाले ‘समकालीन नेपाली कवितामा शिल्प’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले कविताका अन्तरवस्तुका विषयहरूमा धेरै छलफल भएका छन्, तर आजको यो कार्यक्रमले शिल्प र सौन्दर्यका दृष्टिले समकालीन कवितामा कसरी प्रभावकारी ढङ्गबाट काम भइरहेका छन् सोको जानकारी र तिनको स्तरीयकरणमा महत्वपूर्ण भूमिका खेल्न सकियोस् भन्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कविता भाषाको सबैभन्दा शक्तिशाली अभिव्यक्ति हो, समकालीनता जीवनलाई प्रभाव गर्ने समयको सर्वाधिक महत्त्वपूर्ण क्षण हो । साहित्यका सन्दर्भमा परिवर्तित समय अनुसार आज वा अहिलेको वर्तमान वा सम्प्रतिसँग सम्बद्ध अभिलक्षण र विशेषता हुनु नै समकालीनता हो, कार्यपत्र प्रस्तुत गर्दै डा. गड्तौलाले भन्नुभयो, ‘शिल्प कविताको सौन्दर्य वा कला पक्ष हो, प्रकृतिको पर्यावलोकनबाट आदिम मानवमा परेको प्रभावलाई कलामा अनुकरण गर्ने चेतनाले नै गुफाबाट, पर्णकुटी, घर, महल हुँदै विशिष्ट प्रासादको सभ्यतातर्फ मानव यात्रा लम्केको देखिन्छ ।’ पूर्वीय परम्परामा रस, अलङ्कार, रीति, ध्वनि, वक्रोक्ति जस्ता सिद्धान्तहरूले कविताकोको शिल्पको बारेमा मौलिक चिन्तन दिएका छन् भने पश्चिमी परम्परामा वाक्कलाशास्त्र, शैलीविज्ञान, रूपविज्ञान, संरचनावाद आदि सिद्धान्तमा काव्य शिल्पको बारेमा विमर्श भएको पाइन्छ, डा. गड्तौलाले आफ्नो कार्यपत्रमा भन्नुभएको छ । वहाँले भाषा, बिम्बविधान, प्रतीकविधान, अलङ्कारविधान, मानवीकरण जस्ता शिल्पले कविताको सूक्ष्म बुनोट गर्छन् भन्नुहुँदै ‘बिम्ब मानसिक तस्विर हो , वास्तवमा बिम्ब विधि र निषेध, चेतन र अचेतन, व्यक्ति र समाज आदिलाई जोड्ने सेतु हो’ भन्ने बताउनु भयो । ‘कवि भोक्ता बनेर, द्रष्टा बनेर, विषयलाई नाटकीकरण तथा आख्यानीकरण गरेर कथ्यलाई प्रस्तुत गर्ने पद्धति पाइन्छ, गड्तौलाले भन्नुभयो, ‘कला वा शिल्प परिवर्तन हुँदै जाने भएकोले समकालीन कविताको शिल्पचयनले नेपाली कवितालाई सर्वसाधारणसम्म पुग्ने मार्ग प्रशस्त गरेको छ ।’
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै कवि कृष्ण प्रधानले डा. गड्तौलाले छोटो समयमा निकै राम्रो काम गर्नुभएको छ, भन्नुहुँदै समकालीन भन्नाले एउटा निश्चित कालखण्डको अवधि हो, त्यसमा कार्यपत्रले विचारको स्पष्टतालाई सघन रूपमा ल्याएको छ, भन्ने बताउनु भयो । कार्यपत्रमा सौन्दर्य शिल्पलाई मात्र नभएर विचार शिल्पलाई पनि समावेश गर्नुपने देखिन्छ, प्रधानले भन्नुभयो, ‘शिल्प शब्दमा होइन विचार वा भाव पक्षमा देखिन्छ, यसमा कार्यपत्रले ध्यान पु¥याएको देखिंदैन ।’ अर्का टिप्पणीकार डा. मधुसूदन गिरीले कार्यपत्रमा समकालीनको समय कति हो ? त्यो निश्चित गरिएको छैन र कवितामा शिल्प शैली र प्रवृत्ति असीमित रूपमा बढ्दो छ, त्यसतर्फ ध्यान दिएको देखिँदै भन्नुहुँदै, आधुनिक कविता विचार र पहिचान बोकेर आएका छन्, ती पनि एक अर्थमा शिल्पविधान नै हुन्, भन्नुभयो ।
विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि लक्ष्मी उेडी, कन्हैया नसननी, प्रा.गोपीकृष्ण उपाध्याय, गोपाल अस्क, बालकृष्ण अधिकारी, सोझो गाउँले, विष्णु राई, रोशन जनकपुरी आदिले शब्द चयन ठीक नभएको, विषयको गहिराईसम्म पुग्न नसकेको, समय अनुसार अध्ययन, अनुसन्धान नभएको आदि जस्ता विचार तथा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको शाास्त्रीय र सैद्धान्तिक पक्षमा वहस चलाउन यो काव्य विमर्शको थालनी गरिएको हो, यो चर्चा र विमर्श अवश्य पनि फलदायी भएको होला भन्ने ठान्दछु, भन्नुभयो ।
कार्यक्रमका सभापति पूर्वकुलपति वैरागी काइँलाले कविहरूलाई सैद्धान्तिक धरातलको ज्ञान दिन एकेडेमीले राम्रो काम गरेको छ, भन्नुभयो । ‘समाजसँग नजिक भएर लेखिनु नै समकालीनता हो, यसले कविहरूलाई सापेक्ष तुल्याएको छ’ पूर्वकुलपति काइँलाले भन्नुभयो, ‘समकालीनतामा काल अवधि छुट्टिनु भनेको छलफलको सजिलोको लागि हो, शिल्प र शैलीपूर्ण भए कविता आपैm राम्रो बन्छ ।’