सोलुको सल्लेरीमा विचार गोष्ठी

सल्लेरी, सोलुखुम्बु, ३ आसर । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले साहित्यले समाजलाई जहिले पनि टुट्नबाट जोगाएर जुट्न प्रेरित गर्ने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र सगरमाथा प्रतिभा प्रतिष्ठानको संयुक्त आयोजनामा २०७४ असार ३ र ४ गते दुई दिन  सल्लेरीमा आयोजना गरिएको विचार गोष्ठी एवम् बृहत् कवि गोष्ठीमा बोल्दै उपकुलपति घिमिरेले समाजलाई एउटै मालामा गाँस्न साहित्य उपयुक्त माध्यम भएको बताउनुभयो ।
प्रतिष्ठानका प्राज्ञ प्रा.डा. ज्ञानु पाण्डेले पछिल्लो समयमा साहित्य व्यावसायिक बन्दै गएको र साहित्यबाट नै जीवनयापन सम्भव छ भन्ने कुरा सिद्ध हुन थालेको बताउनुभयो ।
उक्त कार्यक्रममा शिक्षा तथा साहित्यको क्षेत्रमा काम गर्दै आउनुभएका उद्धवकुमार शर्मा, हेरम्बराज बाँस्तोला, तोया अधिकारी, शुभलक्ष्मी कोइरालालगायतले जिल्लाको साहित्यिक अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा कवि–कवयित्रीले कविता वाचन गर्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष डा. रेनुका बस्नेतले साहित्यको क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
स्रोत ः रेडियो नेपाल