अनूदित कृतिका विषयमा बहस

काठमाडौँ, ३१ जेठ । चर्चित नेपाली साहित्यिक कृतिहरूको अन्य भाषामा अनुवाद गर्ने परम्परा पुरानै हो । बाहिरी भाषाका चर्चित कृतिहरू नेपाली भाषामा र नेपाली साहित्यका उत्कृष्ट कृतिहरू अन्य भाषामा अनूदित पनि हुँदै आएका छन् । नेपाली साहित्यमा अनुवादको स्थितिचाहिँ कस्तो छ त ? यसबारे जेठ ३१ गते बुधबार प्रज्ञा पुस्तकालयमा छलफल गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभागद्वारा आयोजित कार्यक्रममा बी.पी. कोइरालाका अनुवाद साहित्यदेखि रूसी भाषाबाट नेपालीमा अनूदित साहित्यसम्म छलफलको विषय बनाइयो । डा. तुलसी भट्टराईले ‘बी.पी.का अनूदित कृतिहरू’ शीर्षकमा र प्रा.डा. जङ्गब चौहानले ‘नेपाली भाषामा अनूदित रुसी साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टराईले बी.पी.का ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘आफ्नो कथा’ जस्ता कृति हिन्दी र अङ्ग्रेजी भाषामा अनूदित भएको बताउनुभयो । ‘जेल जर्नल’ मा विश्वसाहित्य, दर्शन, राजनीति र इतिहास विषयक ग्रन्थहरू एवम् स्रष्टाको उल्लेखले बी.पी. स्वयम् अनुवादक भएको पुष्टि हुने उहाँले बताउनुभयो ।
प्रा.डा. चौहानले रसियन साहित्यकारहरू आन्तोन चेखोभ, म्याक्सिम गोर्की, मिखाइल सोलोखोभ, निकोलाई गोगोललगायतका ४९ कृतिको नेपाली भाषामा अनूदित भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । कार्यक्रममा विजय दत्त, हरि गौतम, प्रा.डा. विष्णुराज आत्रेय, डा. गोपाल पोखरेल ‘विवश’, मेघराज अधिकारीले कार्यपत्रमाथि जिज्ञासा राख्नुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राजनीतिक परिवर्तनहरूमा साहित्यको अमह् भूमिका रहेको दृष्टान्त पेस गर्दै गोष्ठीमा प्रस्तुत कार्यपत्रहरूले पर्याप्त सूचनाहरू दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रज्ञा–प्रतिष्ठानले अनुवादलाई विशेष महत्व दिइकन थुप्रै उल्लेखनीय कार्यहरू गरिरहेको छ । र, केही महत्वपूर्ण अनूदित कृतिहरू हीरक महोत्सव समापनका अवसरमा प्रकाशित समेत हुँदैछन् ।”
नेपाली साहित्यका कृतिहरू अन्तर्राष्ट्रिय भाषामा कम अनूदित हुनुले नै नेपाली साहित्य विश्व बजारमा पुग्न नसकेको प्रतिष्ठानका पूर्वकुलपति एवम् साहित्यकार बैरागी काइँलाको दाबी थियो । उहाँले नेपाली साहित्यका तुलनामा अन्तर्राष्ट्रिय भाषाका कृतिहरू नेपाली भाषामा बढी अनूदित हुने गरेको बताउनुभयो । “यो पनि राम्रै हो, विश्वमा लेखिएका राम्रा र उत्कृष्ट साहित्य पढ्न पाइन्छ” उहाँले भन्नुभयो, “नेपाली साहित्यलाई विश्वबजारमा र्पुयाउन उत्कृष्ट नेपाली रचनाहरूको अनुवाद हुनै पर्छ ।” काइँलाले लिम्बू भाषाका रचनाहरू नेपाली भाषामा अनुवाद गरेको प्रसङ्ग झिक्दै नेपालका नेवार, अवधी, मगर, तामाङ, मैथली, भोजपुरीलगायत मातृभाषाहरूका कृतिहरू पनि नेपाली भाषामा अनुवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
‘आधुनिक जापानी कविता’, ‘पोइम्स अफ द सेन्चुरी’, ‘भोइस फ्रम नेपाल’ ‘बियोन्ड बोर्डर्स ः एन एन्थोलजी अफ सार्क पोयट्री’ लगायत आधा दर्जनभन्दा बढी कृतिहरू अनुवाद गरिसकेका प्रा.डा. अभि सुवेदीले अनुवादबाटै विश्व साहित्यको कुरा आएको बताउनुभयो । ‘विश्वका राम्रा रचनाहरूबारे अरू भाषाकाले पनि जानुन् भनेर अत्यन्त सङ्कटको अवस्थामा समेत अनुवाद भएको पाइन्छ । अनुवाद गरिएका साहित्यको गुणस्तरमा चाहिँ ध्यान दिनुपर्छ ।” उहाँको भनाइ थियो ।
‘देवदास’, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ र ‘रवीन्द्रनाथ टैगोरका कथाहरू’ नेपाली भाषामा अनूदित गराइसकेको प्रतिष्ठानको अनुवाद  विभागले ‘अनुवादक परिचय कोश’ ग्रन्थ प्रकाशनको तयारी गरिरहेको प्रतिष्ठानका अनुवाद विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ प्रा.डा. उषा ठाकुरले बताउनुभयो । कृतिहरू अनुवाद गरिरहेका साहित्यकारहरूको विस्तृत परिचय कोशमा रहने जनाउँदै उहाँले थप्नुभयो, “नेपालका ३ सय ९५ अनुवादकको नाम सङ्कलन भइसकेको छ । यसमा छुटेका अनुवादकहरूको नाम थप्ने काम पनि भइरहेको छ ।’
कार्यक्रमका सभाध्यक्ष प्रा.डा. गोविन्दराज भट्टराईले कार्यक्रम अत्यन्त उपलब्धिमूलक रहेको विचार प्रकट गर्नुहुँदै अनुवाद विधालाई सामान्य रूपमा लिनु नहुने बताउनुभयो ।