कपिलधाममा कवि लेखनाथको शालिक

कपिलवस्तु,  २६ जेष्ठ । कपिलवस्तुस्थित कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा कवि शिरोमणि लेखनाथ पौड्यालको शालिक स्थापना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २०७४ वैशाख २२ गते, शुक्रबार आयोजित समारोहमा कवि शिरोमणिको शालिक अनावरण गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानको सहयोगमा बाणगङ्गा साहित्यिक प्रतिष्ठान लौगाई, कपिलबस्तुले शालिक स्थापना गरेको हो ।
प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले कपिलधामजस्तो पवित्र स्थलमा कवि शिरोमणिको शालिक स्थापना गर्न पाउनु गर्वको कुरा भएको उल्लेख गर्नुभयो । उहाँले बहुभाषी कवि गोष्ठीमा वाचित बहुभाषाका कविताहरूले आनन्दको महसुस भएको बताउनुभयो ।
बाणगङ्गा साहित्यिक प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको सभापतित्वमा आयोजित कविशिरोमणि लेखनाथ पौड्यालको शालिक अनावरण तथा बहुभाषी कवि गोष्ठीमा     प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रा.डा. विष्णुराज आत्रेय (लाटोसाथी), कपिल आरोग्य मन्दिरका अध्यक्ष शङ्करप्रसाद आचार्य, लुम्बिनी वाङ्मय प्रतिष्ठान, रुपन्देहीका अध्यक्ष हिमलाल ज्ञवाली, छन्दवादी समाज, नेपालका पूर्व अध्यक्ष ऋषिकेशव भारद्वाज, शिवगढी साहित्य समाजका अध्यक्ष अर्जुन पौडेल, जिल्ला शिक्षा कार्यालय, कपिलबस्तुका उपसचिव सूर्यप्रसाद भुसाल, थारु कल्याण कारिणीसभा कपिलबस्तुका अध्यक्ष जन्जिरप्रसाद थारु लगायत जिल्लास्थित विभिन्न कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।