रिमाल शतवार्षिकीका अवसरमा विचार गोष्ठी

काठमाडौँ, १८ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठान र दायित्व वाङ्मय प्रतिष्ठानले २०७४ जेठ १८ गते वि.सं. १९७५ जेठ १८ गते जन्मेका कवि तथा राजनीतिज्ञ रिमालको योगदानबारे प्रवचन गरी शतवार्षिक कार्यक्रम आरम्भ गरेकौ छ । कार्यक्रममा राजनीतिकर्मी अरविन्द रिमालले राष्ट्रवादी रिमाल सही अर्थमा माक्र्सवादी चिन्तक भएको बताउनुभयो । उहाँले छोटो समयमै बिपीजत्तिकै व्यक्तित्व बनाउन सफल रिमालमा हजारौँ जनतालाई सडकमा उतार्ने क्षमता थियो भन्नुभयो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली गद्य कविताका जनक र समाजको नयाँ विश्लेषणमा आधारित नाटकका प्रवत्र्तक रिमालले नेपाली समाजको रुपान्तरणका लागि नयाँ सपना दिएको बताउनुभयो । उहाँका अनुसार प्रज्ञा–प्रतिष्ठानले आगामी महिना रिमालको सिर्जनायात्राबारे बहस चलाउने छ ।
प्रज्ञा–प्रतिष्ठान, काव्य विभागका प्रमुख डा. अमर गिरीले रिमालले सुरु गरेको गद्यकविताकै धारमा अहिले अधिकांश कविहरु हिँडिरहेको बताउँदै रिमालको लेखन प्रवृत्तिलाई अझै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले आफूहरु प्रज्ञा–प्रतिष्ठानमा रहँदा रिमाल जयन्ती नमनाइएकामा दुःख व्यक्त गर्दै खतराको सामना गर्न सक्नु नै उनको ठूलो गुण हो भन्नुभयो । साहित्यकार रिमालका सुपुत्र मदनले पिताका स्मृतिमा प्रतिष्ठान स्थापना गरिने र घोस्ट राइटिङ नेपालको प्रकाशनमा उहाँको स्मृति ग्रन्थ प्रकाशन हुने जानकारी दिनुभयो ।

दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्तले आगामी दिनमा चूडानाथ भट्टराय, अलि मियाँ, केदारमान व्यथित, यदुनाथ खनाल र नयराज पन्तको शतावार्षिकी मनाइने जानकारी दिनुभयो । सो अवसरमा कृष्ण प्रधानको ‘सूर्यग्रहण’ गद्य कवितासङ्ग्रह(३२कविता) र नारायण ज्ञवालीको ‘जागै छ चन्द्रगिरि’ पद्य कवितासङ्ग्रह(३६ कविता) विमोचन गरियो ।

पहिलो कवितासङ्ग्रहमाथि समीक्षा गर्दैैै साहित्यकार प्रमोद प्रधानले ती कवितामा विचार, आख्यानतत्त्व, आत्मसंवाद र व्यङ्ग्यचेतना रहेको बताउनुभयो । साहित्यकार लेखप्रसाद निरौलाले ज्ञवालीका कवितामा सबल विचार, युगबोध, समसामयिकता र प्रकृति अभिव्यक्त भएको टिप्पणी गर्नुभयो ।