‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयक गोष्ठी

काठमाडौँ । साहित्यकार पारिजातको २४ औँ स्मृति दिवसका अवसरमा उहाँका कथाका प्रवृत्तिहरूबारे चर्चा गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०७४ जेठ १२ गते शुक्रबार प्रज्ञा–भवनमा आयोजित ‘पारिजातका कथाका प्रवृत्तिहरू’ विषयक विचार गोष्ठीमा साहित्यकार पारिजातका व्यक्तित्वका साथै उहाँले समाज र साहित्यमा पु¥याउनुभएको योगदानबारे चर्चा गरिएको हो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले व्यक्तिगत र सामाजिक गरी लेखकका दुई प्रकारको जीवन हुने उल्लेख गर्दै नेपाली साहित्यिक क्षेत्रमा जस्तै सामाजिक रूपान्तरणको आन्दोलनमा समेत पारिजातको अतुलनीय योगदान रहेको स्मरण गराउनुभयो । कुलपतिले बहुविधामा कलम चलाउनु हुने पारिजातको लेखनमा सामाजिक यथार्थवादी, समाजवादी, विसंगतिवादी तथा प्रगतिवादी प्रवृत्तिहरू पाइने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रदीप नेपालले पारिजातले सुरूमा लेखेका कथामा यौन कुण्ठा हावी रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “राल्फाकालीन समययता भने उहाँको लेखनी समाजप्रति उत्तरदायी भएको पाइन्छ ।’’
प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पारिजात शोषित, पीडित र न्यायप्रेमी जनताका पक्षमा कलम चलाउने साहित्यकार भएको उल्लेख गर्नुभयो । उहाँले पारिजातका कथाका प्रवृत्तिहरूबारे विचार विमर्श गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रगतिवादी साहित्यका क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको धारणा राख्नुभयो ।


नेपाली लेखक सङ्घका अध्यक्ष तथा प्राज्ञ श्रवण मुकारुङले काठमाडौँ आएपछि सबैभन्दा पहिला आफूले पारिजातलाई कविता सुनाएर उहाँबाट स्याबासी पाएको स्मरण गर्दै पारिजातलाई एउटै कोणबाट मात्रै हेरिनु नहुने विचार व्यक्त गर्नुभयो ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष रायनले प्रज्ञा–प्रतिष्ठानले ढिलै भए पनि पारिजातलाई सम्झेको भन्दै प्रतिष्ठानले उहाँका साहित्य–सिर्जनहरूमाथि थप कार्य गर्ने अपेक्षा गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख एवम् कार्यक्रमका संयोजक प्राज्ञ मातृका पोखरेलले पारिजात एउटा लेखक मात्र नभएर साहित्यिक–सामाजिक अभियन्तासमेत भएको स्मरण गर्नुभयो ।
साहित्यकार डिआर पोखरेलले गोष्ठीपत्र प्रस्तुत गर्दै पारिजातले नेपाली साहित्यमा दिएको योगदान प्रेरणादायी रहेको बताउनुभयो । कार्यक्रममा ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘साल्गीको बलात्कृत आँसु’ र ‘बधशाला जाँदा आउँदा’ लगायत कृतिका रचयिता पारिजातका कथाका प्रवृत्तिहरूमाथि चर्चा गरिएको थियो ।
वि.सं. १९९४ दार्जिलिङको लिङ्गिया चियाकमानमा जन्मिनुभएकी पारिजातले संस्मरण, कथा, कविता, नाटक र निबन्धसहित नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाउनुभएको छ । वि.सं २०५० वैशाख ५ गते काठमाडौँको वीर अस्पतालमा उहाँको निधन भएको थियो ।