सकियो वाङ्मय सङ्गोष्ठी

काठमाडौँ, ८ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो हीरक जयन्तीको अवसरमा जेठ ६ गतेदेखि आयोजना गरेको ‘त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी’ सकिएको छ । सोमबार बृहत् कवि गोष्ठीको आयोजना गर्दै सङ्गोष्ठी सकिएको हो । सङ्गोष्ठी सोचेभन्दा पनि उल्लेख्य रुपमा सफल भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रेतीले बताउनुभयो ।
उपकुलपति डा. विष्णुविभु घिमिरेले सङ्गोष्ठीको समापन गर्दै कवि तथा साहित्यकारहरूले नलेख्ने हो भने समय सुस्त हुने विचार प्रकट गर्दै समाज र समयलाई गतिशील बनाउन वाङ्मयको भूमिका अहम् हुने धारणा राख्नुभयो ।
नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने वाङ्मय साधकहरू आनन्ददेव भट्ट, चुडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई एक लाख राशिको पुरस्कारद्वारा सम्मानित गर्दै आरम्भ भएको सङ्गोष्ठीलाई प्रतिष्ठानका पूर्व कुलपतिद्वय माधवप्रसाद घिमिरे, बैरागी काइँला, संस्कृतिविद् सत्यमोहन जोशी, सिक्किमकी साहित्यकार डा. कविता लामालगायतले सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानले गौरवमय कार्य गरेको धारणा व्यक्त गर्नुएको थियो ।


देशका सात वटै प्रदेश र भारतका असम, कलकत्ता, डुवर्स, सिलगुढी, सिक्किम, कालेबुङ, दार्जिलिङबाट स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको सङ्गोष्ठीमा ‘नेपाल–भारत सम्बन्ध प्रवर्धनमा १९५० को शान्ति तथा मैत्री सन्धिको सान्दर्भिकता’, ‘नेपालमा बोलिने भाषाहरुको संवैधानिक स्थिति र भाषिक नीति’ विषयमा समूह विमर्श तथा विचार गोष्ठी आयोजना गरिएको थियो ।
यसै गरी ‘समकालीन नेपाली कवितामा समाज’,  ‘समकालीन नेपाली आख्यानमा राजनीति’,  ‘समालोचनामा  ‘म’ को उपस्थिति ः कति सान्दर्भिक कति असान्दर्भिक’, ‘अनुवादक परिचय कोश ः परिकल्पना, निर्माण प्रकृया र चुनौती’, ‘नेपालका विभिन्न भाषिक समुदायमा लोकवार्ताको अध्ययन परम्परा र चुनौती’,  ‘नेपालमा बाल साहित्य ः हिजो–आज र भोलि’ शीर्षकमा बहस चलाइएको थियो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीका अनुसार सङ्गोष्ठीको अन्तिम दिन चारवटा कार्यपत्रमाथि छलफल गरियो । डा. साफल्य अमात्यले ‘नेपालमा नदी संस्कृति ः एक अवलोकन’, डा. काशीनाथ न्यौपानेले ‘दर्शन परम्परामा दुःखनाश र आनन्द प्राप्तिको अवधारणा’, डुवर्सका रूपेश शर्माले ‘भारतीय नेपाली साहित्यमा गद्य साहित्यको अवस्था’ र सिलगुढीका डा. कृष्णराज घतानीले ‘भारतीय नेपाली साहित्यमा पद्य साहित्यको अवस्था’ शीर्षकका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।