नेपालगञ्जमा मध्य तथा पश्चिमाञ्चल वाङ्मय गोष्ठी

काठमाडौँ, ३१ चैत्र । वि.सं २०७३ चैत्र २४ र २५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हीरक महोत्सवका सन्दर्भमा बाँकेको नेपालगञ्जमा दुई दिने वाङ्मय गोष्ठीको आयोजना गरियो । ‘मध्य तथा सुदूर पश्चिमाञ्चल वाङ्मय गोष्ठी’को प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि गोष्ठीलाई सम्बोधन गर्दै कुलपतिले प्रतिष्ठानले हीरक महोत्सवका अवसरमा राष्ट्रका विभिन्न क्षेत्रमा प्राज्ञिक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । कुलपतिले भन्नुभयो, ‘मध्य तथा सुदूरपश्चिमको भाषा, संस्कृति र कला–साहित्यलाई मूलधारको साहित्यमा जोड्न यो वाङ्मय गोष्ठी राखिएको हो ।’ उहाँले प्रतिष्ठान अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा लागेको तथा विश्वका ज्ञानविज्ञानलाई मुलुकमा भित्र्याउन र यहाँको ज्ञानविज्ञानलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउन प्रतिष्ठान प्रतिबद्ध भएर लागिरहेको प्रस्ट्याउनु भयो ।
दुई दिनसम्म चलेको गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले वि.सं. २०१४ सालमा स्थापित प्रतिष्ठान २०७३ मा आइपुग्दा हीरक वर्षमा  प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सदस्यसचिव गिरीका अनुसार राजधानीबाहिर दुई क्षेत्रमा यस प्रकारको प्रमुख गोष्ठी गरिएको हो । यसअघि फागुनको १९ र २० गते पूर्वको विराटनगरमा पूर्वाञ्चलस्तरीय वाङ्मय गोष्ठी आयोजना गरिएको थियो । उहाँले यस कार्यक्रमले स्थानीय भाषा–संस्कृति र साहित्यको समृद्धिमा उल्लेखनीय भूमिका खेल्नु धारणा राख्नुभयो ।
मध्य तथा सुदूर पश्चिमका विभिन्न जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको गोष्ठीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. उषा ठाकुर, डा. अमर गिरी र नर्मदेश्वरी सत्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसै गरी उच्च अदालतका मुख्य न्यायाधीश शेराज सिवाकोटी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, मदन पुरस्कार विजेता कथाकार रामलाल जोशी, साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार सच्चिदानन्द चौवे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
गोष्ठीमा डा. खगेन्द्रप्रसाद घोडासैनीले ‘मध्य तथा सुदूर पश्चिमका भाषिकाको नेपाली भाषामा योगदान’, प्राज्ञ वासुदेव पाण्डेयले ‘सुदूर पश्चिमाञ्चलको नेपाली कविताको रुपरेखा’, प्राज्ञ तथा प्रा. जगत उपाध्यय ‘प्रेक्षित’ले, ‘समकालीन नेपाली कवितामा मध्यपश्चिमको योगदान’ विक्रममणि त्रिपाठीले ‘अवधि र थारु साहित्यका अनुदित कृतिहरू र अनुवादको दशा र दिशा’, इद्रियस सायलले ‘नेपालीमा प्रचलित उर्दू साहित्यको अवस्था’, लक्की चौधरीले ‘नेपालमा प्रचलित थारु साहित्यको अवस्था’, प्रा.डा. बद्रीप्रसाद विनाडीले ‘डोटेली साहित्यको अवस्था’, डा. मधुसुदन गिरीले ‘मध्यपश्चिमको लोकसाहित्यको अवस्था’ र बालकृष्ण शर्माले ‘मध्य तथा सुदूरपश्चिमको आख्यान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन विभिन्न जिल्लाबाट सहभागी कविहरूद्वारा कविता वाचन गरिएको थियो भने  कार्यक्रममा स्थानीय कलाकारहरूद्वारा परम्परागत लोकनृत्यहरूसमेत प्रस्तुत गरिएको थियो । वाङ्मय गोष्ठी प्राज्ञ सभा सदस्य हरिहर तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

हीरक महोत्सवमा दस साधकलाई पुरस्कृत गरिने

काठमाडौँ, २२ चैत्र । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली वाङ्मयका दस विशिष्ट प्रतिभाहरूलाई जनही एक लाख नगदसहित ‘प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो ।
प्रतिष्ठानले हीरक महोत्सवको अवसरमा आगामी २०७४ जेठ ६, ७ र ८ गते राजधानीमा आयोजना गर्ने बृहत् राष्ट्रिय वाङ्मय गोष्ठीका अवसरमा  नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध विधामा विशिष्ट योगदान पु¥याउने विशिष्ट प्रतिभा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
कुलपति उप्रेतीले भन्नुभयो, “यसका साथै प्रतिष्ठानले सो अवसरमा ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘साठी वर्षका भाषिक चर्चा’, ‘मैथिली–नेपाली–अङ्ग्रेजी शब्दकोश’, ‘तामाङ व्याकरण’ लगायत करिब तीन दर्जन महत्वपूर्ण ग्रन्थ–पुस्तकहरूको प्रकाशन गर्र्नेछ ।”
उपकुलपति डा. विष्णुविभु घिमिरेले २०७३ असार ९ गतेदेखि प्रतिष्ठान हीरक वर्षमा प्रवेश गरेको र सो उपलक्ष्यमा त्यसयता देशभरि राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका गोष्ठी तथा समारोहहरूको आयोजना भइरहेको सुनाउनुभयो । उहाँले थप्नुभयो, “आगामी असार ९ गते राजधानीमा आयोजना हुने वार्षिक उत्सवसँगै यो हीरक महोत्सव समापन हुनेछ ।”
सदस्य सचिव  प्रा.डा. जीवेन्द्रदेव गिरीका अनुसार यसै आर्थिक वर्षभित्र प्रतिष्ठानले नवनिर्मित पुस्तकालय भवनमा ई–पुस्तकालय सञ्चालनको तयारी गरेको छ । साथै सो भवनको भुइँतलामा अत्याधुनिक छापाखाना सञ्चालन गर्ने प्रतिष्ठानको तयारी छ । छापाखाना मेशीन खरिदका लागि बोलपत्र आव्हान गरिसकिएको उहाँले बताउनुभयो । छापाखान मेशीन सरकारको सहयोगमा ल्याउन लागिएको पनि उहाँले जानकारी गराउनुभयो ।

राष्ट्रपतिद्वारा कविहरू पुरस्कृत

काठमाडौँ, १९ चैत्र । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा विजयी कविहरूलाई पुरस्कार तथा पदक प्रदान गर्नुभएको छ । प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा चैत्र १७ गते बिहीबार आयोजना गरेको पुरस्कार अर्पण समारोहमा राष्ट्रपतिले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

समारोेहमा गत वर्ष र यस वर्ष कविता महोत्सवमा विजयी हुन सफल कविहरूलाई पुरस्कृत गरिएको थियो । समारोहमा यसै वर्षको असार ९ गते आयोजित कविता महोत्सवमा प्रथम भएका कवि मणिराज सिंह, द्वितीय स्थान हासिल गर्न सफल पुरु लम्साल र तृतीय स्थान हासिल गर्ने कविहरू असीम सागर, त्रिलोचन आचार्य र मञ्जुश्री गिरीलाई पदक, प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरी गत वर्ष आयोजित कविता महोत्सवमा तृतीय भएका कविहरू  राजु स्याङ्तान, सोझो गाउँले र सुदेश सत्याललाई राष्ट्रपतिले पुरस्कृत गर्नुभयो । प्रतिष्ठानकोे नियमविपरीत भएकाले गत वर्षका प्रथम र द्वितीय स्थान हासिल गरेका कविलाई भने पुरस्कार दिइएन ।

प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरियो । समारोहमा पुरस्कृत कविहरूले आ–आफ्ना कविता सुनाए । कविता श्रवण गरिसकेपछि राष्ट्रपतिज्यूले कविताहरू समसामयिक, चिन्तनशील र सम्प्रेषणीय भएको बताउनुभयो । उहाँले सिर्जना र प्रतिभालाई मञ्च दिनु आवश्यक रहेको औँल्याउँदै लोकतन्त्र स्थापनामा साहित्यको अमह् भूमिका रहेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानले वि.सं. २०२२ देखि आफ्नो स्थापना दिवसका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । पहिलो स्थापना दिवसका अवसरमा आयोजित महोत्सवमा भैरव अर्याल प्रथम भएका थिए । त्यो बेला वानीरा गिरी द्वितीय र गोविन्द भट्ट तृतीय भएका थिए । समारोहमा तृतीय स्थान प्राप्त भट्टको ‘नैतिकता’ शीर्षक कविता पनि सुनाइएको थियो ।


गत दुई वर्षअघिदेखि विगतमा भन्दा पृथक् ढङ्गले कविता महोत्सवको आयोजना गर्ने गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो । ‘कवितासम्बन्धी विमर्शसहित गत दुई वर्षअघिदेखि हामीले राष्ट्रमा बोलिने विभिन्न मातृभाषाका कविताको महोत्सव पनि आयोजना गर्न थालेका छौँ ।’

समारोहमा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले विषयमाथि प्रकाश पार्नुभएको थियो । काव्यविभाग प्रमुख डा. अमर गिरीले कविता महोत्सवको प्रतिवेदन प्रस्तुत गर्दै कविता विधाको उन्नयनका खातिर  महोत्सव आयोजना गर्ने गरिएको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले राष्ट्रपतिज्यू र आमन्त्रित अतिथिहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रज्ञामा मनाइयो विश्व कविता दिवस

काठमाडौँ, ८ चैत्र । विश्व कविता दिवस (२१मार्च)का अवसरमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विशेष कवि गोष्ठीको आयोजना गरियो । कवि गोष्ठीमा चौतीस जना नयाँ–पुराना पुस्तका कविहरूले कविता वाचन गर्नुभयो । उक्त विशेष कवि गोष्ठीमा विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, पूर्णविराम, ज्ञानुवाकर पौडेल, विजय सुब्बा, वासुदेव अधिकारी, प्रतिसरा सायमी, विप्लव ढकाल, मोमिला, भीष्म उप्रेती, उमेश राई अकिञ्चन, केबल विनावी, केशव सिलवाल, कृष्ण प्रधान, गीता कार्की, गीता त्रिपाठी, टङ्क उप्रेती, धर्मेन्द्रविक्रम नेम्बाङले कविता सुनाउनुभयो ।
यसै गरी  गोष्ठीमा निभा शाह, बाबु त्रिपाठी, मणि लोहनी, मदन राई ‘लामाखुले’, यशोदा अधिकारी, राजु स्याङ्तान, रामप्रसाद ज्ञवाली, बिना थिङ, विमला तुम्खेवा, शकुन्तला जोशी, सुरेश किरण, स्नेह सायमी, स्वप्निल स्मृति, हरिहर तिमिल्सिनाले कविता वाचन गर्नुभएको थियो ।
उक्त कवि गोष्ठीका  प्रमुख अतिथि प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले समाजसँग प्रत्यक्ष संवाद गर्ने विधा नै कविता भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सद्भाव कायम गर्न पनि कविताको अहम् भूमिका रहन्छ ।’
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवस विश्वभरिका कविहरुका लागि भातृत्व, शान्ति र सद्भाव प्रकट गर्ने पर्वका रूप मनाउँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरेले कविता व्याख्या गर्ने नभएर अनुभूत गर्ने विधा भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजका कविताहरू सुन्दा यही कुराको पुष्टी हुन्छ ।’


उक्त कार्यक्रमबारे प्रकाश पार्दै प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ डा. अमर गिरीले युनेस्कोले सन् २००० देखि विश्व कविता दिवस मनाउन आरम्भ गरेको उल्लेख गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानले केही वर्ष पहिलेदेखि विश्व कविता दिवस मनाउन थालेको उल्लेख गर्नुभयो । उहाँले कविताका माध्यमबाट मानिसको सौन्र्दयात्मक आवश्यकताको पूर्ति, भाषा तथा संस्कृतिको संरक्षण, सद्भाव तथा सहिष्णुताको निर्माण गर्न सकिने कुरालाई केन्द्रमा राखेर युनेस्कोले विश्व कविता दिवस मनाउन आरम्भ गरेको चर्चा गर्नुभयो ।

भीमनिधिको १०६औँ जन्मजयन्ती

काठमाडौँ, ३० फागुन ।  नेपाली साहित्यका मूर्धन्य साहित्यकार भीमनिधि तिवारीको १०६औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा संयुक्त रूपमा सोमबार प्रज्ञाभवन कमलादीमा एक विशेष समारोहको  आयोजना गरियो ।
सो समारोहलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले तिवारी नेपाली साहित्यका बहुमुखी प्रतिभा सम्पन्न  स्रष्टा भएको धारणा राख्नुभयो । उप्रेतीले भन्नुभयो, ‘तिवारीको योगदान नेपाली साहित्यमा अतुलनीय छ ।’
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले कथा, कविता, गजल, नाटक लगायत साहित्यका प्रायः सबै विधामा कलम चलाउनुहुने तिवारीलाई नेपाली साहित्यजगत्ले कहिल्यै पनि बिर्सिन नसक्ने विचार व्यक्त गर्नुभयो ।
तिवारी साहित्य समितिका अध्यक्ष प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई ‘भीमनिधि साहित्य पुरस्कार’ र वरिष्ठ नाट्यकर्मी रुद्रराज पाण्डेलाई ‘भीमनिधि नाट्य पुरस्कार’ समर्पण गरियो । पुरस्कारको राशि पच्चीस–पच्चीस हजार रुपैयाँ रहेको छ ।


यसैगरी नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत्  वाङ्लुङका स्रष्टा काजी रोशन, तन्नेरी द्वमासिकका सम्पादक डा. नेत्र एटम र स्याङ्जा साहित्य प्रतिष्ठानलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा तिवारी साहित्य समितिकी सदस्य सचिव डा. वेन्जु शर्माले संस्था तथा तिवारीको साहित्यिक योगदानमाथि प्रकाश पार्नुभएको थियो भने डा. तुलसी भट्टराईले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूका विषयमा बोल्नु भएको थियो । यसै गरी कार्यक्रममा प्रा.डा. दुर्गाप्रसाद अर्यालले नेपाली साहित्यमा साहित्यकार भीमनिधि तिवारीको योगदानका विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा कुलपतिद्वारा तिवारीका कथा सङ्ग्रह ‘गुलियो’ र ‘भजनको सीडी’ पनि विमोचन गरिएको थियो ।

नारी दिवसका अवसरमा विशेष विचार गोष्ठी

काठमाडौँ, २७ फागुन । “नारी र पुरुषबिचको सहअस्तित्व र अन्तरसम्बन्ध प्रगाढ बने मात्रै जीवन सफल र सुमधुर हुन्छ” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको समालोचना तथा निबन्ध विभागद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।
‘नारी र पुरुष अन्तरअस्तित्व सम्बन्धि अवधारणा र साहित्यमा त्यसको प्रभाव’ विषयक विशेष विचार गोष्ठीमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले “नारी र पुरुष सँगसँगै जानुको विकल्प नरहेको” धारणा व्यक्त गर्नु भयो । उहाँले बुद्धदर्शनको उक्ति उद्यृत गर्दै नारी र पुरुष अन्तरअस्तित्वमा जोड दिनु भयो, “यदि यो छ भने त्यो छ, यदि यो छैन भने त्यो छैन ।”


प्रतिष्ठानकी समालोचना तथा निबन्ध विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ  प्रा.डा. ज्ञानू पाण्डेले ‘‘समाजले चाहेअनुरुपको उपलब्धि अझै नभइरहेको” उल्लेख गर्नुहुँदै “नारी र पुरुष दुईटैले जितेको संसार निर्माणमा नारी दिवसले सहयोग पु¥याउने” विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समालोचक तथा अनुवादक बलराम अधिकारीले गोष्ठीको शीषर्कमा आधारित रहेर अवधारणापत्र प्रस्तुत गर्नुभयो । अधिकारीको अवधारणापत्रले ‘नारीशक्ति अपार रहेका’ उल्लेख गर्दै साहित्यमा चाहिँ प्रभावकारी रूपमा त्यसको प्रभाव नदेखिएको निचोड रहेको थियो ।
त्यसै गरी कार्यक्रममा वरिष्ठ लैङ्गिक विज्ञ प्रा.डा. चन्द्रा भद्राले विशेष प्रवचन दिनु भयो । “नारीलाई कुनै पनि निकायमा सहभागिता नदिई गरिएको कार्य फलदायी नहुने” विचार व्यक्त गर्दै उहाँले “आम महिलाको जीवनशैली र दैनिकी हेर्दा नै नारीशक्ति र सामथ्र्यबारे प्रष्ट हुने” सुनाउनु भयो ।


प्रा.डा. पे्रमशान्ति तुलाधरको सभापतित्वमा सम्पन्न उक्त  गोष्ठीमा प्रा.डा. विष्णु एस राई, प्रा.डा. विणा पौडेल,सञ्चारकर्मी एवम् लेखक कपिल काफ्ले र सञ्चारकर्मी नेहा शर्माले विषयवस्तुमाथि सङ्क्षिप्त प्रवचन दिनुभएको थियो ।
गोष्ठीमा प्राज्ञ एवम् कवि श्रवण मुकारुङले ‘आइमाई’ शीर्षकको कविता र कलाकार हरिवंश आचार्यले ‘तिम्रो माया उनान्सय मेरो माया सय…’ बोलको गीत सुनाउनु भएको थियो । सो अवसरमा कुलपति उप्रेतीद्वारा प्रज्ञा–प्रतिष्ठानले प्रकाशन र प्रा.डा. कुमारप्रसाद कोइराला र रत्नमणि नेपालले सम्पादन गरेको ‘नेपालका नारी साहित्यकार’ नामक परिचय कोश विमोचन गरिएको थियो ।

पूर्वाञ्चल वाङ्मय गोष्ठी सम्पन्न

विराटनगर । पूर्वाञ्चलको ऐतिहासिक नगरी विराटनगरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक वर्षको अवसरमा ‘पूर्वाञ्चल वाङ्मय गोष्ठी’ आयोजना गरेको छ ।  फागुन १९ र २० गते हाटखोलास्थित आरोहण गुरुकुलमा  सम्पन्न सो गोष्ठीमा समालोचना, संस्कृति, मातृभाषा र उपन्यास सम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । समालोचनासम्बन्धी रामजी तिमल्सिना, संस्कृतिसम्बन्धी डा. सोमप्रसाद खतिवडा, मातृभाषासम्बन्धी मुनाराज शेर्मा र उपन्याससम्बन्धी डा. गोपाल भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि क्रमशः डा हरिहर भण्डारी, दधिराज सुवेदी, देवान किराँती र डा. बद्रीविशाल पोखरेलले टिप्पणी गर्नु भएको थियो ।

प्राध्यापक बालकृष्ण पोखरेलद्वारा उद्घाटित उद्घाटन सत्र समारोहको सभापतित्व प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो । उुद्घाटन सत्रमा साहित्यकार दधिराज सुवेदी र प्रगतिशील लेखक सङ्घकी उपाध्यक्ष कवि मिश्र बैजयन्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।  प्रमुख अतिथि पोखरेलले विराटनगरलाई रोजेर वाङ्मय गोष्ठी आयोजना गरिएकोमा प्रतिष्ठानप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘पूर्वमा यस्ता गतिविधिको खाँचो थियो । यसपालि प्रज्ञा–प्रतिष्ठानले पूरा गरिदियो । पूर्व धन्य भएको छ ।’

उपकुलपति घिमिरेले प्रतिष्ठानले हीरक वर्षको अवसरमा पूर्वको विराटनगरपछि चैत्रको दोस्रो  हप्तातिर पश्चिमको नेपालगञ्जमा बृहत् वाङमय गोष्ठी आयोजना गर्ने सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय कार्यक्रमचाहिँ वैशाखको तेस्रो सातातिर राजधानीमा आयोजना गरिने छ ।’
उद्घाटनपछि विचार गोष्ठीको आयोजना गरियो । गोष्ठीको प्रथम सत्रको सभापतित्व प्राज्ञ डा. ज्ञानु पाण्डेले र दोस्रो सत्रको सभापतित्व प्राज्ञ मातृका पोखरेलले गर्नु भएको थियो । गोष्ठीको औचित्यमाथि प्राज्ञ  दिनेशराज पन्तले प्रकाश पार्नु भएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको हीरक वर्ष पूवाञ्चल वाङ्मय गोष्ठीको दोस्रो दिन अर्थात फागुन २० गते विराटनगरमा करिब एक सय कविबाट कविता वाचनसहित गोष्ठी समापन गरियो । बिहान ९ बजे प्रारम्भ भएको गोष्ठी साँझ ५ बजेसम्म चलेको थियो ।

प्राज्ञ श्रवण मुकारुङको सभापतित्वमा दोस्रो दिन कविता महोत्सव सञ्चालन भएको थियो । प्राज्ञ मुकारुङले वाचित कविताहरूले समयको आवाज बोलेको धारणा व्यक्त गर्नुभयो । सो कार्यक्रममा स्वागत गर्दै प्राज्ञ शशी लुमुम्बूले पूर्वको कार्यक्रमले ऊर्जा मिलेको बताउनुभयो ।


कविता गोष्ठीमा कविहरू मन्जु काँचुली, कुन्ता शर्मा, मातृका पोखरेल, अनिल पौडेल, भवानी क्षत्री, मनु मन्जिल, सुमन पोखरेल,पुन्य कार्की, राधिका गुरागाईं, विमल वैद्य, अयोध्यानाथ चौधरी, रामविक्रम थापा, सुको साइबर, सविता गौतम दाहाल, मुकुन्द प्रयास, डा भीम खतिवडा, डा नवराज सुब्बा, लीला अनमोल, मधु पोखरेल, जीविका खतिवडा, धनकुटे कान्छा, केजी सुब्बा, बोधकुमार घिमिरे, मन्जुश्री गिरी, डा मेदिनीप्रसाद शर्मा, मनु विश्वकर्मा, रमेशचन्द्र अधिकारी, कविता राई गाउँलेले कविता वाचन गर्नुभएको थियो ।

यसैगरी राधिका गुरागाई, मीनकुमार नवोदित, जिबिका खतिवडा, दिङ्लाली कान्छो, दीपक आयाम, सन्देश लिम्बू, प्रवीणकुमार चौधरी, कविराज पोखरेल, बसुश्री पाण्डे, टीका मिलन, पूजा आराधना, हरि बराल, हेमन्त क्षितिज, शुभलक्ष्मी लम्साल, ताराबहादुर बुढाथोकी, धीरज राई, रीता ताम्राकार, दीपक सम्चु, माधव पोखरेल गोज्याङ्ग्रे, हरि कट्टेल, रमाप्रसाद रिजाल, कृष्ण उदासी, विष्णु न्यौपाने, मुनाल पोखरेल, मन्जिला शर्मा, लक्ष्मी ढुंगाना, मेनुका चापागाईं, सरिता तुलाधर, सन्जीव धिमाल, सीता सुवेदी, रोशन परियार, सत्यनारायण ताम्राकार, स्वयम्भूनाथ कार्की, कविता केशरी, रोमा निरौला लगायतका कविहरूले आआफ्ना कविता वाचन गरेका थिए । प्राज्ञ विवश पोखरेलको संयोजकत्वमा पूर्वाञ्चल वाङ्मय गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा पूर्वका विभिन्न जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको थियो ।

 

तेस्रो राष्ट्रिय पुस्तक मेला शुरु

काठमाडौँ, ६ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेरर नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा फागुन ५ गते बिहीबारदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला सुरु भएको छ । प्रतिष्ठान र नेपाल पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घको संयुक्त आयोजनामा शुरु भएको पुस्तक मेला फागुन १४ गतेसम्म चल्ने छ । मेलाको उद्घाटन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नुभयो ।
मेलाको उद्घाटनपछि कुलपति उप्रेतीले यस्तो मेलाले विविध रुचिका पाठकहरूलाई आकर्षित गर्नुका साथै पठन संस्कृतिको विकासमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष पदम सिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव डा. जीवेन्द्र देव गिरी, सङ्घका पूर्व अध्यक्ष वसन्त थापा, महासचिव लिखत पाण्डे लगायतले पुस्तक मेलाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।       

 

नेपाली पुस्तकहरुको प्रवर्द्धन गरी पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित मेलामा प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन, फाइनप्रिन्ट, भृकुटी बुक्स, पैरवी प्रकाशन, रत्न पुस्तक भण्डार लगायतका प्रकाशक सहभागी भएको मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको सङ्घले जनाएको छ ।


मेला अवधिभर पुस्तक विमोचन तथा साहित्यिक विर्मशका विभिन्न कार्यक्रम समेत हुनेछन् । गत वर्ष भने विनासकारी भूकम्पका कारण मेला स्थगित भएको थियो ।

राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न

काठमाडौँ, १० फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१७ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’को आयोजना गरियो । महोत्सवमा देशभरिका ४० भाषाका ४२ कवि कवियत्रीले कविता वाचन गर्नुभयो । सरकारी तथ्यांकअनुसार नेपालमा १२३ भाषा बोलिन्छ । मातृभाषाकै रुपमा रहेका सङ्ख्या यकिन छैन । भाषाशास्त्रीले ती मातृभाषाहरुको अवस्था लोपोन्मुख छ भनिरहेका छन् । तिनै लोपोन्मुख भाषाको सम्वर्द्धन र प्रवर्द्धनका लागि वर्षमा एक दिन साइत जुर्ने गरेको छ–२१ पे्रmबु्रअरी अर्थात् अन्तर्राष्ट्रिय  मातृभाषा दिवस । यही दिवसको अवसर पारेर नेपाल प्रज्ञा– प्रतिष्ठानले ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ आयोजना गरेको हो ।

नेपालमा मात्र नभई विश्वका धेरै देशहरूका विविध मातृभाषाहरु लोप भइरहेको प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बताउनुभयो,  ‘२०४६ सालपछि नेपालमा हामीले हेर्दाहेर्दै धेरै भाषाहरु लोप भइसके,’ उहाँले भन्नुभयो, ‘आफ्नो भाषा नबोल्नु, नलेख्नु, प्रयोग नगर्नुले नै ती भाषा लोप भएका हुन् । जातिगत भाषा र पहिचान बचाएमा मात्र नेपालीत्व बलियो हुन्छ ।’ भाषिक पर्यटनको विकास गर्न सकेमा लोपोन्मुख भाषाको संरक्षण गर्न सकिने उहाँको सुझाब थियो । उहाँले ‘मातृभाषामा वाचन भएका कविताहरु नबुझेपनि मातृभाषा बोलेको सुन्दा भने छुट्टै आनन्द लागेको’ सुनाउनु भयो ।

नेपालका हरेक भाषाको उच्च महत्व रहेको बताउँदै प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले ‘भाषाले जातीय अभिव्यक्ति दिने मात्र नभई नेपालीलाई एकवद्ध गरेको छ’ बताउनुभयो । मातृभाषाका कवितामार्फत् कविहरुले भाषिक पहिचान र पीडाहरु पोखेको प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले सुनाउनु भयो  । पूर्वजहरुको भाषाको जगेर्नाका लागि गरिएको कार्यक्रममा दक्षिण कोरियास्थित युरेसिया कल्चर फोरमका महासचिव दायकि जुङले खुसी व्यक्त गर्नुभयो, ‘इतिहासमा बिलाएर जान सक्ने भाषालाई नेपालमा साहित्यमार्फत् जोगाउने कोसिस गरेको पाउँदा मलाइृ राम्रो लाग्यो ।’ उहाँले भन्नुभयो, ‘भाषा नबुझे पनि कविताको अन्तरध्वनिमार्फत् बुझ्ने कोसिस गर्छु ।’

युनेस्कोले सन् १९९९ मा फ्रेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवका रुपमा मनाउने निर्णय गरेको थियो ।। सन् २००० बाट यो दिवस विश्वव्यापी रुपमा मनाउन थालिएको हो । मातृभाषा आन्दोलनका क्रममा बंगलादेशका चार विद्यार्थीले सहादत पाप्त गरेका थिए । तिनै सहिदको बलिदानीको कदर स्वरुप युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस विश्वव्यापी रुपमा मनाउने परम्पराको थालनी गरेको हो ।

महोत्सवमा अतिथि कविहरू शैलेन्द्र सिम्खडाले ‘तामाङ’ भाषाको कविता र मुक्तिनाथ घिमिरेले ‘दुरा’ भाषामा कविता वाचन गर्नुभएको थियो । महोत्सवमा तामाङ भाषामा काभ्रेकी रञ्जना मोक्तान र सिन्धुलीका रुपक घलानले कविता वाचन गर्नुभयो । आनन्द गुप्ताले ‘भोजपुरी’, स्मृति अधिकारीले ‘खस’, रमेश केवरतले ‘केवरत’, लक्ष्मी ऐडीले ‘हुम्ली’, किरणकुमार बरामले ‘बराम’, रमा खड्काले ‘डोटेली’, जिडी राईले ‘बान्तावा’, मोनालिसा तेङमालीले ‘धिमाल’, सुशील थारुले ‘थारु’, टेक लाओतीले ‘लिम्बू’ भाषामा वाचन गर्नुभयोे ।

त्यसैगरी खोटाङकी अम्बिका वाम्बुले राईले ‘वाम्बुले’, रेनुका बाहिङले ‘बाहिङ’, लोचनज्योति राईले ‘चाम्लिङ’, भावनाकुमारी झाले ‘मैथिली’, श्रीकुमार पुमा राईले ‘पुमा’, शोभा सुनुवारले ‘सुनुवार’, विकेश थामीले ‘थामी’, कुमारी शरणा उराँवले ‘उराँव’, तेजमाया मुरह दुमीले ‘दुमी’, तेजेन्द्र ताजपुरियाले ‘ताजपुरिया’, छम गुरुङले ‘गुरुङ’, नवीनप्रकाश श्रेष्ठले ‘नेपालभाषा’  लगायत ४० भाषाका ४२ वटा कविता वाचन गरिएका थिए ।

यसैगरी मुगाल, घले, याक्खा, नाछिरिङ, मगर ढुट, कुलुङ, उर्दू, मगर खाम, बज्जिका, मगर काइके, अवधी, कुमाल, लोहोरुङ, ल्होमी, छलङ भाषाका रचना वाचन गरिएको थियो । दुई दिने महोत्सवको दोस्रो दिन तामाङ, धिमाल, लामा, लिम्बु, थारु, नेवार, गुरुङ, सुनुवार, राई, घले, हुड्काली, मगर जातिका साँस्कृतिक झाँकीसहित ¥याली प्रदर्शन गरिएको थियो । प्रज्ञा भवन परिसरबाट सुरु भएको ¥याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै पुनः प्रतिष्ठानमै पुगेर कविता महोत्सवमा सहभागी भएको थियो । ¥यालीको नेतृत्व मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा विचार गोष्ठी

काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०१७ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौँद्वारा संयुक्त रूपमा ‘मातृभाषा विचार गोष्ठी’को आयोजना गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित विचार गोष्ठीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले भाषा मानव जातिको पहिचान भएको बताउनुभयो । उहाँले थप्नुभयो, ‘मातृभाषा हाम्रो संस्कृति र पहिचानसँग जोडिएको कारणले भाषालाई राजनीतिसँग जोडेर विवादित गराउनु हुन्न ।’ विज्ञहरूका विचार र सुझावले भाषाभाषीका सम्बन्धी सबै कमीकमजोरीहरूलाई सच्याएर सबैलाई एकताको सूत्रमा जोडेमा मात्रै राष्ट्रिय एकताको लागि काम गर्न सकिने मन्त्री शाहीको कथन थियो ।


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुभाषिक मुलुकमा  ‘भाषाहरूको व्यवस्थापन र प्रवद्र्धन गर्न भाषा आयोगको भूमिकाका बारेमा छलफल गरेर मातृभाषाको शिक्षालाई प्रभावकारी रूपमा अघि बढाउन सरकारलाई सुझाव दिनु गोष्ठीको उद्देश्य हो’, कुलपति उप्रेतीले भन्नुभयो, ‘साहित्यमा मातृभाषाको योगदान र महत्वका सन्दर्भमा  विज्ञहरूका सल्लाह र सुझाव प्राप्त गरेर प्रतिष्ठानलाई यस सम्बन्धी कार्यक्रम तर्जुमा गर्न सहयोग पुगोस् भन्ने पनि कार्यक्रमको उद्देश्य हो ।’

गोष्ठीमा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले लिम्बू मुन्धुममा भाषाको महत्वबारे उल्लेख गर्दै  मान्छेलाई मान्छे भनेर चिनाउने तत्व नै भाषा भएको जिकिर गर्नुभयो, ‘मातृभाषा सम्बन्धी हुने यस्ता गोष्ठी र छलफलहरूले मातृभाषाको पाठ्यक्रम निर्माण गर्नलाई पनि सहयोग पुग्नेछ ।’

गोष्ठीमा विश्व मातृभाषा दिवस २१ पे्रmबु्रअरी २०१७ को अवसरमा युनेस्कोकी महासचिव इरिना बोकोभाले पठाउनुभएको सन्देश पढेर सुनाइएको थियो । सन्देशमा महासचिव बोकोभाले भन्नुभएको छ, ‘भाषिक प्राणी हामीमा संस्कृति, विचार, भावना र सुन्दर संसारको परिकल्पना सबैभन्दा पहिला भाषा र शब्द मार्पmत आउँछन् । भाषाले मानवीयताको समृद्धि गर्ने मूल्य र मान्यता प्रदान गर्छन् । यस दिवसको अवसरमा म शिक्षा, प्रशासन, संँस्कृतिक अभिव्यक्ति र सञ्चार माध्यम, साइबर संसार र व्यापार जताततै मातृभाषाको सम्भावना स्वीकार्न अपिल गर्दछु ।’

गोष्ठीमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले ‘परिवर्तित सन्दर्भमा भाषा आयोगको संवैधानिक दायित्व’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी प्रा.डा. योगेन्द्रप्रसाद यादवले ‘नेपालको सन्दर्भमा शिक्षणको माध्यम र शिक्षाका भाषाहरू ः विश्लेषण र सुझाव’ तथा अमृत योञ्जन तामाङले ‘नेपालका मातृभाषाहरूमा साहित्य सिर्जना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत कार्यपत्रहरूमाथि विभिन्न विद्वान, लेखक तथा साहित्यकारहरूले टिप्पणी गर्नुका साथै विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो । प्रा.डा. नोवल किशोर राईले डा. लवदेव अवस्थीको कार्यपत्रमाथि टिप्पणी गर्नुभयो । त्यस्तै प्रा.डा. माधवप्रसाद पोखरेलले प्रा.डा. योगेन्द्रप्रसाद यादवको कार्यपत्रमाथि र अमर तुम्याहाङले अमृत योञ्जन तामाङको कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो ।

दुई सत्रमा सञ्चालित कार्यक्रममा उद्घाटन सत्रको सभापतित्व प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले र दोस्रो सत्रको सभापतित्व प्रा.डा. चूडामणि बन्धुले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले स्वागत मन्तव्य र सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

1 2 3 5