सकियो वाङ्मय सङ्गोष्ठी

काठमाडौँ, ८ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो हीरक जयन्तीको अवसरमा जेठ ६ गतेदेखि आयोजना गरेको ‘त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी’ सकिएको छ । सोमबार बृहत् कवि गोष्ठीको आयोजना गर्दै सङ्गोष्ठी सकिएको हो । सङ्गोष्ठी सोचेभन्दा पनि उल्लेख्य रुपमा सफल भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रेतीले बताउनुभयो ।
उपकुलपति डा. विष्णुविभु घिमिरेले सङ्गोष्ठीको समापन गर्दै कवि तथा साहित्यकारहरूले नलेख्ने हो भने समय सुस्त हुने विचार प्रकट गर्दै समाज र समयलाई गतिशील बनाउन वाङ्मयको भूमिका अहम् हुने धारणा राख्नुभयो ।
नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने वाङ्मय साधकहरू आनन्ददेव भट्ट, चुडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई एक लाख राशिको पुरस्कारद्वारा सम्मानित गर्दै आरम्भ भएको सङ्गोष्ठीलाई प्रतिष्ठानका पूर्व कुलपतिद्वय माधवप्रसाद घिमिरे, बैरागी काइँला, संस्कृतिविद् सत्यमोहन जोशी, सिक्किमकी साहित्यकार डा. कविता लामालगायतले सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानले गौरवमय कार्य गरेको धारणा व्यक्त गर्नुएको थियो ।


देशका सात वटै प्रदेश र भारतका असम, कलकत्ता, डुवर्स, सिलगुढी, सिक्किम, कालेबुङ, दार्जिलिङबाट स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको सङ्गोष्ठीमा ‘नेपाल–भारत सम्बन्ध प्रवर्धनमा १९५० को शान्ति तथा मैत्री सन्धिको सान्दर्भिकता’, ‘नेपालमा बोलिने भाषाहरुको संवैधानिक स्थिति र भाषिक नीति’ विषयमा समूह विमर्श तथा विचार गोष्ठी आयोजना गरिएको थियो ।
यसै गरी ‘समकालीन नेपाली कवितामा समाज’,  ‘समकालीन नेपाली आख्यानमा राजनीति’,  ‘समालोचनामा  ‘म’ को उपस्थिति ः कति सान्दर्भिक कति असान्दर्भिक’, ‘अनुवादक परिचय कोश ः परिकल्पना, निर्माण प्रकृया र चुनौती’, ‘नेपालका विभिन्न भाषिक समुदायमा लोकवार्ताको अध्ययन परम्परा र चुनौती’,  ‘नेपालमा बाल साहित्य ः हिजो–आज र भोलि’ शीर्षकमा बहस चलाइएको थियो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीका अनुसार सङ्गोष्ठीको अन्तिम दिन चारवटा कार्यपत्रमाथि छलफल गरियो । डा. साफल्य अमात्यले ‘नेपालमा नदी संस्कृति ः एक अवलोकन’, डा. काशीनाथ न्यौपानेले ‘दर्शन परम्परामा दुःखनाश र आनन्द प्राप्तिको अवधारणा’, डुवर्सका रूपेश शर्माले ‘भारतीय नेपाली साहित्यमा गद्य साहित्यको अवस्था’ र सिलगुढीका डा. कृष्णराज घतानीले ‘भारतीय नेपाली साहित्यमा पद्य साहित्यको अवस्था’ शीर्षकका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्रीसमक्ष प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २९ वैशाख । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिमित २०७४ वैशाख २९ गते शुक्रबार आयोजित समारोहमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
सोही अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिष्ठानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुक सङ्घीय संरचनामा अगाडि बढिरहेको सन्दर्भमा प्रतिष्ठानको पुनःसंरचनाबारे नीति, योजना, कार्यक्रम बनाएर अगाडि बढ्ने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रधानमन्त्री प्रतिष्ठानका प्रमुख संरक्षक हुनुहुन्छ । कुलपति उप्रेतीले प्रतिष्ठानका लागि अपुग बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

सो अवसरमा उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञहरू उपस्थित हुनुहुन्थ्यो ।

सङ्घको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ, ९ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कलाकार तथा कर्मचारीहरूको सङ्गठन लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले नयाँ वर्षको उपलक्ष्यमा ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’को आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले  शुभकामना दिँदै प्रतिष्ठानको हीरक महोत्सवका अवसरमा कर्मचारीहरूको उचित मूल्याङ्कन गरिने बताउनुभयो ।
सङ्घका कार्यवाहक अध्यक्ष बुद्धि तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ प्रा.डा. ज्ञानू पाण्डे, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विक्रम मैनाली, राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष धनबहादुर कार्की, सङ्घका पूर्व अध्यक्ष सुरेन्द्रकाजी सिन्दुराकार लगायतले शुभकामना दिनुभएको थियो ।
सङ्घका महासचिव अशोककुमार चौरसियाले सञ्चालन गरेको कार्यक्रममा सार्वजनिक सेवा कर्मचारी सङ्घका केन्द्रीय सदस्य ऋषिराम गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसै गरी कार्यक्रममा गायक जीतबहादुर खड्काले शुभकामना गीत प्रस्तुत गरेका थिए भने कवि होमराज ढुङ्गेलले ‘शुभकामना’ शीर्षको कविता पाठ गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, प्राज्ञ श्रवण मुकारुङ लगायत प्राज्ञ परिषद् सदस्य, प्राज्ञसभा सदस्य, आजीवन सदस्य, प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारी, आर्थिक प्रशासन प्रमुख सुमन अधिकारी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडी लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा सङ्घले प्रतिष्ठानसमक्ष विभिन्न मागहरू पेश गरेको थियो ।

नव वर्ष तथा हीरक महोत्सवका अवसरमा बृहत् पुस्तक प्रदर्शनी

काठमाडौँ, ७ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबारदेखि बृहत् पुस्तक प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीको कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो ।
नववर्ष तथा प्रज्ञा–प्रतिष्ठानको हीरक महोत्सवको अवसरमा प्रदर्शनी आयोजना गरिएको बताउँदै कुलपतिले भन्नुभयो, ‘यस्ता प्रदर्शनीले पठन संस्कृतिको विकासमा टेवा पु¥याउँछन् । यसै कुरालाई मध्यनजर राख्दै प्रतिष्ठानले विभिन्न अवसरमा प्रदर्शनीको आयोजना गर्ने गरेको छ, यो प्रदर्शनी त्यसैको संस्करण हो ।’
प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्धारा प्रकाशित विभिन्न भाषाका शब्दकोश, भाषा, साहित्य, ललितकला, सङ्गीत, नाट्य, दर्शनशास्त्र, सामाजिकशास्त्र, संस्कृति, इतिहास, धर्मशास्त्र, विदेशी साहित्यको अनुवाद लगायतका विविध विधाका पुस्तक तथा नियमित प्रकाशनहरू राखिएका छन् ।
पन्ध्र दिनसम्म लगातार चल्ने प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले बताउनुभयो ।

नेपालगञ्जमा मध्य तथा पश्चिमाञ्चल वाङ्मय गोष्ठी

काठमाडौँ, ३१ चैत्र । वि.सं २०७३ चैत्र २४ र २५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हीरक महोत्सवका सन्दर्भमा बाँकेको नेपालगञ्जमा दुई दिने वाङ्मय गोष्ठीको आयोजना गरियो । ‘मध्य तथा सुदूर पश्चिमाञ्चल वाङ्मय गोष्ठी’को प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । उद्घाटनपछि गोष्ठीलाई सम्बोधन गर्दै कुलपतिले प्रतिष्ठानले हीरक महोत्सवका अवसरमा राष्ट्रका विभिन्न क्षेत्रमा प्राज्ञिक गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । कुलपतिले भन्नुभयो, ‘मध्य तथा सुदूरपश्चिमको भाषा, संस्कृति र कला–साहित्यलाई मूलधारको साहित्यमा जोड्न यो वाङ्मय गोष्ठी राखिएको हो ।’ उहाँले प्रतिष्ठान अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा लागेको तथा विश्वका ज्ञानविज्ञानलाई मुलुकमा भित्र्याउन र यहाँको ज्ञानविज्ञानलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउन प्रतिष्ठान प्रतिबद्ध भएर लागिरहेको प्रस्ट्याउनु भयो ।
दुई दिनसम्म चलेको गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले वि.सं. २०१४ सालमा स्थापित प्रतिष्ठान २०७३ मा आइपुग्दा हीरक वर्षमा  प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सदस्यसचिव गिरीका अनुसार राजधानीबाहिर दुई क्षेत्रमा यस प्रकारको प्रमुख गोष्ठी गरिएको हो । यसअघि फागुनको १९ र २० गते पूर्वको विराटनगरमा पूर्वाञ्चलस्तरीय वाङ्मय गोष्ठी आयोजना गरिएको थियो । उहाँले यस कार्यक्रमले स्थानीय भाषा–संस्कृति र साहित्यको समृद्धिमा उल्लेखनीय भूमिका खेल्नु धारणा राख्नुभयो ।
मध्य तथा सुदूर पश्चिमका विभिन्न जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको गोष्ठीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. उषा ठाकुर, डा. अमर गिरी र नर्मदेश्वरी सत्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसै गरी उच्च अदालतका मुख्य न्यायाधीश शेराज सिवाकोटी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला, मदन पुरस्कार विजेता कथाकार रामलाल जोशी, साहित्यिक पत्रकार नारायणप्रसाद शर्मा, प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार सच्चिदानन्द चौवे लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
गोष्ठीमा डा. खगेन्द्रप्रसाद घोडासैनीले ‘मध्य तथा सुदूर पश्चिमका भाषिकाको नेपाली भाषामा योगदान’, प्राज्ञ वासुदेव पाण्डेयले ‘सुदूर पश्चिमाञ्चलको नेपाली कविताको रुपरेखा’, प्राज्ञ तथा प्रा. जगत उपाध्यय ‘प्रेक्षित’ले, ‘समकालीन नेपाली कवितामा मध्यपश्चिमको योगदान’ विक्रममणि त्रिपाठीले ‘अवधि र थारु साहित्यका अनुदित कृतिहरू र अनुवादको दशा र दिशा’, इद्रियस सायलले ‘नेपालीमा प्रचलित उर्दू साहित्यको अवस्था’, लक्की चौधरीले ‘नेपालमा प्रचलित थारु साहित्यको अवस्था’, प्रा.डा. बद्रीप्रसाद विनाडीले ‘डोटेली साहित्यको अवस्था’, डा. मधुसुदन गिरीले ‘मध्यपश्चिमको लोकसाहित्यको अवस्था’ र बालकृष्ण शर्माले ‘मध्य तथा सुदूरपश्चिमको आख्यान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो दिन विभिन्न जिल्लाबाट सहभागी कविहरूद्वारा कविता वाचन गरिएको थियो भने  कार्यक्रममा स्थानीय कलाकारहरूद्वारा परम्परागत लोकनृत्यहरूसमेत प्रस्तुत गरिएको थियो । वाङ्मय गोष्ठी प्राज्ञ सभा सदस्य हरिहर तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

हीरक महोत्सवमा दस साधकलाई पुरस्कृत गरिने

काठमाडौँ, २२ चैत्र । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली वाङ्मयका दस विशिष्ट प्रतिभाहरूलाई जनही एक लाख नगदसहित ‘प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार’द्वारा पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो ।
प्रतिष्ठानले हीरक महोत्सवको अवसरमा आगामी २०७४ जेठ ६, ७ र ८ गते राजधानीमा आयोजना गर्ने बृहत् राष्ट्रिय वाङ्मय गोष्ठीका अवसरमा  नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध विधामा विशिष्ट योगदान पु¥याउने विशिष्ट प्रतिभा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराती, डा. तारानाथ शर्मा, तेजेश्वरबाबु ग्वंगः, दीपनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शङ्करनाथ रिमाल र शान्तदास मानन्धरलाई पुरस्कृत गर्न लागेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
कुलपति उप्रेतीले भन्नुभयो, “यसका साथै प्रतिष्ठानले सो अवसरमा ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको गौरवमय साठी वर्ष’, ‘साठी वर्षका भाषिक चर्चा’, ‘मैथिली–नेपाली–अङ्ग्रेजी शब्दकोश’, ‘तामाङ व्याकरण’ लगायत करिब तीन दर्जन महत्वपूर्ण ग्रन्थ–पुस्तकहरूको प्रकाशन गर्र्नेछ ।”
उपकुलपति डा. विष्णुविभु घिमिरेले २०७३ असार ९ गतेदेखि प्रतिष्ठान हीरक वर्षमा प्रवेश गरेको र सो उपलक्ष्यमा त्यसयता देशभरि राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्वका गोष्ठी तथा समारोहहरूको आयोजना भइरहेको सुनाउनुभयो । उहाँले थप्नुभयो, “आगामी असार ९ गते राजधानीमा आयोजना हुने वार्षिक उत्सवसँगै यो हीरक महोत्सव समापन हुनेछ ।”
सदस्य सचिव  प्रा.डा. जीवेन्द्रदेव गिरीका अनुसार यसै आर्थिक वर्षभित्र प्रतिष्ठानले नवनिर्मित पुस्तकालय भवनमा ई–पुस्तकालय सञ्चालनको तयारी गरेको छ । साथै सो भवनको भुइँतलामा अत्याधुनिक छापाखाना सञ्चालन गर्ने प्रतिष्ठानको तयारी छ । छापाखाना मेशीन खरिदका लागि बोलपत्र आव्हान गरिसकिएको उहाँले बताउनुभयो । छापाखान मेशीन सरकारको सहयोगमा ल्याउन लागिएको पनि उहाँले जानकारी गराउनुभयो ।

राष्ट्रपतिद्वारा कविहरू पुरस्कृत

काठमाडौँ, १९ चैत्र । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा विजयी कविहरूलाई पुरस्कार तथा पदक प्रदान गर्नुभएको छ । प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा चैत्र १७ गते बिहीबार आयोजना गरेको पुरस्कार अर्पण समारोहमा राष्ट्रपतिले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

समारोेहमा गत वर्ष र यस वर्ष कविता महोत्सवमा विजयी हुन सफल कविहरूलाई पुरस्कृत गरिएको थियो । समारोहमा यसै वर्षको असार ९ गते आयोजित कविता महोत्सवमा प्रथम भएका कवि मणिराज सिंह, द्वितीय स्थान हासिल गर्न सफल पुरु लम्साल र तृतीय स्थान हासिल गर्ने कविहरू असीम सागर, त्रिलोचन आचार्य र मञ्जुश्री गिरीलाई पदक, प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरी गत वर्ष आयोजित कविता महोत्सवमा तृतीय भएका कविहरू  राजु स्याङ्तान, सोझो गाउँले र सुदेश सत्याललाई राष्ट्रपतिले पुरस्कृत गर्नुभयो । प्रतिष्ठानकोे नियमविपरीत भएकाले गत वर्षका प्रथम र द्वितीय स्थान हासिल गरेका कविलाई भने पुरस्कार दिइएन ।

प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरियो । समारोहमा पुरस्कृत कविहरूले आ–आफ्ना कविता सुनाए । कविता श्रवण गरिसकेपछि राष्ट्रपतिज्यूले कविताहरू समसामयिक, चिन्तनशील र सम्प्रेषणीय भएको बताउनुभयो । उहाँले सिर्जना र प्रतिभालाई मञ्च दिनु आवश्यक रहेको औँल्याउँदै लोकतन्त्र स्थापनामा साहित्यको अमह् भूमिका रहेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानले वि.सं. २०२२ देखि आफ्नो स्थापना दिवसका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । पहिलो स्थापना दिवसका अवसरमा आयोजित महोत्सवमा भैरव अर्याल प्रथम भएका थिए । त्यो बेला वानीरा गिरी द्वितीय र गोविन्द भट्ट तृतीय भएका थिए । समारोहमा तृतीय स्थान प्राप्त भट्टको ‘नैतिकता’ शीर्षक कविता पनि सुनाइएको थियो ।


गत दुई वर्षअघिदेखि विगतमा भन्दा पृथक् ढङ्गले कविता महोत्सवको आयोजना गर्ने गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो । ‘कवितासम्बन्धी विमर्शसहित गत दुई वर्षअघिदेखि हामीले राष्ट्रमा बोलिने विभिन्न मातृभाषाका कविताको महोत्सव पनि आयोजना गर्न थालेका छौँ ।’

समारोहमा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले विषयमाथि प्रकाश पार्नुभएको थियो । काव्यविभाग प्रमुख डा. अमर गिरीले कविता महोत्सवको प्रतिवेदन प्रस्तुत गर्दै कविता विधाको उन्नयनका खातिर  महोत्सव आयोजना गर्ने गरिएको बताउनुभयो ।
प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले राष्ट्रपतिज्यू र आमन्त्रित अतिथिहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रज्ञामा मनाइयो विश्व कविता दिवस

काठमाडौँ, ८ चैत्र । विश्व कविता दिवस (२१मार्च)का अवसरमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विशेष कवि गोष्ठीको आयोजना गरियो । कवि गोष्ठीमा चौतीस जना नयाँ–पुराना पुस्तका कविहरूले कविता वाचन गर्नुभयो । उक्त विशेष कवि गोष्ठीमा विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, पूर्णविराम, ज्ञानुवाकर पौडेल, विजय सुब्बा, वासुदेव अधिकारी, प्रतिसरा सायमी, विप्लव ढकाल, मोमिला, भीष्म उप्रेती, उमेश राई अकिञ्चन, केबल विनावी, केशव सिलवाल, कृष्ण प्रधान, गीता कार्की, गीता त्रिपाठी, टङ्क उप्रेती, धर्मेन्द्रविक्रम नेम्बाङले कविता सुनाउनुभयो ।
यसै गरी  गोष्ठीमा निभा शाह, बाबु त्रिपाठी, मणि लोहनी, मदन राई ‘लामाखुले’, यशोदा अधिकारी, राजु स्याङ्तान, रामप्रसाद ज्ञवाली, बिना थिङ, विमला तुम्खेवा, शकुन्तला जोशी, सुरेश किरण, स्नेह सायमी, स्वप्निल स्मृति, हरिहर तिमिल्सिनाले कविता वाचन गर्नुभएको थियो ।
उक्त कवि गोष्ठीका  प्रमुख अतिथि प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले समाजसँग प्रत्यक्ष संवाद गर्ने विधा नै कविता भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक सद्भाव कायम गर्न पनि कविताको अहम् भूमिका रहन्छ ।’
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवस विश्वभरिका कविहरुका लागि भातृत्व, शान्ति र सद्भाव प्रकट गर्ने पर्वका रूप मनाउँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरेले कविता व्याख्या गर्ने नभएर अनुभूत गर्ने विधा भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजका कविताहरू सुन्दा यही कुराको पुष्टी हुन्छ ।’


उक्त कार्यक्रमबारे प्रकाश पार्दै प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ डा. अमर गिरीले युनेस्कोले सन् २००० देखि विश्व कविता दिवस मनाउन आरम्भ गरेको उल्लेख गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानले केही वर्ष पहिलेदेखि विश्व कविता दिवस मनाउन थालेको उल्लेख गर्नुभयो । उहाँले कविताका माध्यमबाट मानिसको सौन्र्दयात्मक आवश्यकताको पूर्ति, भाषा तथा संस्कृतिको संरक्षण, सद्भाव तथा सहिष्णुताको निर्माण गर्न सकिने कुरालाई केन्द्रमा राखेर युनेस्कोले विश्व कविता दिवस मनाउन आरम्भ गरेको चर्चा गर्नुभयो ।

भीमनिधिको १०६औँ जन्मजयन्ती

काठमाडौँ, ३० फागुन ।  नेपाली साहित्यका मूर्धन्य साहित्यकार भीमनिधि तिवारीको १०६औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा संयुक्त रूपमा सोमबार प्रज्ञाभवन कमलादीमा एक विशेष समारोहको  आयोजना गरियो ।
सो समारोहलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले तिवारी नेपाली साहित्यका बहुमुखी प्रतिभा सम्पन्न  स्रष्टा भएको धारणा राख्नुभयो । उप्रेतीले भन्नुभयो, ‘तिवारीको योगदान नेपाली साहित्यमा अतुलनीय छ ।’
कार्यक्रमका प्रमुख अतिथि एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले कथा, कविता, गजल, नाटक लगायत साहित्यका प्रायः सबै विधामा कलम चलाउनुहुने तिवारीलाई नेपाली साहित्यजगत्ले कहिल्यै पनि बिर्सिन नसक्ने विचार व्यक्त गर्नुभयो ।
तिवारी साहित्य समितिका अध्यक्ष प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई ‘भीमनिधि साहित्य पुरस्कार’ र वरिष्ठ नाट्यकर्मी रुद्रराज पाण्डेलाई ‘भीमनिधि नाट्य पुरस्कार’ समर्पण गरियो । पुरस्कारको राशि पच्चीस–पच्चीस हजार रुपैयाँ रहेको छ ।


यसैगरी नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत्  वाङ्लुङका स्रष्टा काजी रोशन, तन्नेरी द्वमासिकका सम्पादक डा. नेत्र एटम र स्याङ्जा साहित्य प्रतिष्ठानलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा तिवारी साहित्य समितिकी सदस्य सचिव डा. वेन्जु शर्माले संस्था तथा तिवारीको साहित्यिक योगदानमाथि प्रकाश पार्नुभएको थियो भने डा. तुलसी भट्टराईले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूका विषयमा बोल्नु भएको थियो । यसै गरी कार्यक्रममा प्रा.डा. दुर्गाप्रसाद अर्यालले नेपाली साहित्यमा साहित्यकार भीमनिधि तिवारीको योगदानका विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा कुलपतिद्वारा तिवारीका कथा सङ्ग्रह ‘गुलियो’ र ‘भजनको सीडी’ पनि विमोचन गरिएको थियो ।

नारी दिवसका अवसरमा विशेष विचार गोष्ठी

काठमाडौँ, २७ फागुन । “नारी र पुरुषबिचको सहअस्तित्व र अन्तरसम्बन्ध प्रगाढ बने मात्रै जीवन सफल र सुमधुर हुन्छ” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको समालोचना तथा निबन्ध विभागद्वारा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित विशेष विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।
‘नारी र पुरुष अन्तरअस्तित्व सम्बन्धि अवधारणा र साहित्यमा त्यसको प्रभाव’ विषयक विशेष विचार गोष्ठीमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले “नारी र पुरुष सँगसँगै जानुको विकल्प नरहेको” धारणा व्यक्त गर्नु भयो । उहाँले बुद्धदर्शनको उक्ति उद्यृत गर्दै नारी र पुरुष अन्तरअस्तित्वमा जोड दिनु भयो, “यदि यो छ भने त्यो छ, यदि यो छैन भने त्यो छैन ।”


प्रतिष्ठानकी समालोचना तथा निबन्ध विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ  प्रा.डा. ज्ञानू पाण्डेले ‘‘समाजले चाहेअनुरुपको उपलब्धि अझै नभइरहेको” उल्लेख गर्नुहुँदै “नारी र पुरुष दुईटैले जितेको संसार निर्माणमा नारी दिवसले सहयोग पु¥याउने” विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समालोचक तथा अनुवादक बलराम अधिकारीले गोष्ठीको शीषर्कमा आधारित रहेर अवधारणापत्र प्रस्तुत गर्नुभयो । अधिकारीको अवधारणापत्रले ‘नारीशक्ति अपार रहेका’ उल्लेख गर्दै साहित्यमा चाहिँ प्रभावकारी रूपमा त्यसको प्रभाव नदेखिएको निचोड रहेको थियो ।
त्यसै गरी कार्यक्रममा वरिष्ठ लैङ्गिक विज्ञ प्रा.डा. चन्द्रा भद्राले विशेष प्रवचन दिनु भयो । “नारीलाई कुनै पनि निकायमा सहभागिता नदिई गरिएको कार्य फलदायी नहुने” विचार व्यक्त गर्दै उहाँले “आम महिलाको जीवनशैली र दैनिकी हेर्दा नै नारीशक्ति र सामथ्र्यबारे प्रष्ट हुने” सुनाउनु भयो ।


प्रा.डा. पे्रमशान्ति तुलाधरको सभापतित्वमा सम्पन्न उक्त  गोष्ठीमा प्रा.डा. विष्णु एस राई, प्रा.डा. विणा पौडेल,सञ्चारकर्मी एवम् लेखक कपिल काफ्ले र सञ्चारकर्मी नेहा शर्माले विषयवस्तुमाथि सङ्क्षिप्त प्रवचन दिनुभएको थियो ।
गोष्ठीमा प्राज्ञ एवम् कवि श्रवण मुकारुङले ‘आइमाई’ शीर्षकको कविता र कलाकार हरिवंश आचार्यले ‘तिम्रो माया उनान्सय मेरो माया सय…’ बोलको गीत सुनाउनु भएको थियो । सो अवसरमा कुलपति उप्रेतीद्वारा प्रज्ञा–प्रतिष्ठानले प्रकाशन र प्रा.डा. कुमारप्रसाद कोइराला र रत्नमणि नेपालले सम्पादन गरेको ‘नेपालका नारी साहित्यकार’ नामक परिचय कोश विमोचन गरिएको थियो ।

1 2 3 5